|

गोरखाः भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन। जिल्ला प्रशासन कार्यालयमा राहदानीको फर्म भर्ने युवाहरूको संख्या पनि त्यत्ति नै छ। भूकम्पको केन्द्रविन्दु गोरखामा भूकम्पपछि घर पुनर्निर्माणमा दक्ष जनशक्तिको अभाव पनि उत्तिकै खड्किरहेको छ। 

विभिन्न संघसंस्थाले घर बनाउन केही दिनको तालिम दिएर दक्ष जनशक्ति उत्पादन गरेको बताउने गरे पनि उनीहरू केही दिनमा न दक्ष हुन्छन्, न गाउँमा आवश्यक कामदार नै उत्पादन भएका छन्। 

तर, गोरखाका भूकम्पले ध्वस्त गाउँहरूमा घर निर्माणका लागि तराई–मधेसका कामदारहरू आउने क्रम बढेको छ। पहाडका नागरिक कामका लागि विदेशी भूमिमा होमिइरहेका बेलामा मधेसका कामदाहरू भने पहाडमा घर बनाउन उक्लिरहेका छन्। 

विदेशको भन्दा राम्रो कमाइ आफ्नै देशको पहाडतिर हुने भएपछि लामो समयदेखि बाराको कलैयाका धीरलाल ठाकुर गोरखामा आएर काम गर्दै छन्। ‘यहाँ काम गर्दा कमाइ अच्छा नै छ’, ठाकुर भन्छन्, ‘विदेश किन जाने? यहाँ नै महिनाको ३० हजारभन्दा धेरै त खाएर र बसेर नै कमाइ हुन्छ।’ 

भूकम्प गएपछि उनलाई काम भ्याई नभ्याई छ। पहिले बजारहरूमा मात्रै काम हुने गरेकामा अहिले गाउँमा पनि पक्की घर बनाउन आफूलाई बोलाउन थालिएको उनी बताउँछन्। 

ठाकुरकै नेतृत्वमा पनि गोरखामा १७ जनाको टोली घर बनाउने काममा खटिइरहेको छ। तराई मूलका नागरिक विकास निर्माणका पूर्वाधार निर्माण, सडक निर्माण, जलविद्युत् कम्पनीको निर्माणलगायतका क्षेत्रमा धेरै रहेका छन्। तराई मूलका नागरिकलाई पहिला नै कामका लागि आएकाले सम्पर्क गरेर ल्याउने गरेका छन्। 

तराई मूलका नागरिक वर्षमा एक पटक अर्थात् पहाडी क्षेत्रमा काम रोकिएको समयमा मात्रै घर जाने गरेका छन्। दशैँ, तिहारको समयमा काम रोकिने भएकाले तराई मूलका नागरिक दशैँमा घर गएपछि छठ मनाएर पुनः काममा फर्किने गरेका छन्। 

सदरमुकाममा संरचना निर्माणदेखि गाउँमा सडक बनाउने काममा समेत तराईका मजदुर भेटिन्छन्। पहाडका कामदारहरू भने मधेसका कामदारको संख्याको तुलनामा केही मात्र रहेका छन्। हाल गोरखामा करिब चार हजारको हाराहारीमा तराईका मजदूरले काम गरिरहेका छन्। ‘तराईका मजदुर बिहानदेखि बेलुकासम्म काम गर्छन्’, निर्माण व्यवसायी चन्दनबाबु खत्री भन्छन्, ‘उनीहरूको काम रहरलाग्दो हुने र कामसमेत छिटो सम्पन्न हुने भएकाले निर्माण व्यवसायीको रोजाइमा तराई मूलका कामदार रहने गरेका छन्।’ 

दैनिक एक हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुने र भत्ता तथा  ओभरटाइम पनि पाउने भएपछि तराई मूलका नागरिक निरन्तर काममा लागिरहने निर्माण व्यवसायीको भनाइ छ। राष्ट्रिय गौरवका आयोजनादेखि सडक, पुल, ठूलाठूला संरचना निर्माणलगायतका क्षेत्रमा तराई मूलका कामदार धेरै रहेका छन्।

गोरखामा पनि निर्माणको अधिकांश काममा तराई मूलका कामदारहरू रहेको निर्माण व्यवसायी संघ गोरखाले जनाएको छ। संघका अनुसार मधेसका कामदारहरू गोरखाको तल्लो क्षेत्रदेखि उच्च पहाडी क्षेत्रहरूमा समेत काम गर्न पुगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.