|

  • कृष्ण कडे‌ंल

बागलुङ : ताराखोला गाउँपालिकाले आर्थिक बर्ष २०७४, ७५ को नीति तथा कार्यक्रममा सामुदायिक एफएम तथा दुध संकलन केन्द्र स्थापनादेखि लोकसेवा तयारी कक्षा सञ्चालनसम्मका योजना समेटेको छ।

गाउँ सभाबाट पारित गरेर गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले सार्वजनिक गरेको कुल १७ करोड ९० लाख ७१ हजार रुपैयाँको कुल बजेटमा यस्ता योजना समेटिएका छन्। गाउँपालिकाको पहिलो बजेट पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

गाउँपालिकाले समानिकरण अनुदान १० करोड ७३ लाख ५८ हजार, सर्तसहितको अनुदान ६ करोड ४८ लाख ३८ हजार, संघिय संरचना र पुर्वाधार विकास कार्यक्रम तर्फको ४८ लाख तथा आन्तरीक राजस्वबाट स्रोत जुटाउने गरी २० लाख ७५ हजारको कुल बजेट बनाएकोे हो। आन्तरीक राजस्वको २० लाख ७५ हजार रुपैयाँ बाहेक अरु सवै केन्द्रबाट गाउँपालिकालाई प्राप्त अनुदान रकम हो।

सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेर बनाइएको बजेटमा २९ वटा साना–ठुला सडकलाई जम्मा ३ करोड २४ लाख ४८ हजार रुपैयाँ छुट्याईएको छ। कृषि पशुपालन र आयआर्जन कार्यक्रम अन्तर्गतका ७ ओटा योजनामा ९९ लाख ८४ हजार रुपैयाँ विनियोजन भएको छ।

दुध संकलन केन्द्र स्थापनाका लागि १९ लाख २० हजार रुपैयाँ बजेट छ । ‘गाउँपालिका भित्र परम्परागत रुपमै गाईभैसी पालन हुँदै आएको छ’, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘यसलाई व्यवसायीकरण गर्दै दुध उत्पादन बढाएर आयआर्जन गर्नका लागि दुध संकलन केन्द्र स्थापनाको योजना अघि सारेका छौँ।’

कृषि र पशुपालनमा तरकारी तथा अलैची खेती, माछा, भेडाबाख्रा तथा कुखुरा पालनजस्ता कार्यक्रम समेत परेका छन्। त्यस्तै शिक्षातर्फ विद्यालय क्षेत्र सुधार कार्यक्रम भनेर १ करोड ३६ लाख ३२ हजार रुपैयाँ, युवा तथा खेलकुद कार्यक्रमका लागि १५ लाख ८४ हजार रुपैयाँ तथा खानेपानी सिचाई र ढल निकासका लागि २१ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ।

भवन तथा अन्य पूर्वाधारका लागि ५४ लाख ८६ हजार रुपैयाँ, संस्कृति तथा पर्यटनतर्फ २ ओटा योजनामा १४ लाख ४० हजार रुपैयाँ, आन्तरिक राजस्वको पुँजीगत शिर्षकबाट मर्मत सम्भार कोष र विद्युतिकरणका लागि ७ लाख ६८ हजार रुपैयाँ विनियोजन भएको छ। 

संघीय संरचना पुर्वाधार विकास कार्यक्रमतर्फ पुँजीगत खर्च शिर्षकबाट ६ ओटा योजनाको लागि ४६ लाख ८ हजार रुपैयाँ राखिएको छ। समानिकरण अनुदानबाट चालुतर्फ कर्मचारी तलबका लागि १ करोड ३४ लाख ६३ हजार रुपैयाँ सहित विभिन्‍न २५ ओटा शिर्षकमा जम्मा ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ विनियोजन भएको छ। 

यो बजेटभित्र सामुदायिक एफएम स्थापनाका लागि ७ लाख रुपैयाँ र लोकसेवा तयारी कक्षा सञ्चालनका लागि ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
‘गाउँपालिकामा सञ्चार माध्यममार्फत नागरिकलाई सचेत बनाउनुपर्ने आवश्यकता देखियो। त्यसैले सामुदायिक एफएम चलाउन ७ लाख छुट्याएका हौँ,’ अध्यक्ष घर्तीले थपे,‘सबै घरधुरीबाट उनीहरुले सक्नेसम्मको शेयर जम्मा गरेर समुदायको अपनत्व हुने गरी तत्काल एफएमको प्रसारण सुरु गरिनेछ।’

गाउँपालिकाभित्रका नागरिकको निजामती क्षेत्रमा शुन्य उपस्थिति देखिएकाले राष्ट्र सेवामा स्थानीय युवालाई प्रेरित गर्नका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गरिने उनले बताए। 

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा अबको एक वर्ष तयारी तथा योजना निर्माणको वर्ष हुने उल्लेख छ। एक वर्षभित्र सम्पन्न गरिने अल्पकालीन, ३ वर्षमा गरिने मध्येकालीन र ५ वर्ष वा त्यो भन्दा बढी अवधिका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्ने लक्ष्य रहेको छ।  

स्थानीय स्तरमा विकासका सम्भावना बारे विषयगत विज्ञलाई गाउँपालिकामै बोलाएर अध्ययन गरी योजना निर्माण गरिने अध्यक्ष घर्तीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.