काउन्सिल अध्यक्षको प्रश्नः एजेन्डाबिना किन बैठक राख्ने?

|

काठमाडौं : प्रेस काउन्सिल नेपालका सदस्यहरूले काउन्सिलको बोर्ड बैठक बोलाउन सामुहिक माग गरेका छन्। काउन्सिल अध्यक्ष भवानी बरालले बैठक नबोलाएको आरोप लगाउँदै १० जना सदस्यले आइतबार काउन्सिलमा सामुहिक निवेदन दर्ता गरेका छन्। 

'प्रेस काउन्सिल नेपालले तत्काल सम्बोधन गर्नुपर्ने गम्भीर प्रकृतिका नीतिगत विषयमा छलफल गर्न काउन्सिलको बोर्ड बैठक जरुरी भएकोमा बोर्ड बैठक नबोलाउने, बोलाएको बैठक पनि अन्तिम समयमा बिनाकारण स्थगित गर्ने एवं काउन्सिलका अध्यक्ष स्वयंका विरोधाभासपूर्ण अभिव्यक्तिका कारण अन्योल उत्पन्न भएकोले काउन्सिलको भूमिका र अस्तित्वकै सन्दर्भमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता महसुस भएकोले २४ घण्टाभित्र बैठक बोलाउन हामी बोर्डका सबै सदस्यहरू सामुहिक माग गर्दछौँ', काउन्सिलमा आइतबार दर्ता गरेको निवेदनमा भनिएको छ।

निवेदनमा काउन्सिलका १० जना सदस्यको नाम छ। तर हस्ताक्षर भने ७ जनाको मात्र छ। काउन्सिलको बोर्डमा अध्यक्षसहित १२ जना छन्। सूचना विभागका महानिर्देशक बोर्डको सदस्य सचिव हुने व्यवस्था छ।

काउन्सिलका अध्यक्ष भवानी बरालले 'अध्यक्षको निर्देशनमा सदस्य सचिवले बैठक बोलाउने ऐनको व्यवस्था रहेको भन्दै कार्यसूची नभएको बेला कसैले माग गर्दैमा बैठक जरुरी नहुने' प्रतिक्रिया दिए।

'सदस्यले जतिबेला जरुरी भन्छन् त्यतिबेला कार्यसूची नै नभए पनि बैठक बोलाउने भन्ने हुन्न', अध्यक्ष बरालले थाहाखबरसँग भने, 'बिजनेस नै नभएका बेला त्यतिकै बैठक बस्दा काउन्सिललाई अनावश्यक भार हुन्छ। म ऐन अनुसार नै बैठक राख्छु।' यद्यपि 'बैठक राख्न माग गर्दै सदस्यहरूले निवेदन दर्ता गरेको विषयलाई आफूले सकारात्मक रुपमा लिएको' उनले बताए। 

प्रेस काउन्सिल ऐन २०४८ मा 'अध्यक्षको निर्देशनमा सदस्य–सचिवले काउन्सिलको बैठक बोलाउने' उल्लेख छ। सूचना विभागका महानिर्देशक वीरबहादुर राई काउन्सिलका सदस्य सचिव छन्। बराल गत जेठ ४ गते काउन्सिलको अध्यक्ष नियुक्त भएका थिए। 

हेर्नुस् काउन्सिलमा दर्ता भएको पत्रः

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.