आवश्यकता इतिहासमा संशोधनको

|

काठमाडौँ: गुफाहरू खोज्दै हिँड्ने, तिनका भित्तामा ढुंगाले खोपिएका अक्षर र चित्रमा इतिहास पढ्ने, नेपालको इतिहास कति पुरानो रहेछ भनेर खोज्ने प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठ (६०) लाई सम्पदा खोजमा लगाउने उनका गुरुको तीन दशकअघिको आग्रह थियो।

तीन दशकअघि, २०४४ सालताका पुरुषोत्तम विद्यावारिधि गर्दै थिए। उनका गुरु धनबज्र बज्राचार्य थिए। सांस्कृतिक र पुरातात्त्विक सम्पदामा चाख राख्ने धनबज्रले पुरुषोत्तमलाई एक आग्रह गरेका रहेछन्, 'भक्तपुरका बारेमा अहिलेसम्म अनुसन्धान हुन सकेको छैन। तपाईं त्यहाँको स्थानीय पनि हुनहुन्छ, खोजमा लाग्नुपर्‍यो। स्थानीयले जति गर्नसक्छ बाहिरकोले त्यति गर्न सक्दैन।' गुरुको यो आग्रहले गुफा, मूर्ति, तिनमा कोरिएका अक्षर र संकेतमा जीवन पढ्ने बाटोमा लगाएको पुरुषोत्तम सम्झन्छन्।

काठमाडौँ उपत्यकामा मानव विचरणको इतिहास १० लाख वर्ष पुरानो रहेको अन्वेषणबाट प्राप्त प्रारम्भिक तथ्य उल्लेख भएको पुस्तक ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’का लेखक पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरका बासिन्दा हुन्। गुफा चहार्दै र पुराना मूर्तिहरू पढ्दै-पढाउँदै हिँड्ने उनलाई भेट्न गत शुक्रबार थाहाखबर भक्तपुर पुग्यो। उनले दिएको ठेगाना पछ्याउँदै जाँदा उनी गुफा जस्तै गल्लीबाट हामीलाई लिन आइपुगे। उनलाई पछ्याउँदै उनको अध्ययन र अन्वेषणबाट फेला परेका सामग्रीलाई झन् निखार्ने कोठामा पुग्यौँ हामी, जहाँ नेपाल र विश्वका पुरातत्त्व, इतिहास, अन्वेषण, भूगोलबारेका पुस्तकहरू थिए।

उनी भने लुम्बिनी विश्वविद्यालयका एक विद्यार्थीको विद्यावारिधि (पीएचडी)को शोधपत्र (थेसिस) जाँच गर्दै रहेछन्। थेसिस जाँचको काम थाँती राखेर उनी नेपालका गुफा र सांस्कृतिक सम्पदाको बारेमा लेखिएको र नेपाली साहित्यको सम्मानित पुरस्कार मदन पुरस्कारको २०७३ को श्रेष्ठ सूचीमा परेको कृति ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’बारे कुरा गर्न तयार भए।

सम्पदा: खुला आकाशमुनिका खुला किताब

पुरुषोत्तम श्रेष्ठ प्राध्यापक मात्रै मान्दैनन् आफूलाई, उनी आफू विद्यार्थी भन्न रुचाउँछन्। उनी विश्वविद्यालयहरूमा विद्यावारिधिका थेसिस हेर्छन्, डिग्री पढ्ने विद्यार्थीलाई पढाउँछन् र विद्यार्थीलाई गुरु मानेर आफू पनि पढिरहेका हुन्छन्।

