|

रुपन्देही : रुपन्देहीमा गत आर्थिक वर्ष २०७३/७४ मा पूँजीगत बजेट कार्यान्वयन फितलो देखिएको छ। विगतका वर्षहरुमा भन्दा यो वर्ष विकास बजेट भनेर चिनिने पूँजीगत खर्च कम भएको छ। लुम्बिनी विकास कोष र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाहेक जिल्लामा गत आर्थिक वर्षमा ४ अर्ब ४२ करोड २७ लाख ९४ हजार ५ सय ७३ रुपैयाँ बजेट फ्रिज भएको छ।

पूँजीगत तर्फ ठूला ठूला विकासे अड्डाहरुले समयमा बजेट खर्च गर्न नसक्दा बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाको कुल बजेट १९ अर्ब ९२ करोड २१ लाख ९२ हजार ७ सय १७ रुपैयाँ रहेकोमा १५ अर्ब ४९ करोड ९३ लाख ९८ हजार १ सय ४४ रुपैयाँ मात्रै खर्च भएको छ।

खर्च भएको बजेट कुल बजेटको ७७.७९ प्रतिशत रकम हो। यसमध्येको ४४ प्रतिशत रकम असार महिनामा मात्र खर्च भएको छ। आर्थिक बर्ष ०७३/०७४ मा पूँजीगत गत तर्फ ८ अर्ब ९१ करोड २९ लाख ४५ हजार ७१ रुपैयाँ बिनियोजन भएकोमा ६ अर्ब ७० करोड ४० लाख ८ हजार ४ सय ९ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका निमित्त प्रमुख खिमप्रसाद अर्यालले जानकारी दिए।

त्यस्तै चालु तर्फ कुल ११ अर्ब ९२ लाख ४७ हजार ६ सय ४५ रुपैया बजेट विनियोजन भएकोमा ८ अर्ब ७९ करोड ५३ लाख ८९ हजार ७ सय ३५ रुपैयाँ खर्च भएको निमित्त प्रमुख अर्यालले बताए।

आर्थिक बर्ष ०७२/०७३ मा पूँजीगत तर्फ ४ अर्ब १३ करोड ६२ लाख ७२ हजार ८ सय ४६ रुपैया विनियोजन भएकोमा ३ अर्ब ४४ करोड ७८ लाख ९८ हजार ९ सय ५० रुपैया खर्च भएको थियो। त्यतिबेला पूँजीगत खर्च ८३ प्रतिशत भएको थियो।

भैरहवा भन्सारका कारण राजस्व बढ्यो

रुपन्देहीमा आर्थिक वर्ष ०७३/०७४ मा राजस्व संकलनमा भने वृद्धि भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार राजश्व संकलनमा ६.५९ प्रतिशतले वृद्धि भएको हो। रुपन्देहीमा आर्थिक वर्ष ०७३/०७४ मा ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ रुपैयाँ राजश्व संकलन भएको निमित्त प्रमुख अर्यालले जानकारी दिए।

गत आर्थिक वर्षमा ०७२।०७३ मा ७४ अर्ब ९० करोड ७ लाख १४ हजार ६६ रुपैयाँ राजश्व संकलन भएको थियो। राजश्व संकलन गर्ने मध्ये सबैभन्दा बढी आन्तरिक राजश्व कार्यालय भैरहवाले राजश्व संकलन गरेको छ। उसले गत आर्थिक वर्ष ०७३/०७४ मा ४३ अर्ब ६३ करोड ५२ लाख ७९ हजार रुपैयाँ राजश्व संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.