|

नेपालगन्ज : बाँकेको बनकट्टी गाविस-६, सूर्यलालपुर्वा र बाबुपुर्वाका अधिकांश बालबालिकामा कुपोषणको समस्या देखिएको छ। कुपोषणका कारण बालबालिकामा उमेर अनुसारको तौल, उचाई नबढ्नुका साथै बौद्धिक विकास समेत छिटो नहुने समस्या रहेको तिवारीपुर्वाका स्थानीय एवम् पूर्वगाविस सचिव बुद्धिसागर मिश्रले बताए।

उनले अधिकांश बालबालिका दुब्लो र पुड्को भएको बताउँदै शारीरिक एवम् बौद्धिक अपाङ्ता समेत भएको जानकारी दिए। ‘खै किन हो यहाँका बालबालिकामा कुपोषणको समस्या देखिँदै आएको छ,’ उनले भने।

बनकट्टी गाविस–बाबुपुर्वाकी रेश्मा पालको १६ बर्ष पुगेपनि उनको उचाइँ साढे ३ फिट मात्र छ। उनको बौद्धिक अवस्था पनि खासै सुधार नभएको उनका काका भक्तु पालले बताए। उनले समयमा बौद्धिक विकास नभएका कारण छोरीलाई विद्यालय नपठाएको बताए।

सोही गाउँका षडानन्द पालको उमेर १० वर्ष पुगे पनि उनको शारीरिक एवम् बौद्धिक विकास जति हुनपर्ने हो त्यति हुन सकेको छैन। उनी राम्रोसँग बोल्न र हिँड्नसमेत सक्दैनन्। बौद्धिक विकास नभएकोले दिमागले काम नगरेको बाबु भक्तु पालले बताए। ‘घरमै बसिरहन्छ, अरु बालबालिकाको भन्दा कम चनाखो छ, अरुलाई १० मिनेट लाग्ने ठाउँमा उसलाई ३० मिनेट लाग्छ,’ उनले भने।

बाबुपुर्वाकै ११ वर्षीय धिरज पालको बौद्धिक विकास छिटो नभएका कारण उनी अहिले कक्षा २ मा अध्ययन गर्छन्। उनीपनि शारीरिक एवम् बौद्धिक हिसावले कमजोर छन्। भनेको राम्रोसँग नबुझ्ने र लठ्यौरो जस्तो भएकोले ढिलो गरी विद्यालयमा भर्ना गरिएको आमा मायादेवी पालले बताइन्।

एउटै गाउँका १० बढी बालबालिका कुपोषित

बाबुपुर्वामा मात्र १० वढि बालबालिका कुपोषण समस्याबाट ग्रसित रहेको स्वयम्सेविका जानकी पालले बताइन्। उनले कुपोषित बालबालिको उमेर अनुसारको तौल र उचाइँ नभएको, शारीरिक एवम् बौद्धिकतामा कमजोर भएको बताइन्। उनले कुपोषणका कारण बालबालिकालाई विभिन्न किसिमका रोग लाग्ने गरेको बताइन्।

बाबुपुर्वा र सूर्यलालपुर्वाका सर्वसाधारणलाई खान समस्या नभएपनि पौष्टिक आहार बनाउने विधि नजानेका कारण कुपोषणमा पर्ने गरेको स्वयम्सेविका पालले बताइन्। पोषिलो खाने कुरा खान नपाएकै कारण आमाको दुध पर्याप्तमात्रामा खान नपाउने र आमाले छिटोछिटो बच्चा जन्माएका कारण पनि बालबालिकामा पोषणको कमी हुने गरेको उनले बताइन्।

उनले आमाहरुलाई बच्चालाई दुध र पोषिलो खानेकुरा खुवाउने विधि समेत नभएको बताइन्। ‘बच्चा रोएपछिमात्र दुध खुवाउनु पर्छ भन्ने परम्परागत सोँचाइ अहिले पनि छदैछ,’ पालले भनिन्।

अशिक्षित परिवारका बालबालिमा कुपोषण

अशिक्षित र पछाडी परेका समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको छ। खटिक, पाल, काँदु, गोडिया लगायत पछाडी परेका समुदायका बालबालिकामा कुपोषणको समस्या देखिएको स्थानीय एवम् नेपाल सद्भावना पार्टी बाँकेका अध्यक्ष फुलचन्द्र तिवारीले बताए।