सम्पदा उनका लागि खुला आकाशमुनि छरिरएर रहेका खुला किताबका पाना हुन्। उनी अध्ययन र अध्यापनलाई तिनै खुला किताबका पानातिर लैजान्छन्। उनको अध्यापन र अध्ययन पर्खालले घेरिएका कोठामा सीमित हुँदैन। कहिले विद्यार्थीलाई साथ लगाएर त कहिले विद्यार्थीका पाइला पछ्याएर गुफा, ओडार, मूर्ति, शिलालेख भएका ठाउँ खोज्दै हिँड्छन् उनी। कागजका पानामा सीमित नरहने प्रकृतिमा रहेका गुफा र मूर्ति पढ्ने उनको स्वभावबारे जानकार विद्यार्थीले गुफाबारे पढाइ हुँदा भन्ने गरेको उनी सम्झन्छन्, 'मेरो गाउँमा पनि गुफा छ सर, हेर्न जाऊँ।'

भेटिएका पुरातात्त्विक स्रोत गुफा, शिलालेख, मूर्तिबारेमा खोज अनुसन्धान गरेर प्रारम्भिक जानकारी दिनु पुरुषोत्तमको अभिरुचि हो, जुन अध्ययनले नयाँ कुरा पत्ता लगाउने उनको चाहना पूरा हुन्छ। यसरी गुफामै गएर प्राप्त हुने उपलब्धिबारे उनी भन्छन्- 'प्रारम्भिक स्रोतहरूको बारेमा प्रकाशमा ल्याउनु ठूलो कुरा हो। प्रारम्भिक स्रोतको बारेमा सहायक स्रोतहरू त्यति महत्त्वपूर्ण हुँदैनन्। उच्चकोटिका हुन्छन्। त्यो जहिले पनि मूल स्रोतको रूपमा रहन्छ।'

यसरी ‘मूल स्रोत’ मा पुगेर अध्ययन कसैले नगरेकोले पनि पुरुषोत्तमलाई डरलाग्दा भीरमा रहेका ओडारदेखि चितुवा बस्ने गुफासम्म पुर्‍याउने रहेछ। यस्तो हुनुको कारण मूल स्रोतसम्म पुगेर अध्ययन नगर्ने परम्परालाई तोड्नु रहेको आशय व्यक्त गर्छन् उनी। 'नेपालका विद्वानहरूमा खासगरी जे जस्ता पुस्तकहरू छन्, सुनेको भरमा, अरूले लेखेको भरमा नयाँ कृतिहरू निकाल्ने लहड चलेको छ', उनलाई लागेको कुरा सुनाए, 'त्यसकारण, त्योभन्दा फरक ढंगमा अहिलेसम्म कसैले नगरेको कामहरू गर्दै आएको छु जस्तो लाग्छ। त्यसको नमूना ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ हो।'

पुरुषोत्तम कपाल तिलचामल बन्दासमेत तीन दशकयता अनवरत रूपमा खुला आकाशमुनि रहेका गुफालाई पुस्तक, तिनमा कोरिएका परापूर्वकालका संकेतलाई अक्षर मानेर अध्ययनमा लागिरहेका छन्। उनले अहिलेसम्म धार्मिक, सांस्कृतिक सम्पदामा आधारित १३ ओटा अध्ययन अनुसन्धानात्मक पुस्तक प्रकाशन गरिसकेका छन्।

गुफामा जीवन

इतिहासको अध्ययन अन्वेषण पुरुषोत्तमलाई वास्तविक साहित्य लाग्दोरहेछ। हिजो कहाँ के थियो? के भयो?  किन भयो? भन्ने प्रश्नका जवाफ इतिहासले प्रकृतिमा छोडेका अवशेषबाट खोजेर पुस्तकका रूपमा जीवन दिनु उनका लागि साहित्य रहेछ। उनको साहित्यमा प्रागकालको जीवन हुन्छ, जहाँ काल्पनिकताले स्थान पाउँदैन। विद्यार्थीलाई विषय सम्झाएझैँ हात हल्लाएर उनी विश्वस्त पार्न खोज्छन्, 'जे प्रमाणहरू हामीले पायौँ, ती प्रमाणहरूको आधारमा हामीले सत्यतथ्य विश्लेषण गर्नुपर्छ।'

