|

काठमाडौं : आईसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। सिंगापुरमा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलीलाई ४ विकेटले पराजित गर्‍यो।

बलर हावी भएको खेलमा ब्याट्सम्यानहरुले भने पूरै अवधिभर संघर्ष गर्नुपर्‍यो। ७३ रनको झिनो लक्ष्य १७ ओभर ३ बलमा भेट्टाउने क्रममा नेपालले ६ विकेट गुमायो। नेपालको जितमा प्रनित थापा मगरले सर्वाधिक २३, अनिल साहले १९ तथा रोहितकुमार पौडेलले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन्।

सिंगापुरका आर्यमान सुनिल र गोपिनाथ अचरले समान २ तथा रोहन रंगारञ्जन र अंश भर्गाभाले १/१ विकेट लिए।

यसअघि कप्तान सन्दीप लामिछानेले ८ ओभरमा २१ रन दिएर ५ विकेट लिएपछि सिंगापुर सस्तैमा समेटिएको थियो। सिंगापुरका ब्रिगु अय्यरले ४२ तथा सिन अग्रवालले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि सन्दीपका अलावा सहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए।

प्रतियोगिताअन्तर्गत अर्को खेलमा अफगानिस्तानले मलेसियालाई पराजित गरेको छ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.