|

काठमाडौं : नेकपा एमालेले आगामी निर्वाचनहरुमा कोही पनि मतदाता बञ्चित नहुने गरी मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको टोलीले सोमबार प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग भेट गरी फोटोसहितको मतदाता नामावली अद्यावधिक  गर्दा कोही पनि वञ्चित नहुने गरी काम गर्न आग्रह गरेका हुन्। 

निर्वाचन आयोगले साउन १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरिसकेको छ। त्यही सन्दर्भ पारेर आयोगसँग भेट गरेको एमाले टोलीले मतदाताको सहजता र सुविधालाई ध्यान दिएर नामावली अद्यावधिक गर्न आग्रह गरेको हो। 

'भरसक कोही पनि मतदाता नछुटुन्, यसतर्फ निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छौ' एमाले संसदीय दलका उपनेता नेम्वाङले भने, 'आयोगले सकेसम्म १ जना पनि नछुटुन भनेर मतदाताको सहजता र सुविधालाई ध्यान दिइ मतदाता नामावली संकलन गर्नु आवश्यक छ।' एमाले टोलीसँग प्रमुख आयुक्त यादवले यस सम्बन्धमा आम मतदाताको पक्षमा गर्न सकिने सम्मको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। 

एमालेले नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न पनि आयोगलाई ध्यानाकर्षण गराएको छ। 

अर्को प्रसङ्गमा नेता नेम्वाङले जिल्ला समन्वय समिति गठनको प्रक्रियामा अन्योलता देखिएको भन्दै त्यसमा पनि आयोगले सहजीकरण गर्नुपर्ने बताए। 'निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्न आग्रह गर्दछौ' एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ। एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगले गरेको पहललाई सकारात्मक भन्दै यसलाई अझै निरन्तरता दिन पनि आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.