|

सिन्धुपाल्चोक : भूकम्पले धाँजा फाटेको जमिन पहिरो बनेर झरेपछि बाह्रबिसे नगरपालिका–७ को बिम्बु गाउँ विस्थापित भएको छ। पहिरोले गाउँ ध्वस्त हुँदा त्यहाँ बसोबास गर्दै आएका १९ घरपरिवार विस्थापित भएका हुन्।

धाँजा फाटेको जमिनमा पानी उम्लिएर पहिरो गएको हो। पहिरो बनेर सो गाउँ बिम्बु खोलामा पुगेको छ। भूकम्पले ध्वस्त गाउँका घर बनाउन पीडितले वर्ष दिनदेखि काटेर संकलन गरिएका काठपात सबै पहिरोले पुरेको स्थानीय बिलबहादुर लामाले जानकारी दिए। बाह्रबिसेबाट चार घण्टामा पुग्न सकिने बिकट लेकाली गाउँ बिम्बुमा अहिले कोही छैनन्।

गाउँ नै पहिरोमा परेपछि बिस्थापित स्थानीय एक घण्टाको दूरीमा रहेको लेकाली बारी टारमा गएर बसेका छन्। भूकम्पपछि बनाइएका जस्तापाताको टहरा पहिरोले लगेपछि अहिले उनीहरु त्रिपालमुनि सामूहिक रुपमा बसिरहेका छन्। ‘जस्तापाताको टहरा बनाउन केही दिन लाग्ने भएकोले सामुहिक रुपमा हामी बसिरहेका छौं,’ लामाले भने।

भूकम्पपीडितले अनुदानको पहिलो किस्ताबाट डिभिसी गरेका केही घरपनि पहिरोले पुरेको छ। गाउँको नजिकै पानीको मूल फुटेर जमिन हल्लिएको थाहा पाएपछि बिम्बुवासी रातको समयमा भागेका थिए। सुरुमा पानीको मूल फुटेर बग्न थालेको सो गाउँ दुई दिनपछि पूरै पहिरोमा परिणत भएको थियो। बस्तुभाउ सबै लेकाली गोठमा रहेकोले क्षति हुन पाएन। १९ घरकै सबै अन्नपात पहिरोले पुरेको छ। टार बारीमा लगाएको आलू  र मकै खाएर विस्थापित परिवार बाँचिरहेका छन्।

पहिरोले बिस्थापित परिवारका लागि कसैले सहयोग गरेका छैनन्। घटनापछि बिम्बु पुगेको नेपाल प्रहरीले बिस्थापितको नाम टिपेर फर्केको थियो। दिनहुँ वर्षात् भइरहेकोले बाह्रबिसे बजारमा खरिद गरिएका टहरो निर्माणका सामग्री गाउँ पु¥याउन सकिएको छैन। भूकम्पको पीडा नसकिँदै बिम्बुवासीलाई अर्को महाविपत्ति आइपरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.