नेपालको अस्तित्व भारतभन्दा पहिलेको हो भन्ने उनले तथ्यहरू फेला पारेका छन्। अवशेषहरू पत्ता लागेपछि तिनमा जीवन खोज्न भने उनलाई बढी जोखिमको र समय लाग्नेरहेछ। मिहिनेत र अभिरुचिको विषयले उनलाई जीवन खोज्ने कर्ममा डोहोर्‍याइरहेको छ। शक्ति र जीवनले साथ दिएसम्म अवशेषमा जीवन खोज्ने अठोट लिएका छन् उनले। उनी भन्छन्, ‘जब अभिरुचि जाग्छ, तब गाह्रो सजिलो भन्ने हुँदैनरहेछ।'

भक्तपुरको चाँगुका गुफामा भेटिएका शिलालेख र मूर्तिहरूले यो क्षेत्रमा भारतमा भन्दा पहिले बस्ती विकास भएको थियो भन्ने तथ्य भेटेको बताउँछन् पुरुषोत्तम। 'यस्ता सम्पदाहरू भारतमा पनि छन्। केहीकेही सम्पदाहरू त भारतमा भन्दा यहाँका पुराना छन्', उनी विश्वासका साथ भन्छन्, 'हामीले भेटेका मूर्तिका काल निरूपण गर्ने क्रममा भारतमा भएका भन्दा पुराना भेटिएका छन्।‘

काल निरुपण गर्ने विधि भने मूर्तिको तथा गुफामा कुँदिएको चित्रकलाको बनावटका आधारमा गरिनेरहेछ। ‘नाक, निधार, शरीरको बनावट, गरगहना, पहिरन,लगायतलाई नियाल्नुपर्ने हुन्छ। तिनै शैलीहरूलाई लिएर कुन कालको हो भनेर छुट्याउँछौँ हामी', उनी भन्छन्।

उपत्यका: १० लाख वर्षदेखिको मानव विचरणस्थल!

उनले पुस्तकमा काठमाडौँ उपत्यकामा १० लाख वर्ष पहिले नै मानव विचरण गरेको तथ्य प्रस्तुत गरेका छन्।

पुरुषोत्तम श्रेष्ठले काठमाडौँ उपत्यकामा १० लाख वर्षअगाडि पाषाण मानवको विचरणस्थल रहेको तथ्य प्राप्त भएको उल्लेख गरेका छन्। उनको तथ्यलाई ३२ वर्ष अगाडि पुरातत्त्वविदद्वय जनकलाल शर्मा र गुडरुन कोर्भिनसले सावित गरिसकेका छन्। उनीहरूले काठमाडौँ उपत्यकाको इतिहास १० लाख वर्ष पुरानो रहेको तथ्य पत्ता लगाएका थिए।

श्रेष्ठको पुस्तकमा उल्लेख गरिएअनुसार, शर्मा र कोर्भनसले यस्तो तथ्य सार्वजनिक गरेका थिए- 'चाँगुको उत्तरपट्टि महादेव खोला छ। त्यो महादेव खोलाबाट 'बोस नमाडिकस' (गौवशंका पूर्खा) को अवशेष फेला परेको छ। त्यसैगरीकन गोदावरी र लुभुमा फेला परेको जलगैँडा र महागजका अवशेषबाट काठमाडौँ उपत्यकाको इतिहासलाई हामी १० लाख वर्ष अगाडिसम्म लान सक्दछौँ।' 

पुरुषोत्तमको सम्पत्ति- फित्ता

किताब राख्ने र्‍याकको एक छेउमा नापजाँच लिने फित्ता झुन्ड्याइएको छ, जसलाई पुरुषोत्तम श्रेष्ठ गुफा र ओडारको चौडाइ, लम्बाइ र मूर्तिहरूको नाप लिन प्रयोग गर्छन्। त्यही फित्ताको सानो बाकस देखाउँदै उनले हाँसेर भने, ‘मेरो सम्पत्ति र साथी पनि त्यही हो।‘

