|

चितवनः चितवनमा स्थानीय तहको निर्वाचन भएको आज ठ्याक्कै ६३ दिन भयो। दोस्रो चरणको निर्वाचन सकिएर विजयी जनप्रतिनिधिहरूले भावी कार्ययोजना बनाइसके। आफ्नो गाउँ र नगरलाई आगामी पाँच वर्षमा कस्तो रूप दिने, त्यो खाकासमेत उनीहरूले कोरिसके। तर भरतपुरको परिणाम भने अझै अनिश्चित जस्तै भएको छ।

चितवनको भरतपुर महानगरपालिकाको निर्वाचन भएको ६३औँ दिन भइसक्दा अन्योल कायम छ। जेठ १४ गते राती मतगणनाका क्रममा भरतपुररू १९ का ९० वटा मतपत्र च्यातिएपछि उत्पन्न समस्या अहिले सर्वाेच्चमा पुगेर अड्किएको छ।

पटक पटक पेसी तोक्दै र सार्दै आएको सर्वाेच्चका कारण आशा भन्दा निराशा बढ्दो छ। भोलि अर्थात् साउन २ गते सोमबार सर्वाेच्चले यस मुद्धाका लागि पेसी तोकेको छ। 

सोमबार नै अन्तिम निर्णय आउला कि भन्ने झिनो आशा मतदाता, उम्मेदवार तथा राजनीतिक दलहरूले गरेका छन्। जनप्रतिनिधि आउलान् र काममा सहज होला भन्ने अभिलासा बोकेका कर्मचारीहरू पनि निराश बनेका छन्। 

चुनाव जितेका वडा सदस्य र अध्यक्षहरूले समेत काम गर्न पाएका छैनन्। जितेर पनि कार्यालयमा हाजिर हुन नपाउँदा जनप्रतिनिधिहरूको पीडा छुट्टै छ। 

उता, चुनावमा महानगरलाई यस्तो बनाउँछु र उस्तो बनाउँछु भनेर आआफ्ना भावी कार्यक्रमसहित चुनावी मैदानमा उत्रिएका उम्मेदवार सर्वाेच्चमा मुद्धा परेपछि एक चरणको चुनावी प्रचार गरेर थाकिसकेका छन्। आशैआशमा निराश छ भरतपुर महानगर यतिबेला।

के गर्दै छन् देवी र रेणु? 
अन्योलग्रस्त अवस्थामा रहेको चितवनको भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रेणु दाहाल र देवीप्रसाद ज्ञवाली अहिले के गर्दै होलान्? भन्ने जिज्ञासा धेरैमा छ। यो हुनु स्वाभाविक पनि हो। सिंगो मुलुकको ध्यान केन्द्रित भएको यस महानगरपालिकामा प्रधानमन्त्री तथा दशवर्षे सशस्त्र जनयुद्धका नायक प्रचण्डकी छोरी प्रमुखको प्रतिष्पर्धामा थिइन्। 

वास्तवमा यी दुई यस महानगरका प्रमुखका मुख्य प्रतिष्पर्धी अहिले मत माग्दै होलान् कि आफ्नो व्यक्तिगत काममा सक्रिय होलान्? या पार्टीको काममा व्यस्त छन्? यिनै जिज्ञासा अहिले चिया पसलदेखि स्कुल कलेजसम्म चलिरहेका छन्। 

अन्योलको भुमरीमा रुमल्लिएका यी उम्मेदवारको दिनचर्याबारे जानकारी लिन जोसुकै आतुर छन् अहिले। उनीहरू के गर्दै छन् त? 

पर्ख र हेरको अवस्थामा रेणु 
नेपाली कांग्रेसको समर्थनमा नेकपा माओवादी केन्द्रबाट भरतपुर महानगरको प्रमुखकी उम्मेदवार हुन्, रेणु दाहाल। कांग्रेसले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गराएर रेणुलाई संयुक्त उम्मेदवार बनाएको हो। 

भरतपुर महानगरमा यसै पनि कांग्रेसको मत बढी थियो। त्यसमाथि माओवादी केन्द्रको मत थपिँदा रेणुले सजिलै जित्लिन् भन्ने लागेको गठबन्धनलाई अहिले यही फलामको चिउरा बन्न पुगेको छ। मतदाताको इच्छाविपरीत पार्टीको केन्द्रले हस्तक्षेप गरेर माओवादी केन्द्रकी उम्मेदवार रेणुलाई संयुक्त उम्मेदवार बनाएपछि कांग्रेसका मतदाता बिच्किएर एमालेतर्फ ढल्किँदा रेणुलाई सकस हुनपुगेको हो।

निर्णायक मानिएको भरतपुर– १९ मा उनलाई पहिले आशातीत मत देखिएन। मतपत्र च्यातिएपछि अब पुनः निर्वाचन भएमा भरतपुर– १९ निर्णायक हो भने मतगणनाको निर्णय भएमा भरतपुर– २० निर्णायक हुनेछ। देवी ज्ञवालीसँग कडा टक्करमा रहेकाले रणनीति बोकेर एक चरण जनताको घरदैलो सकेर बसेकी छन् रेणु।

