अर्थ

यार्सागुम्बा व्यवसाय थप व्यवस्थित बन्दै, प्रतिकिलो साढे १४ लाखसम्म मूल्य
SHARES

असार ३१, २०७४
    • पदम बडाल-

     दार्चुलाः स्थापनाको ५ वर्षपछि २०७२ सालमा मात्रै जिल्ला परिषद् गठन गर्न सफल अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा व्यवसायलाई थप व्यवस्थित बनाउँदै लगेको छ। यार्सा संकलन तथा यसको व्यवसायलाई व्यवस्थित बनाउन कार्यालयले जिल्ला परिषद्को सहयोगमा यार्सा व्यवस्थापन कार्ययोजना समेत बनाएर कार्यान्वयन गरेको छ।

    पछिल्लो पटक भने आफूले बनाएको कार्यायोजनाको म्याद सकिएपछि कार्यालयले वन विभागबाट जारी भएको यार्सागुम्बा व्यवस्थापन (संकलन तथा व्यवस्थापन) योजना २०७३ अनुसार यार्सा संकलन तथा यसको व्यवसायलाई व्यवस्थित गरिरहेको अपिनाम्पा संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए।

    जिल्लामा कस्तो छ यार्साको अवस्था?

    जिल्लाका उत्तरी गाउँपालिकाहरु अपिहिमाल र व्याँस गाउँपालिकाका ३६ पाटनमा यार्सागुम्बा पाइने गर्दछ। जिल्लाका ३६ पाटनमा गएर जिल्लाभित्र र बाहिरका करिब १५ हजार संकलकहरुले यार्शा संकलन गर्ने गरेको अनुमान अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको छ। आर्थिक वर्ष २०७१÷७२ मा ९ सय ४० किलो यार्साको छोडपुर्जी दिएको संरक्षण क्षेत्रले आर्थिक वर्ष २०७२÷७३ मा ८ सय ५० किलोग्रामको मात्रै छोडपुर्जी दिएको थियो।

    यो आर्थिक वर्षमा भने कार्यालयले ६ सय ९३ किलोग्रामको मात्रै छोडपूर्जि दिने योजना बनाएको छ। यार्शागुम्बाको पछिल्लो व्यवस्थापन योजनाले यार्शा उत्पादन हुने परिणामको ६० देखि ७५ प्रतिशतको मात्रै छोडपुर्जी दिनु पर्ने प्रावधानले पछिल्लो पटक जिल्लाबाट छोडिने यार्शागुम्बाको परिमाण घटेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले जानकारी दिनुभएको छ। जिल्लामा संकलन गरिने परिमाण बराबरकै छोडपूर्जि दिँदा यार्सागुम्बा संरक्षणमा समस्या पर्न सक्ने भएकाले यस्तो प्रावधान राखिएको उनको भनाइ छ।

    छोडपुर्जीको परिणामसँगै राजस्व पनि घट्दै  

    यो आर्थिक वर्षसहित विगत २ वर्षमा यार्शाको व्यवसायबाट उठ्ने राजश्वमा पनि कमि आएको छ। बिगत ५ वर्षदेखि यार्शागुम्बा छोडेबाफत व्यापारीहरुले तिर्नु पर्ने राजश्वमा कुनै वृद्धि भएको छैन। १ किलो यार्शा बेच्ने अनुमति लिन (छोडपुर्जी लिन) २५ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ। आर्थिक वर्ष २०७१÷७२ मा २ करोड ३५ लाख तथा आर्थिक वर्ष २०७२÷७३ मा २ करोड १२ लाख ५० हजार राजस्व संकलन भएको थियो।

    यो आर्थिक वर्षमा तोकिएको परिणामको मात्रै यार्शा निकासा भयो भने १ करोड ७३ ला २५ हजार मात्रै राजश्व उठ्नेछ। राजश्व के कति उठ्छ भन्दा पनि यार्शागुम्बालाई कसरी संरक्षण गर्न सकिन्छ र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेतिर अपिनाम्पा संरक्षण क्षेत्र जिल्ला परिषद तथा कार्यालयको ध्यान गएको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले बताए।

