|

  • दीपशंकर चौलागाई 

दोलखा : गएरातिको वर्षाले रामेछापको खिम्ती र फर्पुको सीमानामा रहेको बस्तीमा बाढी पस्दा २ जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता छन्। बाढीले बगाएर मृत्यु भएकी लिखु गाउँपालिका वडा नम्बर ७ खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव भेटिएको छ, भने अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

यस्तै ६ जना घाइते भएका छन्। उनीहरुको उद्धारका लागि हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ। पुल नजिकका २ घर समेत बगेका छन्। शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा भारी वर्षा भएको थियो। स्थानीयका अनुसार खिम्ती बजारमा रहेको खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ।
बजारमा पार्किङ गरेका सवारी साधनमा पनि बाढीले क्षति पुर्‍याएको छ। 

बाढीबाट प्रभावित क्षेत्रमा उद्धारका लागि आइतबार बिहान प्रहरी पुगेको डीएसपी ढुंगेलले जानकारी दिए।

यता प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए। ४ वर्षअघि पनि खिम्तीमा बाढीले ८ जनाको ज्यान लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.