आइतबार अपराह्न रेणुसँग सम्पर्क गर्दा उनी काठमाडौँ थिइन्। चितवन फर्कने तयारी रहेको बताउने दाहालले सर्वाेच्चको निर्णय नआउञ्जेल ‘पर्ख र हेर’को अवस्थामा रहेको बताइन्। ‘एकदम लामो समय भयो, छिटो टुंग्याउन पाए हुन्थ्यो’, दाहालले भनिन्, ‘काम रोकिएको जस्तो महसुस भइरहेको छ।’ 

उनले एक चरण घरदैलो सकेर मतदातासँग नियमित उपस्थित हुने क्रममा रहेको बताइन्। ऐन, नियम र नजिर हेर्दा मतदानकै निर्णय आउनेमा उनी ढुक्क छन्। 
जे निर्णय भए पनि अदालतको निर्णयमा केही भन्नु छैन भन्छिन् उनी। उनको भनाइमा हिजोको नजिरको कुराले भने मतदान नै देखाउँछ। कानुनलाई आधार मान्दा पनि मतदानको विकल्प नै उपयुक्त हुने उनको भनाइ छ। ‘भोलि केही होला, त्यसैको प्रतीक्षामा छु’, दाहालले भनिन्।

सर्वोचको निर्णयको अड्कलबाजी गर्दै देवी ज्ञवाली
आइतबार अपराह्न भरतपुर महानगरमा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली सोमबार सर्वाेच्चले के गर्ला भन्ने अड्कलबाजी गर्दै थिए। पार्टीको सचिवालय बैठकमा सहभागी हुँदै थिए उनी। सचिवालय बैठकमा मुख्यगरी सोमबार सर्वाेच्च अदालतले कस्तो फैसला गर्ला, फैसला गर्ला कि नगर्ला, फेरि लम्ब्याउला कि, त्यसमा पार्टीले के नीति लिनुपर्ला भन्ने छलफलमा थिए। 

केन्द्रीय कमिटीले निर्वाचनसम्बन्धीको प्रतिवेदनसमेत मागेकाले त्यसको तयारी पनि गर्दै थिए ज्ञवाली। आफ्नो पार्टीका संस्थापक नेता पुष्पलालको ३९औँ स्मृति दिवस मनाउने विषयमा पनि छलफल गर्दै थिए उनी।

‘विधि, परम्परा र अन्तर्राष्ट्रिय अनुभवको आधार सर्वाेच्चले हेर्ला’, ज्ञवालीले थाहाखबरसँग संक्षिप्त कुरा गर्दै भने, ‘राजनीतिक आधारमा चल्यो भने निर्णय अर्काे ढंगबाट आउन सक्छ।’ 

अदालतले गर्न सक्ने निर्णयबारे आँकलन गर्दै थिए उनी। यसो भन्नुको मतलब उनको बुझाइमा विधि प्रक्रियाअनुसार गरेमा पुनः मतगणनाको निर्णय आउँछ। राजनीतिक रूपमा भयो भने पुनः मतदानको निर्णय आउँछ भन्ने नै हो। उनी यस घटनामा कुनै कब्जा नभएको दाबी गर्छन्। उनका अनुसार मतगणनामा कुनै कब्जा भएकै छैन। केही मान्छेले च्यातेका हुनाले अदालतले मुद्धासमेत चलाएको बताउँदै ज्ञवालीले मतगणनालाई नै अगाडि बढाउने आशा रहेको उल्लेख गरे।

श्रीलंकालगायत केही देशमा समेत यस्ता घटनामा पुनः मतगणना भएको उदाहरणसमेत उनले सुनाए। ‘आफैँ मतपत्र च्यात्ने अनि उसैलाई निर्णय दियो भने हामी के भनौँ’, ज्ञवालीले थपे। उनले बेलाबेलामा भरतपुर– १९ पुग्ने गरेको बताए। 

विगतमा जस्तो चुनावी अभियान भरतपुर– १९ मा एमालेले पनि गरेको छैन। ‘मतदानकै निर्णय गरे पनि अदालतले भनेपछि नमान्ने भन्ने होइन, मान्नुप¥यो’, उनले भने, ‘त्यसलाई फेस गर्ने अर्काे कुरा हो।’ 

अपराधीलाई संरक्षण गर्ने गरी भयो भने अर्काे तरिकाले जनतासँग गएर फेस गर्ने कुरा छुट्टै भएको उनको तर्क छ। घरदैलो अभियानमा उनको पनि सक्रियता खासै छैन अहिले।

अदालती उल्झन
निर्वाचन आयोगले आवश्यक अनुसन्धान गरेर पुनः मतदान गर्ने निर्णय गरेसँगै चितवनको भरतपुर– १९ का एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले सर्वाेच्चमा रिट दायर गरेका थिए।

