|

काठमाडौं : साहित्यकार हरिमाया भेटवालले उपन्यास ‘कल्ली’बाट उपन्यासकारको परिचय समेत थपेकी छिन्। उनको पहिलो उपन्यास 'कल्ली'  शनिबार सर्वनाम थिएटरमा आख्यानकार बुद्धिसागर, लेखक एवं प्रकाशक अर्चना थापा र पत्रकार वसन्त बस्‍नेतले स‌ंयुक्त रुपमा सार्वजनिक गरेका छन्।

उपन्यासबारे आख्यानकार बुद्धिसागरले भने, “एउटा लेखकले लेखेको एउटा किताब पढिसकेपछि अर्को किताब पाठकलाई पढुँपढुँ बनाउन सक्नु लेखकको सफलता हो। 'कल्ली' पढेपछि मलाई हरिमायाजीको अर्को किताब कहिले आउँछ भन्ने जिज्ञासा जागेको छ।" उनले भेटवालको उपन्यासमा करुणामा हाँस्य रसको प्रयोग तथा भाषाको सहज प्रस्तुति रहेको बताए।

पूर्वी पहाड ताप्लेजुङबाट सुरु भएर देश तथा विदेशसम्म पुग्दा पात्रले भोगेको पीडाबारे उपन्यास लेखिएको पत्रकार वसन्त बस्‍नेतले बताए। उनले भने, 'पछिल्लो २० वर्ष नेपाली समाज उथलपुथलमय रह्यो। यो दुई दशकको कथा छ उपन्यासमा।' भेटवालले वैदेशिक रोजगारीका कुरा र देशको सामाजिक परिवर्तनलाई उठाएको बस्‍नेतले बताए।

बस्‍नेतले पछिल्लो समयका उपन्यासबारे टिप्पणी समेत गर्न भ्याए। 'आजभोलिका उपन्यासकारले लेख्ने उपन्यासमा कथा छ। तर कथानकको राम्रो प्रस्तुति राम्रो हुन सकेको छैन। त्यस विपरीत पुरुष सत्तात्मक समाजलाई स्विकार्ने र विद्रोह गर्ने द्विपक्षिय समाजको सफल चित्रण यस उपन्यासमा छ।”

समिक्षक अर्चना थापाले 'कल्ली' सामाजिक यथार्थ भन्दामाथि उठेको उपन्यास रहेको बताइन्। उनले भनिन्, “सामाजिक यथार्थवादी उपन्यास हुनुका साथै समाजलाई पात्रमार्फत आलोचनात्मक दृष्टीकोणबाट हेरिएको छ,' थापाले थपिन्, 'शब्दचित्रमार्फत भाषा, कथानक, देश र परदेशलाई उपन्यासमा राम्रोसँग उत्रनुभएको छ।' उपन्यासमा लैङ्गिक विभेद, झारफुक, बाल यौनशोषण तथा बोक्सी प्रथा आदि सामाजिक कुरितीबाट मानिसमा परेको असरलाई चित्रण गरिएको उनले बताइन्।

 'कल्ली' उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो। यस उपन्यासको मूल्य ३७५ रहेको छ।

यो पनि पढ्नुस्: कल्लीको मोबाइल फोन बज्यो (उपन्यास अंश)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.