मासिक १ लाखको कारोबार, ४ जनाले पाए गाउँमै रोजगार

|

बैतडी : बैतडीमा उत्पादन भएको हर्वल साबुन (बैतडी साबुन) को माग ह्वात्तै बढेको छ। स्थानियस्तरमा पाईने स्रोत–साधनबाटै बनेको ओखतियुक्त भएकाले ‘बैतडी साबुन’को माग अत्याधिक बढेको हो। जिल्लाको श्रीकेदार–२, पिपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै अत्याधिक खपत हुने गरेको छ।

 ‘बैतडी साबुन’को गुणस्तर बृद्धि हुँदै गएपछि अहिले जिल्लाका विभिन्न बजारसँगै छिमेकी डडेल्धुरा, तराईका धनगढी, महेन्द्रनगर र भारतीय सीमा बजार झुलाघाट–पिथौंरागढबाट समेत माग हुने गरेको उद्योगका सञ्चालक सुरेन्द्र कलौनीले बताए। 

मानव स्वास्थ्यका लागि उपयोगी मानिने चिउरीको घिउबाट बन्ने साबुनले स्थानीय बजारमा महत्व पाएको छ। चिउरीको घिउलाई यस क्षेत्रका स्थानियले ओखतिका रुपमा प्रयोग गर्ने गरेका छन्। चिउरीको घिउसँगै स्थानीयस्तरमा पाइने जडीबुटी इन्नको पनि यसमा प्रयोग हुने गरेको छ। यस्तै नरिवल तेल, रसायन विनाको सूर्यमुखी तेल, निमको हर्वल तेल लगायतका जडीबुटीको मिश्रणबाट साबुन बन्ने गरेको सञ्चालक कलौनीले बताए।

‘बैतडी साबुन’ छालाको लागि उपयुक्त भएको उनले बताए। ‘यसको प्रयोगले घाउ, खटिरा, डण्डिफोर निको हुने र कपाल झर्नाबाट समेत रोक्छ।’ कलौनीले भने। त्यसैकारण माग बढेको उनको दाबी छ। माग बढेसँगै अझै गुणस्तर वृद्धिमा ध्यान दिने सञ्चालक कलौनीले बताए।

उत्पादन भएकोमध्ये करिव ७० प्रतिशत साबुन स्थानिय बजारमै खपत हुने गरेको छ। साबुन शत–प्रतिशत प्राकृतिक र विभिन्न जडीबुटीबाट बनेकोले सबैको रोजाईमा परको स्थानिय व्यापारी कलम ठगुन्नाले बताए। ‘छाला सम्बन्धी रोग निको हुने भएकाले सबैले यही साबुन किन्छन्’ उनले भने।

सुरुमा साबुन मासिक एक हजार पिस मात्रै उत्पादन हुने गरेको थियो। अहिले दैनिकरुपमै ४ सय देखि एक हजार पिस साबुन उत्पादन गरेर विक्रीविरण हुने गरेको सञ्चालक कलौनीले बताए। ‘कुनैदिन एक हजार पिस सम्म माग हुन्छ।’ उनले भने, ‘माग त्याभन्दा बढी पछि आएको छ तर उत्पादन गर्न सकिन्न।’

माग बढ्दै जादा उत्पादन बढाउन चाहेको तर आफुसँग लगानी नभएको उनको भनाई छ। लगानी लगाउन ईच्छुक उद्यमीसँग समन्यव गरी उत्पादनमा अझै वृद्धि गर्ने उनको लक्ष्य छ।

मासिक १ लाखको कारोबार, ४ जनाले गाउँमै रोजगार पाए

२०७१ सालमा स्थापना गरिएको हर्बल साबुन उद्योगका उद्यमीले लेबल लगाएर बजारमा विक्रिवितरण गरिरहेका छन्। सिर्जना हर्वल लघु उद्योगको ९ जना उद्यमीको समूहले कलौनीलाई साबुन उद्योग सञ्चालनको जीम्मेवारी दिएपछि उनले जिविसको १ लाख ९० हजार लघु उद्यम सामाजको डेढ लाख र समुहको २ लाख रुपैया लगानी गरेर उद्यागे सञ्चालनमा ल्याएका हुन्।  उद्योगमा अहिले ४ जनाले रोजगारी पाएका छन्। गाउमै रोजगारी पाएपछि स्थानिय कृतराज भट्ट अहिले दंग परेका छन्।

खुद्रा प्रतिपिस साबुनको ३० रुपैयाँ र दर्जनको ९ सय  सय रुपैयाँका दरले बिक्री गर्ने गरेको सञ्चालक कलौनीले बताए। सबुन उद्योगबाट अहिले मासिक १ लाख रुपैयाभन्दा बढीको कारोवार हुने गरेको उनले बताए।  स्वास्थ्यमा निकै राम्रो मानिने भएपनि प्रयोग विधि, महत्व र प्रचारको अभावमा उद्योगबाट उत्पादित चिउरीको साबुनले सुरुवातमा बजार नपाउदा निराश उद्यमीहरु अहिले उपयोगिता बढेपछि हर्षित भएका छन्।

अत्याधिक चिउरी पाइने जिल्लाको श्रीकेदारसँगै पुर्चौडी क्षेत्रबाट संकलन गरी उद्योग संचालनमा ल्याइएको हो।  अहिले उद्यागमा दैनिक १० किलो चिउरीको घिउ खपत हुनेगरेको छ। चिउरी घिउ प्रतिकेजी २१० रुपैयामा खरिद गर्ने गरेको सञ्चालक कलौनीले बताए।

 परम्परागत काठको कोलबाट चिउरी पेल्ने गरिएको छ। आधुनिक चिउरी मिल नहुदा चिउरीको घिउ उत्पादनमा ह्रास आउने गरेको उनको भनाई छ। ‘स्थानिय कोलमा पेल्दा ५० प्रतिशत तेल निस्किदैन।’ उनले भने, ‘आधुनिक चिउरी मिलका लागि विभिन्न निकायसँग अपिल गरेका छौ।’बैतडी साबुन उत्पादन गर्ने कलौनीलाई घरेलु तथा साना उद्योग कार्यालय बैतडीले केही दिनअघि उत्कृष्ट उद्यमी पुरस्कारबाट पुरस्कृत गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.