|

दमक :  पाँचथरको मिक्लाजुङ ७ की सीतादेवी राईलाई असार २९ गते दिउँसो घाँस काट्दै गरेको अवस्थामा गुर्वे सर्पले डस्यो। घाँसमा गुटमुटिएर बसेको गुर्वे सर्पले डस्दा सुरुमा त उनले विषालु सर्प होइन भन्दै वास्ता गरिनन्। तर, उनको शरीरमा फोका निक्लन थालेपछि उनले घरमा जडीबुटी प्रयोग गरिन्।

त्यति गर्दा पनि झन् शरीरमा फोका निक्लिएर घाउ चर्चाराएपछि उनी असार ३१ गते दमकस्थित रेडक्रस उपशाखा दमकले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा आइन्। उनले त्यहाँ आएर मात्र थाहा पाइन् गुर्वे सर्प भनेको पहाडमा पाइने विषालु सर्प रहेछ भन्ने। 
अहिले उनी दमकको सर्पदंश उपचार केन्द्रमा उपचाररत छिन्। उनको शरीरमा रहेका फोकाहरु केही निको हुँदै गएको छ। सीतादेवी भन्छिन्, ‘मैले त पहाडमा विषालु सर्प पाइँदैन भनेर वास्ता गरिनँ, यो सर्प विषलु होइन जस्तो लाग्यो, तर यहाँ आएपछि मात्र थाहा पाएँ यो त विषालु रहेछ।’
यस्तै, मोरङको उर्लाबारी ९ का ६९ वर्षीय तुलाराम न्यौपानेलाई असार ३१ गते शनिबार साँझ खेतमा पानी हाल्ने क्रममा करेत सर्पले देब्रे खुट्टामा डस्यो। सर्पले डस्नेबितिक्कै उनले खुट्टामा डोरीले रगत नसर्ने गरी बाँधे। उनी घरमा आएर सुतेका मात्र थिए सर्पले डसेको खुटट झर्ला जस्तो गरी दुख्यो।

सर्पदंश उपचार केन्द्र दमकमा उपचाररत उनले भने, ‘खेतमा पानी हाल्न जाँदा केही हुन्छ कि भनेर हातमा हँसिया पनि बोकेको थिएँ, त्यही हँसियाले सर्प चाहिँ मारें र घरमा आएर आफंै निको हुन्छ भनेर सुतेको मात्र थिएँ खुट्टा धेरै दुख्यो, एक जना छिमेकीले यो सर्प विषालु हो भनेपछि म सर्प नै लिएर यहाँ आएँ सर्प विषालु नै रहेछ, कसो ज्यान गएन।’ 
उनीहरु मात्र होइन धेरैजसो सर्पदंशका बिरामीहरु सर्पको डसाइपछि सामान्य मान्दै उपचारमा नआउँदा समस्या जटिल बन्ने गरेको रेडक्रस उपशाखा दमकले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ। उपचार केन्द्रका इञ्चार्ज देवीप्रसाद भण्डारीले बिरामीहरु घरेलु उपचारमा विश्वास गर्दा समस्या हुने गरेको बताए। उनले भने, ‘अहिले पनि सर्पले डस्दा सामान्य मानेर घरमै जडीबुटी गर्ने र धामीझाँक्री लगाउने चलन छ, यस कारण धेरैको ज्यान जोखिमा परेको छ।’
 सर्पदंशका बिरामी बढे
गर्मी  र वर्षायाम सुरु भएसँगै झापामा सर्पदंशकाका बिरामी बढ्न थालेका छन्। जिल्लाको दमक, चारआली र सुरुङामा सञ्चालित सर्प डसाइ उपचार केन्द्र्रहरुमा अहिले सर्प डसाइका बिरामीको संख्या ह्वात्तै वृद्धि भएको हो।
दमकमा सञ्चालित सर्पदंश उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीका अनुसार केन्द्रमा अहिले दैनिक ८÷१० जना सर्प डसाईका बिरामीले उपचार लिइरहेका छन्। त्यस उपचार केन्द्र नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले २०५५ जेठ २६ सालदेखि सुरु गरेको हो। उनका अनुसार गत आर्थिक वर्ष ०७३÷०७४ मा मात्र १२सय १५ जनाले सर्पदंशको उपचार गराएका छन्। यस्तै गत चैत देखि यता ६ सय २६ जना सर्पदंशका बिरामी आएका छन्।
 
