|
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन। फाइल फोटोः थाहाखबर

ललितपुर : ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

महानगरले ४३ करोड १२ लाख ८७ हजार रुपैयाँ बजेट चालु खर्चका लागि र पुँजिगत तर्फ २ अर्ब ७९ करोड ७८ लाख २३ हजार विनियोजन गरेको छ।

प्रस्तावित खर्चमध्ये आन्तरिक श्रोत बाट १ अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरिएको छ। त्यसमा नेपाल सरकारको सशर्त अनुदान तर्फ ८८ करोड १२ लाख ६३ हजार, वित्तीय समानीकरणतर्फ ५६ करोड ७ लाख ४७ हजार, बहुवर्षिय सडक विस्तारतर्फ १० करोड, विषयगत अनुदान तथा सामाजिक सुरक्षा खर्च तथा विकास कार्यतर्फ २६ करोड १५ लाख, लागत सहभागिता ३ करोड तथा वैदेशिक अनुदानबाट ७७ करोड १२ लाख गरी जम्मा ३ अर्ब २२ करोड ९१ लाख १० हजार व्यहोर्ने गरी प्रस्ताव गरिएको छ।

शनिबार पहिलो नगरसभा गर्दे महानगरका प्रमुख चिरीबाबु महर्जनले ३ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन।

लामो समयदेखि कर नतिरेका करदाताको सूची महानगरको वेबसाइटमा प्रकाशित गर्नुको साथै कर संकलनमा उल्लेख्य प्रगति हासिल गर्नका लागि २०७४ लाई कर वर्ष घोषणा गर्दै वर्षभर मालपोल, घर जग्गा र व्यवसाय करमा १० प्रतिशत छुट दिएको छ। साथै बक्यौतामा समेत १० प्रतिशत छुट गरी जरिवाना मिनाहा गरेको छ।

महानगरले नगरबासीलाई सुविधा दिनका सम्बन्धित वडा कार्यालयहरू मार्फत नै मालपोत लगायत अन्य कर संकलन गर्ने व्यवस्था मिलाएको छ ।

महानगर तथा वडामा बनाइने भवनलाई अपाङ्ग मैत्री बनाउने, तथ्याङ्कलाई चुस्त दुरुस्त राख्नका लागि डाटा बैंकको स्थापना गर्ने, शंखमुलमा विद्युत् शवदाह गृह बनाउने, बस्ती विकास मापदण्ड निर्देशिकालाई कार्यान्वयनमा ल्याउने लगायत नगर सुधारका कार्यक्रम अघि सारिएको छ।

महानगरले मुख्य सहरमा रहेका आवासीय भवनलाई पनि व्यवसायीक भवन मानी सोही अनुसारको कर लगाउने नीति अवलम्बन गरेको छ। त्यसैगरी नेपाल सरकारका विषयगत कार्यालयहरू महानगर मातहत आउँदा प्राप्त हुने बजेटलाई तिनै कार्यालयका लागि नै छुट्याउनुको साथै समन्वयात्मक व्यवस्थापन गरी नगरलाई अस्तव्यस्त हुनबाट जोगाउने लक्ष्य राखिएको पनि प्रमुख महर्जनले बताए।

महानगरपालिकाले दिगो पूर्वाधार र वैकल्पिक उर्जाको विकास, सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरी पर्यटन मार्फत आथिर्क उपार्जन लगायतलाई पनि बजेटमा प्राथमिकता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.