|

 बाँके : रोपेको धान सुक्न थालेपछि नेपालगन्ज उपमहानगरपालिका–९, खटकनपुर्वाका त्रिभुवनप्रसाद खटिक चिन्तित भएका छन्। धानको ब्याड छिप्पिन थालेपछि बोरिङबाट सिँचाइ गरेर धान रोपेका त्रिभुवनको धान खेतमै सुक्न थालेको छ।

मनसुन कमजोर भई पर्याप्त वर्षा नभएपछि बाँकेका अधिकांश जमिन बाँझै छन्। भने, खेतमा रहेका धानक ब्याड र छिट्पुट रोपेका धान पनि खेतमै सुक्न थालेका छन्। ‘बल्लतल्ल रोपेको धान पनि खेतमै सुक्न थाल्यो, पानी नपाएर धान हरियो हुन छाडेर पहेंलो हुँदै गएका छन्,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका–९, शान्तिनगरका मोहरमल्ली खाँको खेतमा रहेको ब्याड पनि पहेँला हुँदै गएका छन्। पानी नपाएर ब्याड भएको खेतमा ठूला ठूला चिरा परेका छन्। ‘रोप्नको लागि तयार भएको ब्याड पानी नपाएर पहेंलो भएको छ,’ उनले भने।

पानी नपाएर यहाँका किसान धान रोप्न पाएका छैनन्। धानको ब्याड र जमिन जोतेर तयार पारेपनि पानी नभएकै कारण रोँपाई गर्न नसकिएको नेपालगन्ज उपमहानगरपालिका–१३, बुलबुलियाका कमालु खाँले बताए। उनले पानी नभएका कारण खेत बाँझो रहेको बताए। उनले गत बर्ष यस अवधिमा आधा रोँपाई गरिसकेका थिए।

बाँकेमा १९ प्रतिशत मात्र धान रोपाइँ

असार सकिए पनि बाँकेमा १९ प्रतिशत मात्र धान रोपाइँ भएको छ। खेतीयोग्य जमिनका ८१ प्रतिशत जमिनमा अझैं रोपाइँ गर्न बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। अघिल्ला वर्षमा असारको अन्तिम सातामै ७० प्रतिशतभन्दा धेरै रोपाइँ हुने गरेको बाँकेमा यसवर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा असार सकिए पनि जिल्लामा १९ प्रतिशत मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रसार अधिकृत धन वहादुर पुनले जानकारी दिए।

केही स्थानबाहेक अधिकांश स्थानमा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता भएका कारण रोपाइँ हुन नसकेका पुनले बताए। बीउ छिपिएर खेर जान लागेपछि किसानहरु चिन्तित बनेका छन्। ‘ब्याड बुढो भइसक्यो, अवको ५ दिनभित्र रोप्न नपाउने हो भने काम नलाग्ने हुन्छ,’ बुलबुलियाका कृषक कमालु खाँले भने।

बैजापुर र फत्तेपुरमा मात्र सिँचाइ सुविधा

असार सकिदासम्म बाँकेको फत्तेपुर, बैजापुर, बिनौना, कचनापुर, महादेवपुरी, चिसापानी, नौबस्ता, टिटिहिरीया, राधापुर, बेतहनी, होलिीया, बनकट्टीका केहि क्षेत्रमा मात्र रोपाइँ भएको छ। ‘आकासे भरमा धान खेति हुने अधिकांश ठाउँका खेत बाँझो छन्, एक हप्ताभित्र रोपाइँ नहुने हो भने उब्जनी राम्रो नहुने प्रवल सम्भावना छ,’ प्रसार अधिकृत पुनले भने।

बाँकेमा रहेको ३६ हजार ५ सय हेक्टर जमिनमा धान खेति हुँदै आएको छ। हालसम्म ७ हजार हेक्टरमा मात्र रोँपाई सकिएको कृषि विकास कार्यालयले जनाएको छ। सिँचाई सुविधा नभएका ठाउँका किसानले बोरिङ्ग र पम्पसेट चलाएर धान रोपाइँ गरिरहेका छन्। बाँकेको फत्तेपुर र बैजापुरमा मात्र सिँचाई सुविधा छ। राप्ती नदीबाट लगेको नहरले साविकका ति दुई गाविसमा सिँचाइ सुविधा भए पनि अन्य ठाउँका कृषक आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.