पुरातत्त्व र इतिहासविद्का विद्यार्थीका सम्पत्ति र सामान्य जनका सम्पत्तिमा फरक हुने पुरुषोत्तम श्रेष्ठको बुझाइ छ। ‘पुरातत्त्व विज्ञ, इतिहासका विद्यार्थीका आँखामा सुनचाँदी जस्ता बहुमूल्य कुरा, ठूल्ठूला दरबारभन्दा पनि झुपडीका अवशेष, माटोका भाँडा वर्तनका पुराना टुक्राटाक्रीहरू कता हो कता मूल्यवान हुन्छन्। किनभने, दरबार-महल मानव इतिहासको पछिल्लो समयका हुन्। तिनमा मानव विकासका पछिल्ला कुरा मात्र हुन्छन्', उनी भन्छन्, 'माटोको भाँडा र झुप्राहरू त्योभन्दा हजारौं वर्षअघिका हुन्। हामी त्यसबाट हाम्रो मानव इतिहासलाई अगाडि पुर्‍याउन सक्छौँ।‘

ती झुप्रा र टुक्रामा विगतको मानव समाजको जीवनको छनक लुकेको हुन्छ भन्ने लाग्छ उनलाई। 'त्यही विगतले वर्तमानलाई मार्गनिर्देश गरिरहेको हुन्छ, जसरी वर्तमानले भविष्यको संकेत गरेको हुन्छ', श्रेष्ठ भन्छन्।

गुफामा भेटिएको धार्मिक सहिष्णुता

नेपाल अहिले धर्मनिरपेक्ष बनेको छ। हिन्दूराष्ट्र नेपाललाई संवैधानिक रूपमै धर्मनिरपेक्ष बनाइएको छ। पुरुषोत्तमलोचन श्रेष्ठ भने नेपाल परापूर्वकालमा नै धर्मनिरपेक्ष रहेको तथ्य प्रस्तुत गर्छन्।

ऐतिहासिक तथ्य नबुझेका राजनीतिज्ञले नेपाललाई परापूर्वकालदेखि हिन्दूराष्ट्र थियो भन्ने गरेकोप्रति श्रेष्ठको गुनासो छ। उनी भन्छन्, ‘विगतमा भएको त्यो सहिष्णुताको पक्षलाई नबुझ्दा इतिहास बांगिदोरहेछ। हामीले अहिले धर्मनिरपेक्षलाई संविधानमा उल्लेख गरेका छौँ तर पहिले नै नेपाल धर्मनिरपेक्ष थियो।' संस्कृति आरम्भकालदेखि नै धर्मनिरपेक्ष रहिआएको बताउँदै उनी अध्ययनले देखाएको तथ्यलाई आधार बनाउँदै भन्छन्, ‘त्यसो नहुँदो हो त एउटै थानमा बुद्ध पनि आउने थिएन, विष्णु पनि आउने थिएन। न त महादेव आउने थियो, न शाक्त नै।‘

आवश्यकता: इतिहास संशोधनको

नेपालको इतिहास मानदेवको पालादेखि सुरु भएको मानिएको छ। चाँगुनारायणमा राजा मानदेवले स्थापना गरेको शिलालेखका आधारमा नेपालको इतिहास प्रारम्भ भएको बताइन्छ। त्यो १५ सय वर्ष पहिलेको कुरा भयो, जसका आधारमा नेपालको इतिहास पाँचौ शताब्दीदेखि सुरु भएको पढ्दै/पढाइँदै आएको छ।

