मनोरञ्जन

‘म यस्तो गीत गाउँछु’ मा ‘नयाँ इनिङ, फरक प्रेम कहानी’
SHARES

साउन १, २०७४

    चितवन : फरक खालको प्रेम कहानी उनेर चलचित्र ‘म यस्तो गीत गाउँछु’ नेपाली फिल्मी नगरीमा उदाएको छ। प्रिमियरबाट नै चर्चा बटुलेको चलचित्र असार ३० को पहिलो दिन शुक्रबार दर्शकको राम्रै प्रशंसा पायो। चलचित्रमा प्रेमील मोड विल्कुली पृथक् देख्न सकिन्छ। प्रेम जोडीका लागि यो फिल्म उत्कृष्ट सावित हुन सक्छ। नयाँ इनिङले दर्शकलाई रोमाञ्चित बनाउँछ। युवायुवतीले मनमा बस्ने देखिएको फिल्म हेर्न हलमा युवा समूहकै भीड छ।

    दर्शकले सोचे अनुसारको प्रेम कहानी अघि बढ्दैन। अब यो सिन आउला भने लख काट्ने दर्शक फेल खान्छन्। प्रेममा अचानक नसोचेका घुम्ती देखापर्छ। पैसाको आडमा रहेका बाबु शिवराम पाण्डेको चरित्र पुरानै शैलीको भए पनि पल र छाया (पूजा) अनि राजाराम पौडेलको अभिनयमा दर्शक मोहित हुन्छन्।

    खान्दानी परिवारको दम्भले पाण्डे परिवार दुखित मात्रै भएन छोरीको होस् गुम्दा मर्माहत बन्न पुग्छ। अझै बाबुको चेत नखुल्दा छोरीले अनायासै गोली खानुपर्ने दुखद अवस्था आउँछ।

    छोराछोरीको भावना नबुझ्दा आइपर्ने समस्या चलचित्रले उजागर गरेको बताउने फिल्मी पत्रकार रवि अधिकारी अरु चलचित्रमा भन्दा विल्कुलै फरक प्रेम कहानी रहेको बताउँछन्।अन्य चलचित्रमा कुनै एउटा घटनामा ठोकिएर प्रेम बस्छ। यसमा त्यस्तै छैन। चलचित्रले माया पाउन विगत चाहिँदैन, वर्तमान भए पुग्छ भन्ने  स्थापित गरिदिन्छ।

    पारिवारिक पृष्ठभूमिमा तयार भएको उक्त चलचित्रका सबै गीतले दर्शकको मन तान्छ। बीचबीचमा आउने कमेडीले दर्शकलाई मसला दिएर गम्भीर हुनबाट बचाउँछ। चाहिने ठाउँमा गीत छ। सुन्दर लोकेसनले चलचित्रमा सुगन्ध थपिदिएको छ।

    ‘भन्छु आज मनका कुरा’ को लोकेसनले नेपालमा पनि यस्तो सिन छ? भनेर दर्शकलाई खुल्दुली गराउँछ। ‘आजकल किन तिम्रो मन मैलो भयो’ तथा टाइटल गीत ‘म यस्तो गीत गाउँछु’मा दर्शकले संगितको भरपुर मजा लिन्छन्।

    चितवनको इन्द्रदेव हलमा चलचित्र हेरेपछि अनन्त अधिकारीले परिवारिक पृष्ठभूमिमा फिल्म रुमल्लिए पनि सस्पेन्स प्रेम कहानी र नपाँ पन दिएकोमा प्रशंसा गरे। युगल जोडीलाई चलचित्रले मन तान्छ। कतै भावुक पनि बनाउँछ। पहिलो भाग भन्दा दोस्रो भागमा कौतुहलता देखाउँछ। दर्शकले सोचे भन्दा फरक रुपमा मोडिन्छ।

    खान्दानी परिवारको छोरी हुन्छे छाया। आमा गुमेको टुहुरो पल गुण्डाहरुको संगतमा हुन्छ। साथीहरुवीच पैसाको ठगेको आरोपलाग्दा पल आफ्नै कोठामा पनि बाहिरबाट ताला लगाएर झ्यालबाट आउजाउ गर्न बाध्य हुन्छ।

    यता, खान्दानी बाबुले छायालाई धनाढ्य केटा विकेनसँग विहे गराउन खोज्छ। विकेनको व्यवहारले छायाँ टाढिन्छे। बाबुको इच्छाविपरीत भएपछि छायाँ घर छाड्न बाध्य हुन्छे। पलसँग छायाको भेट हुन्छ।

