|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी जनताले चाहेजस्तो हुन नसक्नु नै पराजयको मुख्य कारण भएको बताएका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबारबाट सुरु भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकको सुरुमा ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 'माओवादी जनताले खोजेजस्तो हुन सकेन, जनताले यस्तो माओवादी खोजेको होइन,' अध्यक्ष प्रचण्डले भने, 'जनचाहनाअनुसार हुन नसक्नु नै पराजयको मुख्य कारण हो।'

साथै उनले चुनाव हार्नुमा आन्तरिक कारणमात्रै नरहेको जिकिर गरे। माओवादीलाई कमजोर बनाउन परिवर्तन नचाहने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्ति नै लागेको उनको आरोप छ। ती शक्तिहरुले परिवर्तन संस्थागत भएको हेर्न नचाहेको प्रचण्डको भनाइ थियो।

गुट विघटन गरौँ, होइन भने घोषितरुपमै गुट चलाउँ

अध्यक्ष प्रचण्डले पार्टीभित्रको गुट-उपगुटप्रति पनि असन्तुष्टि पोखे। 'आजैबाट जुट विघटन गरौँ, होइन भने घोषित रुपमै गुट चलाउँ,' उनले भने। करिब डेढघण्टा बोलेका अध्यक्ष प्रचण्डले कुनै लिखित प्रस्ताव भने पेश गरेका छैनन्।

अध्यक्षको ब्रिफिङपछि जिल्ला इञ्चार्जहरुले रिपोर्टिङ गर्ने क्रम सुरु भएको छ। बैठकमा सचिवालय सदस्य र ७५ वटै जिल्लाका इञ्चार्जहरु सहभागी छन्। जिल्ला इञ्चार्जहरुको रिपोर्टिङपछि पुन: अध्यक्षले बोल्ने कार्यसूची छ।

बैठक तीन दिनसम्म चल्ने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.