|
फोटो सौजन्य : वाम्बुले राई समाज नेपाल (वाम्रास) का उपाध्यक्ष गणेश राई

ओखलढुंगा : ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ उँबु गाउँमा किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) को मूर्ति स्तम्भ निर्माण सुरु भएको छ।

किरातीहरुको बाक्लो बस्ती रहेको ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ३५ फिट अग्लो किराती सांस्कृतिक प्रतीक स्वालेवा (चिन्डो) निर्माण गर्न लागिएको हो। मानेभन्ज्याङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोतीराज राई र उपाध्यक्ष सबिता राईले संयुक्त रुपमा यसै साता उक्त स्तम्भको शिलान्यास गरेका थिए। 
वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा स्तम्भ निर्माण थालिएको हो। प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख प्राज्ञ धनबहादुर याक्खाको नेतृत्व सात सदस्यीय टोलीले निर्माण सुरु गरेको छ। टोलीमा इन्दिरा श्रेष्ठ, शिव न्यौपाने, नरेश थुलुङ, निराजन मानन्धर, रन्जित थापामगर, गणेशबाबु लगायत मूर्तिकार संलग्न छन्।

स्तम्भ निर्माणका निम्ति साविक उँबु गाउँ विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण राई तथा उनका चार दाजुभाइले १ रोपनी १४ आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्। स्वालेवा स्तम्भ (मूर्ति) निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झन्डै ६० लाख रुपैयाँको लागतमा यो स्तम्भ निर्माण गर्न लागिएको हो। स्वालेवा स्तम्भ वरीपरी पर्खाल घेराबार हुनेछ। साँस्कृतिक प्रतीकका अन्य मूर्तिकला, फूलबारी, संग्रहालय निर्माण हुनेछ। 

स्तम्भ निर्माणका लागी देश–विदेशमा रहेका नेपालीहरुबाट आर्थिक सहयोग जुटाइएको छ। जग्गादाता सदस्य तथा स्तम्भ निर्माण अभियन्ता मुम्चे राई (बिद्रोही साइला) ले हालसम्म पाँच लाख रुपैयाँ आर्थिक सहयोग जुटेको जानकारी दिए। सांसद रामहरि खतिवडाले स्तम्भ निर्माणमा सांसद विकास कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराएका छन्।

‘सुरुमा स्तम्भ निर्माणको मात्र ३० लाख बजेट स्टिमेट गरिएको हो, अहिले निर्माण थालिसकेपछि सम्पूर्ण व्यवस्थापनका निम्ति दोब्बरभन्दा बढी रकम लाग्ने भएको छ, हामीले स्तम्भ निर्माण गर्ने आँटिसकेको हुनाले यो रकम जसरी पनि जुटाउने छौं’ अभियन्ता राईले भने। अध्यक्ष राईले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो समुदायको पहिचान स्तम्भ शिलान्यास गरेको उल्लेख गर्दै जनताको भाषा, धर्म, लोकसंस्कृति नै देशको सम्पत्ति भएको बताए। त्यसैगरी नवनिर्वाचित उपाध्यक्ष सबिता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर स्वालेवा स्तम्भ निर्माणलाई प्राथमिकतामा राखेको बताइन्।

प्राज्ञ धनबहादुर याक्खाले ललितकला प्रज्ञा प्रतिष्ठानको मूल उद्देश्य सरकारको विभिन्न निकायले कुनै पनि ठाउँ र समुदायको विकास गरे सँगसँगै त्यहाँको कलाको विकास गर्नु रहेको बताए। स्वालेवा स्तम्भ निर्माण उपभोक्ता समितिका संयोजक सौराज राईले सबै पक्षको सहयोगले निर्माण कार्य तीव्रगतिमा अघि बढेको जानकारी दिए। समुद्री सतहदेखि करिब १७ सय मिटर उचाईमा यो स्तम्भ निर्माण स्थल रहेको छ। यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर तथा पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.