|

लहान : सिरहाका इँटा व्यवसायीहरुको पेसागत संगठन सिरहा इँटा उद्योग व्यवसायी संघको शनिबार राति अबेर सम्पन्न प्रथम साधारणसभाले युवा व्यवसायी विक्रम साहको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।

नेपाल इँटा उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्यसमेत रहेका साह नेतृत्वको कार्यसमितिमा प्रथम उपाध्यक्ष शत्रुधनप्रसाद चौधरी, उपाध्यक्ष सन्तोष श्रीवास्तव (सुखीपुर), सचिव यमुनाप्रसाद साह ‘श्याम’ (मिर्चैया) र कोषाध्यक्ष रामसगुन यादव (गोलबजार) निर्वाचित भएका छन्। 

त्यस्तै, संघको जिल्ला कार्यसमितिमा सदस्यहरु वीरवल साह (धनगढी), मोतीलाल साह (बस्तीपुर),  दिलिप श्रेष्ठ (गोलबजार), सर्विन यादव (हकपाडा) र मोहन साह (गोलबजार) निर्वाचित भएका छन्। 

सरकारले नहेरेको गुनासो 

गोलबजारस्थित अतिथि सेवा सदनमा नेपाल इँटा उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष महेन्द्रबहादुर चित्रकारको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा वक्ताहरुले इँटा उद्योगीहरुबाट सरकारले कर मात्र असुलिरहेको तर, उनीहरुको समस्या समाधान गर्नेतर्फ उदासिन रहेको गुनासो गरे। उद्घाटन सत्रमा बाल श्रम मुक्त, इँटाको समान आकारका लागि सरकारले भने जसरी एकैपल्ट भन्दा पनि क्लष्टर निर्धारण गरी कार्यान्वयन गर्दा बढी प्रभावकारी हुने औंल्याए। 

जिल्लाका विभिन्न ठाउँमा रहेका पाँच दर्जन इँटा उद्योगहरुलाई जिगज्याग प्रविधिमा संचालन गर्न लगानीको कारणले पनि समस्या परिरहेको चर्चा गर्दै वक्ताहरुले त्यस प्रविधिबाट सरकारले निर्धारण गरेको भन्दा ७५ प्रतिशत प्रदूषण कम हुने भएकाले सरकारले लगानीको सुरक्षा गरिदिए त्यसमा जान समस्या नरहेको वक्ताहरुको भनाइ थियो।

सिरहामा रहेका इँटा उद्योगमध्ये तीन वटा गोलबजार र बाँकी तीन वटा मिर्चैया, सुखीपुर र पोखरभिण्डामा जिगज्याग प्रविधिका इँटा उद्योग सञ्चालित छन् भने बाँकी परम्परागत चिम्नी जडान गरिएको उद्योग रहेको जनाइएको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.