उनले सरसफाई र पोषिलो खाना नपाएकै कारण बालबालिकामा कुपोषण हुने गरेको बताए। ‘सरसफाई नहुँदा बालबालिकालाई विभिन्न किसिमका रोग लाग्ने र पछि गएर कुपोषण हुने गरेको छ,’ उनले भने।

गरिवीको रेखामुनी रहेका र पछाडी परेका परिवारले अण्डा, फलफुल किनेर खान नसक्ने गरेको बताए। उक्त गाउँमा एक वर्ष अघि पोषण कार्यक्रम संचालन भएको थियो। कार्यक्रम संचालन भएको बेला बालबालिकामा केहि सुधार भएपनि पुनः समस्या देखिएको स्वयम्सेविका जानकीले बताइन्।

पुनःस्‍र्थापना गृहमै पुग्दैनन् बालबालिका

कुपोषणमा परेका बालबालिकाको स्याहार सुसार र उपचारका लागि सरकारले भेरी अंचल अस्पतालमा पोषण पुनस्र्थापना गृह संचालनमा ल्याएको छ। तर, उक्त पुनस्र्थापना केन्द्रमा बाँकेका बालबालिका एकदमै कम आउने गरेको पुनस्र्थापना गृहकी प्रमुख विमला पौडेलले बताइन्। उनले आर्थिक वर्ष २०७३÷०७४ को हालसम्म जम्मा ६३ जना बालबालिकाले मात्र सेवा लिएको जानकारी दिइन्।

उनले विक्रम सम्वत् २०६६ सालदेखि हालसम्म १ हजार ८ जना बालबालिकालाई सेवा दिएको बताइन्। गरिव, अशिक्षित, पछाडी परेका समुदायका बालबालिका पुनस्र्थापना गृहमा उपचारका लागि एकदमै कम आउने गरेको उनले बताइन्। ‘पोषणको बारेमा जानकारी नभएका कारण गरिव, अशिक्षित र पछाडी परेका ग्रामिण भेगका सर्वसाधारणहरु बालबालिका लिएर पुनस्र्थापना गृहमा एकदमै कम आउने गरेका छन्,’ उनले भनिन्।

पोषिलो खानाको जानकारी नहुँदा कुपोषण

बालबालिकालाई लगातार पखाला लाग्ने, ज्वरो, रुघाखोकी लागेपछि पोषण तत्वको कमी हुने गर्दछ। आमाको दुध समयमा खान नपाउने, ६ महिनापछि आमाको दुधसँगै पोषिलो खाने कुरा खान दिनुपर्ने चिकित्सक बताउँछन्। तर, ग्रामिण भेगका बासिन्दालाई पोषिलो खाने कुराको जानकारी नभएको पोषण पुनस्र्थापना गृहकी स्टाफ नर्स सरस्वती आचार्यले बताइन्। ‘नभएर होइन नजानेर आफ्ना बच्चालाई पोषणयुक्त खाने कुरा नखुवाएको देखिन्छ,’ उनले भनिन्।

खान मन नगरेर बच्चा डुब्लाएर यहाँ ल्याएको अभिभावकले भन्ने गरेको उनले बताइन्। उनले बच्चालाई कम्तिमा आधा घण्टा खाना खुवाउनुपर्ने जानकारी दिइन्। ‘बच्चाले खान मानेन भने फकाएर, हिडाएर, गीत गाएर वा रमाइलो गरेर भएपनि खाना खुवाउनु पर्छ,’ उनले भनिन्।

समयमा खाना नखुवाउने, पोषिलो खाना खान नदिने र सरसफाईको कमीका कारण पनि बालबालिकालाई कुपोषण हुने गरेको पोषण पुनस्र्थापना गृहकी अर्की स्टाफ नर्स विमला शर्माले बताइन्। उनले खाना खाने उमेर समूहका बच्चालाई ३–३ घण्टामा र दुध खाने बच्चालाई २–२ घण्टामा पोषणयुक्त खाने कुरा खुवाउनु पर्ने जानकारी दिइन्।

बच्चा रोएपछि मात्र खानेकुरा खुवाए हुन्छ भन्ने सोँचाईका कारण पनि बच्चाहरु कुपोषणमा पर्ने गरेको उनले बताइन्। ‘बच्चा रोएन भन्दा पनि किन खाएन भनेर सोँच विचार गरी आफैले जानेर खाने कुरा खुवाउनु पर्छ,’ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.