|

रुपन्देही : महामानव गौतम बुद्धको जन्मस्थल रुपन्देहीको लुम्बिनी क्षेत्र एक सातादेखि अँध्यारो छ। लुम्बिनी विकास कोष क्षेत्रमा रहेको ट्रान्सफर्मर जलेपछि विद्युत आपुर्ति ठप्प भएको हो। लुम्बिनी विकास कोष क्षेत्रबाहिर थोरै समय विद्युत आपुर्ति भए पनि विकास कोष भित्र बिजुली नहुँदा  मायादेवी मन्दिर तथा बिहारमा अन्धकार छ। विद्युत् नआएपछि वैकल्पिकरुपमा चार्ज लाइट, मैनबत्तीले काम चलाइएको छ। 

तार सर्ट भई मायादेवी मन्दिर पूर्वतर्फ रहेको ट्रान्सफर्मर जलेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराइले जानकारी दिए। गर्मीको समयमा विद्युत् आपुर्ति बन्द हुँदा बिहारमा धार्मिक गतिविधि सञ्चालन गर्नसमेत समस्या भएको राजकीय बुद्ध बिहारका प्रमुख भिक्षु सागर धम्मले बताए। अहिले लुम्बिनीमा भिक्षुहरु वर्षावासमा छन्। 

एक सातादेखि रोकिएको विद्युत् आपुर्ति सुचारु गर्न ट्रान्सफर्मर मर्मतका लागि विदुत् प्राधिकरण कार्यालयमा पटक–पटक आग्रह गरिएपछि अहिलेसम्म मर्मत हुन नसकेको भिक्षु धम्मले बताए।

विकास कोषका योजना प्रमुख भट्टराइले  विद्युत आपुर्ति नहुँदा विकास कोषलाई समेत समस्या भएको भन्दै ट्रान्सफर्मर मर्मतका लागि विद्युत् प्राधिकरणलाई जानकारी गराइसकेकाले छिट्टै मर्मत हुने विश्वास व्यक्त गरे। ट्रान्सफर्मर मर्मतका लागि लुम्बिनीमा दक्ष प्राविधिक नभएकाले प्राधिकरणले प्राविधिक पठाएरमर्मत भएपछि विद्युत आपुर्ति सुचारु हुने उनको विश्वास छ।

विद्युत आपुर्ति बन्द हुँदा लुम्बिनीस्थित सशस्त्र प्रहरी कार्यालय, दंगा प्रहरी कार्यालय, पुरातत्व शाखालाई समेत कामकाजमा समस्या भएको छ।

त्यसो त लुम्बिनी क्षेत्रमा पटक–पटक भइरहने लोडसेडिङ र अनियमित विद्यु्त आपुर्तिले व्यापारी तथा व्यवसायी र स्थानीयहरु आजित छन्। कहिले हाई भोल्टेजका कारण विद्युतीय उपकरणहरु समेत जलेर खराब भएको र त कतिले लो भोल्टेजका कारण विद्युतीय समाग्री नचलेर समस्या भएको स्थानीयको गुनासो छ।

हावाहुरीले तार सर्ट भई ट्रान्सफर्मर जलेका कारण मर्मतको लागि समय लागेका नेपाल विद्युत् प्राधिकरण लुम्बिनी शाखा प्रमुख योगेन्द्र पाण्डेयले बताए। जलेको ट्रान्सफर्मर छिट्टै मर्मत गरी विद्युत् सुचारु गरिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.