अब नेपालको इतिहास कहिले सुरु भएको भन्ने उक्त तथ्यमा संशोधनको आवश्यकता रहेको पुरुषोत्तमको भनाइ छ। उनी भन्छन्, ‘हामीले नेपालको प्रमाणिक इतिहास पाँचौँ शताब्दीदेखि सुरु हुन्छ, प्रमाण चाँगुको मानदेवको अभिलेख भन्यौँ हामीले। अब त्यसलाई संशोधन गर्नुपर्ने भएको छ।‘ उनी इतिहासको संशोधनका लागि तथ्य प्रस्तुत गर्छन्, ‘सम्वत् १०७ को मालीगाउँको जय वर्माको अभिलेख त्योभन्दा पुरानो छ। अर्को महत्त्वपूर्ण कुरा, इतिहास निर्माणको स्रोत पुरातात्त्विक स्रोत हो, जसमा अभिलेखलगायत कलावस्तु पनि हुन्।' चाँगु भेगमा मानदेव प्रथमको पाँचौँ शताब्दीको त्यो अभिलेख भन्दा पनि पाँच सय वर्ष पुराना कलावस्तुहरू त्यहाँबाट भेटिएका र सप्तमातृकाका मुर्तिहरू भेटिएका उनी बताउँछन्। 'यो ठूलो उपलब्धि हो, त्यसैले इतिहास संशोधन हुनुपर्छ‘, उनी भन्छन्।

काठमाडौँ उपत्यकाकै चाँगु क्षेत्रमा रहेका सम्पदाहरूको मात्रै अध्ययन गर्‍यो भने पनि अरू धेरै चिज पत्ता लाग्नसक्ने उनको दाबी छ। यसले नेपालको इतिहास अझै पर लैजाने र नेपाललाई सम्पदामा धनी रहेको प्रमाण पेस गर्ने उनको विश्वास छ। उनले खाँचो देखेका छन् त अध्ययन र अन्वेषणको।

छैनन् अन्वेषक, विचल्लीमा सम्पदा

पुरातात्त्विक विषयमा अध्ययन अनुसन्धान गर्ने नयाँ पुस्ताको अभाव हुन थालेको देखेका छन् उनले। त्रिभुवन विश्वविद्यालयको इतिहास विभाग रित्तिएझैँ पुरातत्त्वमा अध्ययन अन्वेषण गर्ने विद्यार्थीको पनि खडेरी पर्न लागेको छ। श्रेष्ठ भन्छन्, ‘यो विषयमा लाग्ने अन्वेषक औँलामा गन्न सकिने अवस्थामा छन्। न त विद्यार्थी नै छन्।‘

साहित्यका अन्य विषयमा धेरै लेखक आइरहेको बेला अन्वेषणमा हात हाल्न नरुचाएको किन होला त?

‘मेरो आफ्नो घर व्यवहार सारा संसार छोडेर खाई नपाई लागिरहेको छु। यो काम गरेवापत कसैबाट एक पैसा आउने होइन',  श्रेष्ठ अनुभव सुनाउँदै प्रश्न तेर्स्याउँछन्, 'मेरो आफ्नो इच्छाले यसमा लागिरहेको छु। यसरी लाग्ने को छ त?’

पहिले राज्यले नै पुरातत्त्वको बारेमा अध्ययन गर्ने एक अध्ययनमण्डल नै गठन गर्थ्यो, जसमा नयनराज पन्त, ज्ञानमणि नेपाल, भोलानाथ पौडेल, डिल्लीरमण रेग्मी, हरिराम जोशी, सूर्यविक्रम ज्ञवाली जस्ता पुरातत्त्व र इतिहासविद्हरू काम गर्थे। अब भने पुरातात्त्विक वस्तु फेला पर्‍यो भने पनि त्यसको लिपि पढ्ने मानिसको अभाव रहेको श्रेष्ठ बताउँछन्।

‘अब कसले पत्ता लगाउने, एउटा अभिलेख फेला परे कसले पढिदिने?’ यो अवस्था देखेर चिन्तित मुद्रामा उनी भन्छन्, ‘अभिलेख राष्ट्रिय सम्पत्ति हो, खाली मूर्ति मात्रै होइन। त्यसमार्फत धार्मिक, सामाजिक, राजनीतिक, इतिहास वर्तमान भएर आउँछ।‘