    प्रतिकिलो साढे १४ लाखसम्म मूल्य

    यार्सागुम्बाको यो वर्षको अधिकतम् दर प्रतिकिलो साढे १४ लाख पुगेको छ। यार्साको गुणस्तर हेरेर प्रतिकिलो ९ लाखदेखि साढे १४ लाखसम्ममा संकलकहरुबाट व्यापारीहरुले खरिद गर्ने गरेको यार्शा व्यवसायी प्रेमसिंह कार्कीले जानकारी दिएका छन्। गत वर्षभन्दा डेढलाख जति बढी रकममा यो वर्ष कारोवार भएको बताउँने अर्का व्यापारी कमलसिह ठगुन्ना कार्यालयले संकलन गरेको जति यार्शागुम्बा सबैलाई छोडपुर्जी नदिएकाले संकलकहरुले अपेक्षाकृत मूल्य नपाएको बताउँछन्।

    व्यापारीहरुलाई असहज

    अपिनाम्पा संरक्षण क्षेत्र स्थापना हुनुपूर्व आफूखुसी संकलन गरी जिल्ला वन कार्यालयबाट छोडपुर्जी लिएर व्यवसाय गर्ने गरेका दार्चुलाका व्यवसायीहरुलाई भने अपिनाम्पा संरक्षण क्षेत्रको यार्सा व्यवस्थापन योजनाले थोरै झन्झट थपेको यार्शा व्यवसायीहरु गुनासो गर्दछन्। अपिनाम्पा संरक्षण क्षेत्रले संकलन गरेको परिमाणको पनि छोडपूर्जि दिन आनाकानी गर्ने गरेको र विभाग तथा मन्त्रालयबाट थप निर्देशन गर्न लगाएर संकलन गरिएको यार्शा निकासी गर्नु पर्ने बाध्याता व्यापारीहरुलाई आइलागेको उद्योग वाणिज्य संघ दार्चुलाका पूर्व अध्यक्ष तथा यार्शा व्यापारी मंगलसिंह ठगुन्ना बताउँछन्।

    ‘संकलकहरुबाट खरिद गरिएको यार्शा सबै बेच्न नपाउने स्थिति आएकोले व्यापारीहरुले अलिकति असहज महसुस गरेका हुन् तर हामीले संकलन गरिएको जति सबै यार्शाको छोडपूर्जि बनाउने सम्बन्धमा कार्यालय र वन विभागसँग कुरा गरेका छौं। थप समस्या झेल्नु पर्दैन।’ भन्छन् नेपाल जडीबुटी व्यवसायी संघ दार्चुला शाखाका कोषाध्यक्ष प्रेमसिह कार्की।

    संकलकलाई चिन्ता

    आफूले निकै मिहिनेत गरेर ल्याएको यार्सा नबेचिनेभन्दा पनि कम मूल्य पाउनेमा संकलकहरु चिन्तित भएका छन्। ‘संरक्षण क्षेत्रले कम मात्रामा यार्साको छोडपुर्जी दिने नीति लिएपछि आफूसँग भएको यार्शा बेलैमा व्यापारीलाई बेच्न पाए हुन्थ्यो’ भन्छन्, दुहुँ गाउँपालिका वडानम्बर १ का जमनसिह महरा। यार्शा संकलकहरुलाई यार्साको मूल्य कम हुने भन्नेमा मात्रै चिन्ता भएको होइन, कार्यालयले व्यवस्थापनका लागि लिएको नीतिको परिपालना राम्ररी नुहँदा पनि चिन्तित छन्।

    कार्यालयले यार्शा संकलन गर्ने सूचना गर्नुभन्दा पहिले नै संकलकहरुले यार्शा संकलन गर्ने र धेरैले यार्शा संकलन परिचय पत्र नै नलिई यार्शा संकलन गर्ने गर्दा इमान्दार संकलकहरु मारमा पर्ने गरेको अपिहिमाल गाउँपालिकाका स्थानीय व्यापारी दिलीपसिंह रोकाया बताउँछन्।

    आफ्नै नीति कार्यान्वयन गर्न समस्या

    अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले जिल्ला परिषद्को सहयोगमा यार्शा व्यवसायलाई व्यवस्थित बनाउन यार्सागुम्बा व्यवस्थापन योजना बनाएर कार्यान्वयनमा ल्याएको छ तर आफै बनाएको योजना कार्यान्वयनमा भने समस्या देखिएको कार्यालयले स्वीकार गरेको छ।

     भर्खरै स्थापना भएको संरक्षण क्षेत्र, कर्मचारीहरुको अभाव, चेतनाको अभाव तथा संरक्षण गर्नुपर्दछ भन्ने भवना नै नभएका कारण संकलन परिचय पत्रको अनिवार्यता, ७५ प्रतिशत मात्रैको छोडपुर्जी जस्ता नीतिलाई प्रभावकारिताका साथ कार्यान्वयन गर्न नसकिएको सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाले जानकारी दिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]