|

काठमाडौं : सुना लोहार (४०) बाजुरा, बडिमालिका नगरपालिका वडा नम्बर ९ को दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्। एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित सुना एकल महिला हुन्।

सङ्कटकालमा दाउरा चिर्न जाँदा सुनाका श्रीमान जंगलबाटै हराएका थिए। उनले अहिलेसम्म न त श्रीमानको लास नै पाइन् न त सास नै। जतिबेला उनको छोरा १ वर्ष र छोरी पेटमा (६ महिनाको गर्भ) थिइन्। छोराछोरी सानै हुँदा श्रीमान बेपत्ता भएपछि सुनाले एक्लै छोराछोरी हुर्काइन्। बाजुरा सदरमुकाम नजिकै घर भएकाले सुनाले ढुङ्गा कुटेर, बालुवा बोकेर छोराछोरी हुर्काइन्।

खेतीपातीका लागि जग्गाजमिन थिएन। माइतीमा १ छोरी मात्रै भएकाले सुना माइती घरमै बसिन्। तर त्यहाँ पनि आफन्ती दाजुभाइले बिहे गरेको चेली भनेर सम्पत्तिमाथि हकदाबी गरे। आफ्नो बाउआमाको सम्पत्ति पाउन पनि उनले अदालतसम्म धाउनुपर्‍यो। 'माइतमा म एक्लै छोरी हो। माइतीमै बसेको थिएँ। त्यही एउटा घरमाथि पनि दाइभाइले दाबी गरे' उनले भनिन्, 'मलाइ अदालत जानुपर्‍यो र अहिले मुद्दा जितेर त्यही एउटा घर मेरो नाममा आएको छ।'

सदरमुकाम नजिकै भएकाले सुनाले कर्मचारीहरुको लुगा धुने, सरसफाइ गर्ने काम पाइन्। त्यही काम गरेर नै अहिलेसम्म परिवार पाल्दै आएकी छिन्। ज्याला मजदुरी गर्दै उनी एमाले पार्टीमा आवद्ध भएकी थिइन्। त्यही कमाइको केही रकम छुट्याएर पार्टी सदस्यता बुझाउँथिन्। पार्टीमा काम गर्दा छाक कटाएर पार्टी शुल्क बुझाएपनि अहिले भने पार्टीले सम्झेर गुण तिरेको बताउँछिन्।

मानवअधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको सम्मान कार्यक्रममा काठमाडौं आएकी सुनाले भनिन् 'काम गरेर कमाएको २/४ रुपैयाँ भएपनि कमाएर पार्टी शुल्क बुझाउथे। अहिले पार्टीले सदस्यमा जिताएको छ। सकेजति काम गरेर देखाउनुपर्ने छ।' 

इलामकी कुमारीमाया आलेमगर (४५) २०४६ सालदेखि  नै राजनीतिमा आवद्ध थिइन्। विद्यार्थी राजनीतिबाट राजनीति शुरु गरेका उनी अनेमसंघ, एमाले गाउँ कमिटीमा रहेर काम गर्दै आएकी थिइन्।

छोराछोरी सानै छँदा श्रीमानको मृत्यु भएपछि उनले एक्लै परिवारको जिम्मेवारी सम्हाल्दै राजनीतिलाई समेत निरन्तरता दिदै आइन्। माइ नगरपालिका वडा नम्बर ४ को वडा सदस्यमा एमालेबाट निर्वाचित भएकी कुमारी एकल महिला हुन्।

'२०६३ सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जाँदा उतै मृत्यु भयो' उनले भनिन्, 'छोराछोरी सानै थिए एक्लै सुखदुख गरेर छोराछोरी हुर्काएँ।'

कक्षा १० सम्मको अध्ययन गरेकी कुमारीले खेतीपातीकै काम गरेर सन्तान हुर्काएकी हुन्। त्यही किसानी गरेको पैसाले पार्टी सदस्यता बुझाउदै आएकी कुमारीले अहिले भने पार्टीले वडा सदस्यमा जिताएको बताइन्। सानै छँदा श्रीमान गुमाएकी कुमारीका छोराछोरी सबैको अहिले बिहे भइसकेको छ। उनी भने आमासँग बसेर सामाजिक संघसंस्था तथा पार्टीमा काम गर्छिन्।

एकल महिला हुँदा घरव्यवहार धान्न र सन्तान हुर्काउन निकै समस्या भएको उनी बताउँछिन्। 'श्रीमान नहुँदा महिलालाई घरव्यवहार चलाउन साह्रै दुःख हुने रैछ। मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै फरक हुने-उनी भन्छिन्, सहयोग भन्ने पटक्कै नहुने। एक रुपैयाँ सहयोग गर्न भन्दा पनि कसैले नगर्ने।'

श्रीमानको मृत्यु भएको १ दशक बढी हुँदा पनि आफ्नो श्रीमानको मृत्यु भएको कारणबारे जानकार नभएकी कुमारी क्षतिपुर्ति समेत नपाएको बताउँछिन्। 'मैले धेरै पढेको छैन। परिवारमा भन्दिने,गर्दिने मान्छे पनि कोही भएन। छोराछोरी साना थिए' कुमारीले भनिन्, 'क्षतिपुर्ति समेत पाएनौं हामीले। किन पाएनौं भनेर पनि थाहा पाएनौं।'

पद्मा बिक (३५) कालिकोट खाँडाचक्र नगरपालिका वडा नम्बर ६ को दलित महिला सदस्यमा निर्वाचित भएकी छिन्। चार सन्तानकी आमा पद्मा एमालेका तर्फबाट सदस्यमा निर्वाचित भएकी हुन्। ५ वर्ष पहिले मिर्गौलाको बिरामीका कारण उनको श्रीमानको मृत्यु भएको थियो।

श्रीमान बितेपछि ज्याला मजदुरी गरेर उनले ३ छोरा र १ छोरी एक्लै हुर्काउदै आएकी छिन्। दुःखजिलो गरेर जोहो गर्दै आएकी पद्‍माले पार्टीमा लाग्ने बानी परेकाले पहिलेदेखि नै भ्याएसम्म पार्टीको कार्यक्रममा हिड्दै आएको बताइन्।

स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएपछि मानवअधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको सम्मान कार्यक्रममा काठमाडौं आइपुगेकी पद्‍माले आर्थिक अवस्था कमजोर भएकाले ऋण काढेर काठमाडौं आइपुगेको बताइन्।

वर्षायाम भएकाले पहिरोका कारण ६ दिनपछि मात्र काठमाडौं आइपुगेकी पद्‍माले मन भने गाउँमै भएको बताइन्। 'छोराछोरी साना छन्। एक्लै छाडेर आएको छु। के गर्दै होलान् उनीहरु' उनी भन्छिन्, 'आफू भने नेता बन्न ठिक्क छ। यता (काठमाडौं) सम्मान थाप्न ऋण काढेर आएको।' स्थानीय तहको दुई चरणको निर्वाचनबाट प्रदेश नम्बर १, ३, ४, ५, ६ र ७ बाट ४८ जना एकल महिलाहरु निर्वाचित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.