सर्पले बढी डस्ने वर्षाको समय
केन्द्रका इन्चार्ज भण्डारीले गर्मी र वर्षाका समयमा दुलोभित्र रहने सर्प चर्नका लागि बाहिर निस्कँदा यसले मानिसलाई डस्ने गरेको बताए। विषालु सर्पका डसाईका विरामी समयमानै उपचार गर्न नसक्दा अकालमा नै ज्यान गुमाएको उल्लेख गर्दै उनले समयमानै विरामीलाई उपचार गर्न ल्याए शतप्रतिशत उपचार संभव हुने बताए। उनले भने, ‘सर्पबाट जोगिन हामीले रातमा हिँडडुल गर्दा सावधानी अपनाउने र सधैं सुत्दाखेरी झुल अनिवार्य लगाउनुपर्छ।’
सर्पले अधिकांशलाई रातिपख डस्ने गरेको पाइएको छ। तराईमा विषालु सर्पमा करेत, गोमन पाइन्छन् भने चुरे पहाडी क्षेत्रमा गुर्वे, हरेउ लगायतका सर्पहरु पर्छन्। केन्द्रका इन्चार्ज भण्डारीले बर्सेनि सर्प डसाइका १५ सयदेखि २ हजारसम्म बिरामीले उपचार पाएको बताए। उनले भने, ‘केन्द्रमा झापा,इलाम,पूर्वी मोरङदेखि भारतीय सीमावर्ती क्षेत्रका विरामीहरुले उपचार पाउँदै आएका छन्।’
सर्प डसाइ उपचारमा प्रयोग गरिने एण्टीस्नेक भेनम सरकारले उपलब्ध गराउँदै आएपछि रेडक्रसले न्यून शुल्कमा त्यस्तो सेवा दिँदै आएको बताइएको छ। यसैगरी, रेडक्रसले सर्प डसाइको मृत्यु दर घटाउन झापा, मोरङ र इलामका प्रभावित दुई दर्जन बढी गाँउपालिकामा सर्प डसाईको आकस्मिक उपचारका लागि मोटरसाईकल एम्बुलेन्स कार्यक्रम सञ्चालित छ।

त्यस कार्यक्रम अन्तगर्त रेडक्रसले मोटरसाइकल भएका स्थानीय स्वमसेवकहरुलाई सर्पले डसेका विरामी ल्याउन परिचालन गरिएपछि दुर्गमका त्यस्ता विरामीले सहजै उपचार गर्न पाएको रेडक्रसका सभापति लीला गुरागाई बताए। उनका अनुसार मोटरसाईकल स्वमसेवक अन्तर्गत विरामी ल्याउदाँ रेडक्रसले न्यूनतम पेट्रोल दिने गरिएपछि देहात क्षेत्रमा सर्पले डसाईको यस स्वमसेवक कार्यक्रम प्रभावकारी  समेत बन्दै गएको छ।
यसरी बच्न सकिन्छ सर्पको डसाइबाट
विषालु सर्प विशेष गरेर गर्मी र वर्षाको समयमा निक्लने भण्डारी बताउँछन्। उनी भन्छन्, ‘बर्खाको समयमा सर्प बस्ने दुलोमा पानी भरिँदा सर्प बाहिर निक्लन्छ, यस मौसममा विशेष सतर्कता अपनाउनुपर्छ।’ उनले यो मौसममा घरमा मुसाको दुलो नराख्न, तथा घर छेउछाउ सफा राख्न सबैलाई आग्रह गरे। उनले विशेष गरेर तराईका अदिवासी समुदायमा सर्पको डसाई धेरै हुने बताए।

उनले भने, ‘तराईका अदिवासी समुदायका मानिसहरु बेलुका बाहिर भुइँमै सुत्ने गर्छन्, करेत जातको सर्प बढी बेलुका सक्रिय हुन्छ, त्यसकारण धेरै सर्पले डस्छ, विषेश सावधानी अपनाउनुपर्छ।’ उनले सर्पले डसेपछि चाँडो उपचारका लागि सर्पदंश उपचार केन्द्रमा जान सबैलाई आग्रह गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.