|

बाँके : पूर्व–पश्चिम राजमार्गको अमिलिया–अगैया सडक खण्डमा रातदिन गाडी घुइँकिन्छन्। चौविसै घण्टा गाडीको सुविधा छ, तर सुगम ठाउँ भनेर चिनिएको राप्ती–सोनारी गाउँपालिका–१, खासकुश्माका बासिन्दाको बिजुली बाल्ने सपना भने अधुरै छ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने राप्ती–सोनारी गाउँपालिका–७, ८ र वडा नं. २, कचनापुरमा विद्युत् सेवा पुगेपनि सोही क्षेत्रमा रहेको साविक खासकुश्मा गाउँपालिकामा भने विद्युत पुग्न सकेको छैन। राजमार्गमा पर्ने शमशेरगन्ज, ओभरी, ढकेरी र अगैयामा विद्युत् सुविधा छ। खासकुश्मादेखि पूर्वमा रहेको राजमार्गमै पर्ने दाङ्गको अमिलियामा पनि विद्युत सुविधा छ।

विद्युत सुविधा नभएकै कारण साविक खासकुश्मा गाविसको सदरमुकाम कुसुम बैरिया बजार फस्टाउन सकेको छैन। विद्युत नहुँदा ब्यवसाय फस्टाउन नसक्दा ब्यापारीहरु अन्यत्र सरेर गएको स्थानीय कमल कार्कीले बताए। उनले विद्युत सुविधा नहुँदा चिसो पेय पदार्थका साथै मदिराजन्य बस्तु विक्रि गर्ने बातावरण नबनेकै कारण ब्यापारी बसाई सेरेर अन्य सहरमा गएको बताए।

विद्युत सुविधा नहुँदा स्थानीयले सौर्यउर्जा प्रयोग गरेर केही साना पसल तथा होटेल संचालन गरिरहेका छन्। भम्का, साँैरी, जरुवा, बैरिया, लौकी लगायतका गाउ“का स्थानीय अझैसम्म पनि परम्परागत टुकी प्रयोग गर्न बाध्य छन्।

विद्युतको विकल्पमा सौर्यऊर्जा प्रयोग

उज्यालोका लागि यहाँका हुने खानेले सौयउर्जा प्रयोग गर्छन्। नहुनेहरु अहिले पनि टुकीबाट गुजारा गर्न बाध्य छन्। ‘हुनेखानेले सौर्यउर्जा प्रयोग गरिरहेका छन्, तर बिपन्न घरधुरी परम्परागत टुकीले निर्बाह गर्न बाध्य छन्,’ स्थानीय भुवन खुनाले भने।

बिद्युत सुबिधा नहुँदा होटल ब्यवसाय गर्न असजिलो भएको होटल संचालक बताउँछन्। विद्युत नहुँदा अबेरसम्म होटेल संचालन गर्न नसकेको कुसुम बैरियामा होटल ब्यवसाय गर्दै आएका नरसिंह बहादुर खड्काले बताए। ‘विद्युत भएको भए राति अवेरसम्म पनि होटल संचालन गर्न सकिन्थ्यो, आम्दानी पनि बढ्थ्यो, अरु होटल पनि थपिने थिए,’ उनले भने, ‘विद्युत नभएर भएका होटल पनि सरेर अन्यत्र गइसकेका छन्।’

निकुञ्जका कारण रोकियो विद्युतीकरण

केही बर्षअघि केन्द्रीय लाइन बिस्तार गर्ने भन्दै विद्युत प्राधिकरणले काम अगाडी बढाएपछि बत्ती बाल्न पाइने आशा स्थानीयमा पलाएको थियो, तर बा“के राष्ट्रिय निकुञ्जले सडक आसपासका क्षेत्रमा रुख काट्न नदिएपछि काम रोकिएको छ। दुई बर्षअघि दाङको हापुरेमा संचालन हुन लागेको एक सिमेन्ट उद्योगले कुसुम बैरियामा बिद्युत पुर्‍याउने सर्तसहित सबस्टेसन राखेको छ।

निर्माणको जिम्मा लिएका ठेकेदार भागेपछि स्थानीयको बिजुली बाल्ने धोको अझै पूरा हुन सकेको छैन। विद्युतिकरण गर्ने भन्दै केही स्थानमा गाडिएका पोलहरु पनि अलपत्र अबस्थामा छन्। आमनिर्वाचन, संविधानसभा निर्वाचन र स्थानीय निकायको निर्वाचनका बेला स्थानीयले विद्युतिकरण गर्नेलाई भोट दिने बताएका थिए।

त्यतिबेलाका उम्मेदवार र राजनीतिक दलका नेताले विद्युतिकरण गरिदिने भन्दै भोट मागेका थिए। तर, जितेर गएपछि यस विषयमा कुरा नउठ्ने गरेको स्थानीय अगुवा थान बहादुर विकले बताए। ‘भोट माग्ने बेला विद्युतिकरणका नारा लगाउँछन्, जितेर गएपछि यस विषयमा कुरा नै गर्दैनन्,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.