|
फाइल फोटो

चितवन : पवित्र तीर्थस्थल देवघाटधाममा साउने संक्रान्ति मेला सुरु भएको छ। आइतबार साउनको पहिले दिन संक्रान्तिमा स्नान गर्ने भक्तजनहरुको भीड लागेको छ। हिन्दू संस्कारअनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाको रुपमा लिने गरिएकाले यो महिनाभर श्रद्धालुहरुले चोखो गरी विभिन्न पूजा आराधना गरेर विशेष रुपमा मनाउँछन्। 

अझै साउनको सोमबार पवित्र दिनको रुपमा मानिँदै आएकाले भोलि सोमबार विशेष मेला हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टेकनाथ पौडेलले जानकारी दिए। सोही मेलाका लागि आजैदेखि तयारी थालिएको उनको भनाइ छ । भोलिबाट बोलबम मेला पनि लाग्ने पौडेलले बताए।

संक्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजनहरु आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गरिरहेका छन्। आज समाजसेवी तथा पूर्वसांसद मैयादेवी श्रेष्ठले विश्वशान्तिका लागि स्वस्तिशान्तिको आयोजनासमेत गरेकी छन्।

देवघाट क्षेत्र विकास समितिले बोलबम मेलाका लागि समितिका सदस्य सोमनाथ अधिकारीको संयोजकत्वमा उपसमिति बनाएर बोलबम मेलाको तयारी गरेको छ। नदीमा पानीको बहाव बढेकाले कुनै घटना नहोस् भनेर व्यवस्थापनका लागि स्वयंसेवक खटाइएको र डुंगा समेत राखिएको समितिले जनाएको छ। बाटो, खानेपानी, विद्युत लगायतको पनि व्यवस्थापन भइरहेको अध्यक्ष पौडेलले बताए।

चितवन नवलपरासी र तनहुँको संगममा रहेको देवघाटको सुरक्षाका लागि तीनै क्षेत्रका स्थानीय प्रशासनसँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ।

यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरु पनि ब्रत बसेर पुजा गर्ने गर्दछन्।  ब्रत बसेर स्नान गरी देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख÷शान्ति मिल्ने विश्वास सर्वसाधारणको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.