|

विराटनगर : सुनसरीका भीमबहादुर देवानले मोरङको बुढीगंगा गाउँपालिकामा तीन विगाहा जग्गा भाडामा लिएर  कागती खेती सुरु गरेको एक वर्ष भयो। कृषि विभागबाट सेवा नृवित्त भएर कृषि कर्ममा लागेका उनी नेपाली बजार भारतीय कागतीमा निर्भर रहेका कारण आफूले यसको खेती सुरु गरेको बताउँछन्।

मोरङ जाँतेका कृषक विनोद वस्तीले विगत तीन वर्षदेखि कागती खेती सुरु गरेका छन्। तीन विगाहा क्षेत्रफलमा लगाइएको कागती गत वर्षदेखि फल्न सुरु गरेको छ। गत वर्षमात्रै उनले दुई लाख रुपैयाँको कागती बिक्री गरे। काठमाडौंको बजार र जाँतेका स्थानीय बजारमा कागती बिक्री गर्ने उनलाई बजारको पनि दुख छैन।

नेपालकै बजारमा सजिलै बिक्री गर्न सकिने र आम्दानी पनि मनग्य हुने भएकाले जिल्लामा कागती खेती गर्ने किसान बढ्न थालेका छन्।

मोरङ सिसवनी बडहराका किसान ढालुराम माझीले त कागती खेती गरेर जिल्लामा नमुना किसानको  पहिचान बनाइ सकेका छन्। तीन विगाहामा फलेको कागतीबाट ढालुरामले गत वर्ष दाना मात्रै १४ लाखको, ६ लाख बराबरको कागतीको विरुवा मात्रै बिक्री गरेको बताउँछन्। यस वर्ष कागतीको दाना, विरुवा  र अचार बिक्री गरेर ४० लाख बराबरको आम्दानी हुने उनले दाबी गरे।

कागतीबाट आम्दानी पनि राम्रो हुने र बजारको पनि अभाव नहुने हुदा जिल्लाका धेरै किसानहरु कागति खेती तर्फ आकर्षित भएको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशीकुमार चौधरीले बताए।

पहिले करेसाबारीमा मात्र सीमित कागतीको खेती मोरङको करिब १ सय ७० हेक्टर क्षेत्रफलमा फैलिएको छ।  सिजुवा, टाँडी, मधुमल्ला, कटहरी, विराटनगरलगायतका जिल्लाका विभिन्न स्थानमा बगैँचाका रूपमा कागती खेती हुन थालेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको याङ्शिला र पाटी गाउँमा कागतीको पकेट क्षेत्र घोषणा गरी थप २० हेक्टर क्षेत्रफलमा कागती खेती सुरु गरिएको कृषि कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.