श्रेष्ठ ख्वपः कलेज र आदर्श आजाद कलेजमा अध्यापन गर्छन्। इतिहास र पुरातत्त्व अध्यापन गर्ने उनी आफ्ना विद्यार्थीहरू पढेर पनि विदेशिन बाध्य भएको तीतो वास्तविता सुनाउँछन्। पछिल्लो पुस्ता यो क्षेत्रमा नआएकोमा राष्ट्रिय संकटको संकेत देखापरेको उनको बुझाइ छ। उनी भन्छन्, ‘यो राष्ट्रिय संकटको रूपमा देखापर्छ। इतिहास संस्कृति राष्ट्रको ऐना हो, त्यो ऐना पुछ्ने अन्वेषकहरू नै भएनन् भने, विद्यार्थी नै भएनन् भने ठूलो संकट पर्छ।‘

मूर्ति र सम्पदाको संरक्षण नभएकोमा श्रेष्ठको चिन्तित छन्। आन्दोलनका बेला राजा र राणाहरूका मूर्तिहरू भत्काउने कार्यले पनि उनको मन पोल्दोरहेछ। त्यस्तै, चाँगु भेगका विभिन्न ठाउँमा रहेका शिलालेख, मूर्तिको संरक्षण नहुँदा पनि उनी दुखी छन्।

राणा र राजाहरूको इतिहास जोगाएर भोलिको पुस्तालाई देखाउनुपर्ने पुरुषोत्तमको धारणा छ। ‘मूर्तिहरू किन तोडफोड गर्नुपर्‍यो? हिटलरले त्यत्रो नरसंहार गर्‍यो तर त्यो इतिहास भएपछि उनको शालिक तोडिएन। उनको इतिहास बचाएर राखियो', जर्मनीले हिटलरको इतिहास सुरक्षित राखेको उदाहरण पेस गर्दै उनी भन्छन्, 'जसले हिटलर जस्ता क्रुर शासक थिए भन्ने पछिल्लो पुस्तालाई देखायो।‘ उनी त्यस्ता व्यक्तिहरूको इतिहास सुरक्षित राख्नुपर्ने र भोलिको पुस्तालाई उनीहरूका राम्रा र नराम्रा कामबारे शिक्षा दिन सहायकसिद्ध हुने तथ्य बचाएर राख्नुपर्ने धारणा राख्छन्।

उनले अध्ययनको क्रममा भेटेका प्रागकालका मूर्ति र शिलालेख कहीँ गोबरले छोपेको, कुनै खेतमा अलपत्र परेको त कुनैमा हँसियामा धार लगाउने गरेको अवस्थामा भेटिएको बताउँछन्। त्यसमा पुरातत्त्व विभागको आँखा नपुगेकोमा उनको गुनासो छ। उनी भन्छन्, ‘टुटफुट भएका मूर्तिहरू जस्ताका त्यस्तै छन्। यी त नमूना मात्रै हुन्। तिनको बिजोग देख्दा मन रुन्छ।‘

यी गुफा, मूर्ति, शिलालेखको संरक्षणमा थोरै मात्र लगानि गरे मात्र पनि अर्बौं रुपैयाँ कमाउन सकिने पुरुषोत्तमको भनाइ छ। त्यसका लागि राज्यका निकायतिर आश गर्नुबाहेक अर्को विकल्प नभएको उनको धारणा छ। उनी राज्यका ती निकायका दृष्टि तिनमा पर्नेमा विश्वस्त भने छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • रास्ट्रको धमिलो ऐना पुछ्ने एक अन्वेषक हाजिर छु सर , अन्वेषक खोजेमा नभेट्ने त हैन होला तर यस सम्बन्धि पनि एक प्रकारको जनचेतना कै कमि पो हो कि जस्तो लाग्छ.