सवारीसाधनले वन्यजन्तु किचेर मारे कम्तीमा ५ लाख जरिवाना

|

बाँके : तपार्इं बाँके राष्ट्रिय निकुञ्जमा पर्ने राजमार्गमा फोहर फालिरहनुभएको त छैन? छ भने तपाईंलाई निकुञ्ज प्रशासनले कारबाही गर्न सक्छ। निकुञ्जभित्र पर्ने राजमार्गमा यातायातका साधन चलाउने चालक र यात्रुलाई निकुञ्ज प्रशासनले फोहोर नफाल्न र दिसापिसाब नगर्न सजग गराउँदै आएको छ। दिसापिसाब गरेको र फोहोर फालेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत दिने गरेको छ। 

निकुञ्जभित्र फोहोर फाल्ने र दिसापिसाब गरे गराएमा ६ महिना कैद वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा व्यवस्था छ। ऐनमा भएको व्यवस्थाबारे सबैलाई जानकारी नभएकोले पहिलो चरणमा दिसापिसाब गर्ने र फोहोर फाल्नेलाई सम्झाई–बुझाई पठाउने गरिएको बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी लालबहादुर भण्डारीले बताए। ‘अहिले सुरुवाती चरण भएकोले केही खुकुलो छ, दिसापिसाब गरेको र फोहोर फालेको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ,’ उनले भने।

सवारीसाधनमा अवैैध वस्तु ओसारपसार नगर्न पनि निकुञ्जले सुझाएको छ। आफ्नो सवारीसाधनमा फोहोर जम्मा गर्ने भाँडो (डस्टविन) अनिवार्य रुपमा राख्न र तोकिएको स्थानमा मात्र फोहोर विसर्जन गर्न निकुञ्जले आग्रह गरेको छ।

निकुञ्जले ४० किलोमिटर प्रतिघन्टा भन्दा बढी गतिमा गाडी नचलाउन पनि सवारी चालकलाई सचेत गराउँदै आएको छ। प्रतिघन्टा ४० किलोमिटरभन्दा बढी गतिमा सवारीसाधन सञ्चालन गरेको पाइएमा कारबाही गरिने निकुञ्जले स्पष्ट पारेको छ। ‘निकुञ्जमा पर्ने राजमार्गमा हर्न बजाए, विनाकारण गाडी रोकी राखे रु.२० हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवैै सजाय हुने निकुञ्ज ऐनमा व्यवस्था छ,’ भण्डारीले भने।

वन्यजन्तु किचेर मारे कम्तीमा ५ लाख जरिवाना

निकुञ्ज भित्रपर्ने राजमार्गमा गुडिरहेको सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिएर मारेमा चालकलाई दण्ड सजाय र सवारीसाधन जफत हुने व्यवस्था ऐनमा छ। सवारीसाधनले हात्ती, गैंडा र बाघ किचेर मारेको खण्डमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएको संरक्षण अधिकृत भण्डारीले बताए।

त्यसैगरी, बारसिंगा, चौका, सालक, हुँडार, चरीबाघ, अजिंगर जस्ता संरक्षित वन्यजन्तु मारेमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। चित्तल, जरायो, खरायो, बाँदर, लंगुर, रतुवा, दुम्सीलगायत अन्य वन्यजन्तु मारेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय ऐनले तोकेको छ।

‘विनाइजाजत वन पैदावार र वन्यजन्तुसँग सम्बन्धित वस्तु ओसारपसार गर्ने व्यक्तिलाई दण्ड सजाय र सवारीसाधन समेत जफत हुने व्यवस्था ऐनले गरेको छ,’ उनले भने।

यातायातका साधनलाई टाइम कार्ड

यातायातका साधनले भकाभक वन्यजन्तु मार्न थालेपछि बाँके राष्ट्रिय निकुञ्जले यातायातका साधनलाई ‘टाइम कार्ड’ दिन थालेको छ। राजमार्गमा विस्तारै सवारीसाधन चलाउँदा यात्रुले झिझो मान्ने भएकोले चालकले तीव्र गतिमा सवारीसाधन चलाउने गरेका छन्। राजमार्गमा राष्ट्रिय निकुञ्ज पर्ने भएकोले सडक वारपार गर्ने वन्यजन्तु किचिने गरेका छन्।

बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुलाई सवारीसाधनबाट जोगाउन ५७ किलोमिटरको दूरीमा टाइम कार्डको व्यवस्था गरेको छ। उक्त ५७ किलोमिटर दुरी पार गर्न कम्तीमा १ घण्टाको समय तोकिएको छ। छिटो जानेलाई चेतावनी दिइने कार्यसमेत निकुञ्जले गर्दै आएको छ। ‘तैपनि वन्यजन्तु किचिन छाडेका छैनन्,’ सहायक संरक्षण अधिकृत चौधरीले भने, ‘राजमार्ग वन्यजन्तु संरक्षणका लागि ठूलो चुनौती बनेर आएको छ।’

उनले वन्यजन्तु सवारीसाधनले किचेका कारण बाघको आहार कम हुने गरेको बताए। दुई वटा बाघको आहारा सवारी साधनले किचेर नोक्सान गर्ने गरेको औँल्याए। चौधरीका अनुसार एउटा बयस्क बाघले वर्षमा ५५ देखि ६० वटा वन्यजन्तु खाने गर्दछ।

उनले गर्मीयाममा सवारी दुर्घटनामा परी वन्यजन्तु मर्ने गरेको जानकारी दिए। बाँके राष्ट्रिय निकुञ्जमा पानीको मुहान सुकेपछि वन्यजन्तु पानीका लागि राजमार्ग पार गरेर राप्ती नदीमा आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ। ‘पानी खान राप्ती नदीमा आएका वन्यजन्तु राजमार्गमा संचालन हुने सवारी साधनले किचिन्छन्,’ उनले भने, ‘जाडो र वर्षातको भन्दा गर्मी दिनमा वन्यजन्तु राजमार्गमा किचिने गरेका छन्।’

वन्यजन्तु जोगाउन सिसिक्यामेरा जडान

बाँके राष्ट्रिय निकुञ्जले यातायातका साधनबाट वन्यजन्तु जोगाउन पूर्व–पश्चिम राजमार्गअन्तरगत प्रगतिनगरदेखि शिव खोलासम्म सिसि क्यामेरा जडान गरिरहेको छ। प्रगतिनगरमा २ वट सिसि क्यामेरा जडान भइसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले जानकारी दिए।

उनले निकुञ्जको प्रधान कार्यालय ओभरीमा ३, खैरी खोलामा १ र शिव खोला पोष्टनजिक एक जोडा सिसि क्यामेरा जडान गर्ने कार्य जारी रहेको बताए। ‘सिसिक्यामेरा जडान भएपछि यातायातका साधनले जनावर मार्ने र किच्नेमा कमी आउने छ नै अवैध कार्य रोकिने छ, सवारी साधनबाट फोहर फाल्ने कार्य पनि रोकिने छ,’ चौधरीले भने।

पहिलो चरणमा सिसिक्यामेरा जडान कार्य सम्पन्न भएपछि दोस्रो चरणमा राजमार्गको संवेदनशील ठाउँमा पनि सिसिक्यामेरा जडान गरिने उनले स्पष्ट पारे। निकुञ्ज प्रशासन र सुरक्षाकर्मीले नदेखेकै कारण बन्यजन्तु किचरे यातायातका साधन भाग्ने र उम्कने गरेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.