|

ललितपुर : साहित्यकार रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह 'फ्लोडेड गर्ज' (बाढीयुक्त खोँच) विमोचन गरिएको छ। ५७१ हाइकु रहेको संग्रहको साहित्यकार मञ्जु काँचुली र तोया गुरुङले शुक्रबार ललितपुरमा विमोचन गरेका हुन्।

प्राध्यापक डा. रामकुमार पाँडेले अंग्रेजीमा हाइकु लेखेर नेपाली हाइकुलाई अन्तराष्ट्रिय स्तरमा चर्चामा ल्याएको साहित्यकार दामोदर पुडासैनीले बताए। उनले भने, 'नेपालमा फरक किसिमको शैलीमा लेख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपाली स्वाद, शैली र संस्कृतिलाई लिइ अंग्रेजीमा हाइकु लेखेर नेपाली हाइकुलाई विश्वस्तरमा पुर्‍याएका छन्।'

साहित्यकार तोया गुरुङ र मञ्जु काँचुलीले पाँडेका हाइकुले आफूहरुलाई प्रभावित पारेको बताए। 'नेपाल हाइकु केन्द्र' अध्यक्ष समेत रहेका पाँडेको हाइकु संग्रहमा विश्व हाइकु संघका अध्यक्ष बन्या नात्सुसीले भूमिका लेखेका छन्। उनले नेपाली हाइकु लेखनबाट हाइकुको जननी जापानले पनि सिक्न सक्ने धेरै चिज रहेको लेखेका छन्।

लेखक पाँडेले नेपालका प्रकृति र संस्कृतिका बारेमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान गराउनका लागि अंग्रेजी भाषामा हाइकु लेखेको जानकारी गराए।

हाइकु संग्रह विमोचन कार्यक्रममा हाइकु लेखन क्षेत्रमा सक्रिय साहित्यकारका रचना वाचन गरिएको थियो। रमेश खनाल, बमबहादुर जिताली, श्रीहरि फुयाँल, प्रमोद प्रधान, सुषमा मानन्धर, मित्रबन्धु पौडेल लगायतका साहित्यकारले हाइकु वाचन गरेका थिए।

पाँडेको हाइकु संग्रह प्याराडाइज पब्लिकेशनले बजारमा ल्याएको हो। पुस्तककमा नेपालमा हाइकुको इतिहासबारे पनि व्याख्या गरिएको छ। त्यस्तै शंकर लामिछाने, क्षेत्रप्रताप अधिकरी, माधवलाल कर्माचार्य, शशि भण्डारी, विष्णुबहादुर सिंह, अञ्जना पौडेललगायत ५० हाइजिनले लेखेका हाइकुको अंग्रेजी अनुवाद पनि राखिएको छ। त्यस्तै विश्वका करिब ५० नमुना हाइकु र विदेशमा रहेका नेपाली हाइजिनका हाइकुलाई पनि अनुवाद गरी संग्रहीत गरिएको छ।

पाँडेले यसअघि रेड क्विन (राती रानी) हाइकु संग्रह प्रकाशन गरेका थिए। जापानी शैलीको छोटो कविता हाइकुमा तीन हरफमा सत्र अक्षर (५–७–५) हुन्छन् जसमा प्रकृति, संस्कृति र मौसमका विम्ब रहन्छन्। १०८ पृष्ठको हाइकु संग्रहको मूख्य ५ सय नेपाली रुँपैया रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.