पुँजीगत खर्च ६५ प्रतिशत पुग्यो

|

काठमाडौं: चालु आर्थिक वर्षको अन्तिम दिन शनिबार परेका कारण  सरकारी तथा नीजि कार्यलयहरू बन्द छन्। तर, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र वाणिज्य बैंकका कर्मचारीहरुलाई भने भ्याइ नभ्याइछ।

महालेखा नियन्त्रक कार्यालयले शनिबार चार बजेसम्म तीन पटक आफ्नो साइडमा खर्च तथा राजश्‍वको विवरण अपडेट गराएको छ। दिउँसो चार बजेसम्मको तथ्याङ्क हर्ने हो भने सरकारको बजेट खर्च ७८ प्रतिशत पुगेको छ। राजश्‍व भने लक्ष्य भन्दा बढी उठेको छ। अहिलेसम्म राजश्‍व १०७ प्रतिशत पुगेको छ।

बिहीबार साँझसम्म ७ खर्ब ७३ अर्ब ४४ करोड २९ लाख रुपैयाँ बजेट निकासा भएको थियो। तर, शुक्रबार र शनिबार दिउँसो चार बजेसम्म गरी ४८ अर्ब ३६ करोड १९ लाख ६१ हजार रुपैयाँ खर्च भएको छ। जस अनुसार बजेट खर्च ८ खर्ब २१ अर्ब ८० करोड ९४ लाख ६ हजार पुगेको छ।

के मा कति खर्च?

शनिबार चार बजेसम्म चालु खर्च ८३.६६ प्रतिशत पुगेको छ। चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार रुपैयाँ छुट्टाएको थियो। जसमध्ये ५ खर्ब १७ अर्ब २९ करोड ६६ लाख ८७ हजार रुपैयाँ खर्च भएको छ।

पुँजीगत खर्च ३ खर्ब ११ अर्ब ९४ करोड ७३ लाख २५ हजार रुपैयाँ मध्ये ६४.९७ प्रतिशत खर्च भएको छ। जसअनुसार पुँजीगत खर्च २ खर्ब २ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ पुगेको छ। सरकारले कम्तिमा ८० प्रतिशत पुँजीगत खर्च राख्ने लक्ष्य राखेता पनि चार बजेसम्म पनि न्युन खर्च देखिन्छ।

वित्तीय व्यवस्थापन खर्चतर्फ शनिबार निकास देखिदैँन। यस दिनसम्म ८५ दशमलव ८३ प्रतिशत बजेट खर्च भएको छ। यो शिर्षकमा  १ खर्ब १९ अर्ब  ८१ करोड ९ लाख बजेट छुट्टाइएको थियो जसमध्ये १ खर्ब २ अर्ब ८३ करोड ६५ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ।

१०७ प्रतिशत राजश्‍व

खर्च गर्ने पैसा अपेक्षित खर्च हुन नसकेता पनि राजश्‍व भने लक्ष्यभन्दा धेरै उठेको छ। शनिबार चार बजेसम्म लक्ष्यको तुलनामा १०७ प्रतिशत राजश्‍व उठेको महालेखा नियन्त्रकक कार्यलयले जनाएको छ। बजेटले चालु आर्थिक वर्षमा ५ सय ६५ अर्ब ८९ करोड ६५ लाख राजश्‍व उठ्ने लक्ष्य राखेको थियो। तर शनिबार चार बजेसम्म ६ सय ७ अर्ब १५ करोड ९१ लाख १९ हजार राजश्‍व उठेको छ।

मध्यरातसम्म काम

महालेखा निरीक्षक कार्यालयका उपमहालेखा नियन्त्रक यदु भट्टराइले असार ३१ गते सार्वजनिक बिदा परेता पनि औपचारिक हिसाबले आर्थिक वर्ष सकिने अन्तिम दिन परेको कारण भुक्तानी निकासाको लागि काम भइरहेको जानकारी शुक्रबार गराएका थिए। 'भोलि असार ३१ गर्ते सार्वजनिक विदा परेको कारण औपचारिक हिसाबले आर्थिक वर्ष २०७३/७४ करीव समाप्त भएको छ । तर भुक्तानी निकासाका हिसाबले अझैपनि अधिकांश साथीहरु कार्यालयमै काम गरिरहनु भएको छ भने राजस्व स‌ंकलनमा संलग्‍न बैंकका साथीहरु अहिले पनि भौचर प्रविष्टि गरि रहनु भएको छ' उनले शुक्रबार मध्यराती लेखेको फेसबुक स्ट्याटसमा उल्लेख छ। भट्टराइका अनुसार बाँकी रहेको भुक्तानी विवरण निकासा गर्न शनिबार मध्यरातसम्म नै सम्बन्धित कर्मचारी खटिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.