आयोगको निर्णयविरुद्ध परेको मुद्धाको प्रारम्भिक सुनुवाइ गर्दै सर्वाेच्च अदालतले यो विषय जे जस्तो अवस्थामा छ, सो अवस्थाबाट अगाडि नबढाउनू भनेर अन्तरिम आदेश दियो। त्यसपछि पटक पटक पेसी सर्दै आएको छ। जेठ २८ र  जेठ ३० गतेको सुनुवाइ रोकिएर असार ६ गतेका लागि सर्वाेच्चले सुनुवाइको समय तोक्यो।

असार ६ गते सर्वाेच्चले एक साताभित्र निर्वाचनसम्बन्धीका सम्पूर्ण सक्कल कागजात झिकाउन आदेश दियो। त्यसको एक सातापछि असार १३ गते सक्कल कागजात मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने र सहायक गम्भीर घिमिरेले सर्वाेच्चमा पेस गरे।

असार २३ गतेको पेसीसमेत न्यायाधीशको व्यक्तिगत कारणले त्यसै गुज्रियो र भोलि साउन २ का लागि सरेको छ। 

जेठ १४ पछिको अवस्था
जेठ १४ को मध्यरात पौने १२ बजे  भरतपुर– १९ को मतगणना हुँदै थियो। खसेको दुई हजार ८९७ मतमध्ये एक हजार ८०९ मत गनेर सकिएको थियो। योसहित देवी ज्ञवालीले जम्मा ४१ हजार ६४१ मत ल्याएका थिए भने रेणु दाहालले ४० हजार ९०८ मत ल्याएकी थिइन्। उनीहरूको मतान्तर ७३३ थियो। १९ नम्बर वडामा एक हजार ८०९ मत गन्दा रेणु दाहालले ५१ मत बढी ल्याएकी थिइन्।

अब करिव एक हजार ८८ मत गन्न बाँकी थियो। भरतपुर– २० को तीन हजार ३०२ मत गन्न बाँकी नै थियो। रातभर गनेर भोलिपल्ट बिहान गणतन्त्र दिवसमा घोषणा गर्ने तयारी थियो। एकाएक राती पौने १२ बजे मतपत्र च्यातिएपछि मतगणना रोकियो।

त्यसपछि १९ वडाका सबै मतहरू खरेजीको निर्णय निर्वाचन आयोगले ग¥यो। अब उनीहरूको आधिकारिक मत भनेको भरतपुर– २१ गनिसक्दाको मत मात्रै हो। यसअनुसार देवी ज्ञवालीको ४० हजार ९८० र रेणु दाहालको ४० हजार १९६ मत छ। यो मतान्तर ७८४ हो। यही नै अहिलेसम्मको मतान्तर रहेको छ। भरतपुर– १९ मा तीनवटा मतदान केन्द्र छन्। किरणगञ्ज, गुञ्जानगर, शारदानगरलगायत क्षेत्र यी केन्द्रमा समेटिन्छन्।

सर्वाेच्चमा रिट दायर गर्ने एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विकसमेत मतदानकै निर्णय भए पनि छिटो गरे हुने बताउँछन्।

अहिले मतदाता मात्रै होइन, सर्वाेच्चको ढिलासुस्तीले उम्मेदवारहरू समेत दिक्क भएका छन्। अल्झाएर राख्नु भन्दा छिटो निर्णय गरेर टुंग्याउनुपर्नेमा उनीहरूको जोड छ। 

यस्तो छ भरतपुर– १९ को अवस्था
चितवनको भरतपुर महानगरपालिका– १९ कांग्रेसको पकड क्षेत्र हो। यहाँको करिव ६० प्रतिशत मत कांग्रेसको छ। बाँकी ४० प्रतिशतमा २० प्रतिशत मतदाता एमालेका छन् भने बाँकी मत माओवादी केन्द्र, राप्रपालगायत दलको छ। 

कांग्रेसका मतदाताले इमान्दारी देखाएको भए रेणुको फराकिलो मतसहितको विजयी निश्चित थियो। तर त्यो सम्भावना कांग्रेसको आन्तरिक विवादका कारण संभव भएन, जसको फाइदा एमालेलाई हुनपुग्यो। 

भरतपुर– १९ मा देखिएको समस्या र मतपत्र कसले च्यातेको हो र किन च्यातेको हो भनेर मतदातालाई जानकारी दिँदै मत दिएकोमा धन्यवादसहितको अभियान नेकपा एमालेले चलाएको थियो।

उसले अभियानलाई जुनसुकै नारा दिए पनि घरदैलोमा पुगेर मत माग्ने गरेको थियो। बाहिर भने एमालेले मतपत्र च्यात्नेका विरुद्ध भण्डाफोर अभियान चलाएको बताउँदै आएको थियो। तर अहिले दुवै थरी मत माग्ने अभियानमा सेलाएका देखिन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.