    विचमा आउने विभिन्न घटनाक्रम र छायाको विमार लगायत कारण उनीहरुको मायाँ बस्छ। एकदिन पल खानेकुरा किन्न जाँदा छायाँलाई परिवारले भेट्छन्। एकै छिनमा पल आएपछि फेरि आउने वाचा गर्दै छाया परिवारसँग लाग्छे।

    बाटोमा बुबाले अब विकेसनसँग विहे गर्ने अन्तिम निर्णय सुनाएपछि छायाँ फेरी आक्रोसित हुन्छे। गाडी नरोकेपछि आफैं उठेर गाडीको ह्याण्ड ब्रेक लगाउँदा दुर्घटना हुन्छ। अस्पतालमा छाया होसमा आउँदा उसले पुराना कुरा बिर्सिन्छे।

    त्यसपछि सातदिनको समयमा मागेर पलले पुराना कुरा स्मरण गराउन खोज्दा  असफल हुन्छ। पलसँग विगतमा भएका कुराहरु भन्न छायाँले जिद्धीगरेपछि आमाले रुपा रानाले सबैकुरा बताउँछिन्।

    त्यसपछि पललाई भेट्न पुग्छे। पलले आफ्नो गाउँ लगेर विगतकै शैलीमा  चेत फर्काउने प्रयास गर्छ। विगतका तस्बिर देखाउँछ। छायाँको आफ्नै घर बनाएर बस्ने योजना अनुसार पलले गाउँमा घर समेत बनाउँछ। हरप्रयास गर्दापनि चेत नफर्किएपछि छायाँलाई उसकै घर ल्याउँछ।

    गेटमा छिर्ने क्रममा चारैतीरबाट पेस्तोल सहितका प्रहरीले उनीहरुलाई घेरा हाल्छन्। हजुरबुबाले गाउँबाट पठाइदिएको आमाको नासो सुनको बाला पलले छायाँलाई दिन खोज्दा पेस्तोल निकालेको सम्झेर प्रहरीले पललाई गोली चलाउँदा पूजालाई लाग्छ।

    अस्पतालमा छायाँको दोस्रो उपचार सफल भए पनि स्मरण शक्ति अझै फर्कदैन। उनलाई भेट्न अस्पताल शैयामा पुगेर फर्कन लाग्दा पुजाले च्याप्प हात समाउँछे । अनि उसले भन्छे पुराना कुरा नसम्झेर के भो तिमीसँग विताएका सातदिन मेरो लागि जुनी जुनीलाई। यसरी चलचित्रको कथा समाप्त हुन्छ।

    समग्रमा सच्चा प्रेम नै प्रेमको। कसैको दबाबमा मायाँ बस्दैन भन्ने सार चलचित्रको छ। आफ्ना छोरा छोरीलाई उसको चाहना अनुसार चल्न दिनुपर्छ। उसका चाहना मार्नु हुँदैन भन्ने देखाउन खोजिएको छ। प्रेम गर्न विगत चाहिंदैन बर्तमान काफी छ भन्ने सावित गर्न खोजिएको छ।

    अनावश्यक रुपमा सोभित बस्नेतको बोकाको फतफताई कमेडी दिन खोजिए पनि अमिल्दो हुँदा दर्शकले रुचाउँदैनन्। शिव पाण्डे बनेका सरोज खनालको दम्भ अलिबढी देखिन्छ। गुण्डा देखाउन खोजिएपनि भूमिका छैन। दुबैलाई एउटै हतकडी लगाएको सिन र विरामी, महिनावारीसँग जोडएका केही दृष्य अनावश्यक लाग्छन्। परिवारमा रुमल्लिएको देखिन्छ। रुपा रानालाई मुर्तिको रुपमा मात्रै उभ्याइएको महसुस हुन्छ।

    सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन्।उक्त फिल्ममा सरोज खनाल सहित रुपा राना, मोहन निरौला, राजाराम पौडेल, शिशिर राना, सोभित वस्नेतको अभिनय छ। मुख्य अभिनय भने पूजा र पलको छ।

    काठमाडौ, पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रका दृष्यहरु राम्रा छन्। नायिका तथा निर्मात्री पुजा शर्माले भने जस्तै चलचित्रमा लभ स्टोरीको मिक्स मसला छ। दर्शकलाई चलचित्रले पछिल्लो भागमा जस्तो पहिलो भागमा बाँध्न सकेको छैन। जे भए पनि चलचित्र प्रेम कथाको उत्कृष्ट मध्यमा पर्छ।

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]