|

काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने आफ्नो निर्णयमा पुनर्विचार गर्न नसकिने अडान लिएको छ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदाता नामावली संकलन गर्ने मिति र स्थान पुनर्विचार गर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका हुन्। उनले साउन १५ गते भित्र सबै जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम सम्पन्न गर्ने आयोगको निर्णय यथावत रहेको स्पष्ट पारे।

साउन १ गतेदेखि १५ गतेसम्म जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलनको काम गर्ने निर्णय पुनर्विचार गर्न राजनीतिक दलहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएका छन्।

आयोगका प्रमुख निर्वाचन आयुक्त यादवले आयोग आफ्नो निर्णय अनुसार अघि बढने उल्लेख गरे।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले साउन १५ गते भित्र पनि मतदाता नामावली संकलनको काम नसकिए परिस्थितिलाई हेरेर निर्णय लिन भने आयोग तयार रहेको पनि बताए। राजनीतिक दलहरुले आयोगलाई स्थानीय तहबाटै मतदाता नामावली संकलनको काम गराउन पनि आग्रह गर्दै आएका छन्।

'१५ गतेसम्ममा जुन निर्वाचन आयोगले निर्धारण गरेको समय छ, त्यो समयलाई सबैले अधिकतम उपयोग गरौँ', प्रमुख आयुक्त डा. यादवले भने, 'त्यसपछि निर्वाचन आयोगले परिस्थित हेरेर निर्णय गर्नुपर्‍यो भने निर्णय गर्छ।'

राजनीतिक दलहरुले मतदाता नामावली संकलनका लागि १५ दिनको समय कम हुने धारणा राख्दै आएका छन्। उनीहरुले जनतालाई सास्ती हुने भएकाले स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्न उपयुक्त हुने सुझाव पनि दिएका छन्। निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको कामलाई अघि बढाउने गरी मतदाता नामावली संकलनको काम सुरु गर्न लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.