|

भारतको नयाँ राष्ट्रपति को बन्ला? रामनाथ कोविन्द वा मीरा कुमार? भारतीय मिडियामा यो सर्वाधिक चर्चाको विषय बनेको छ। यसको छिनोफानो गर्न राजधानी नयाँ दिल्लीमा निर्वाचन जारी छ।

भारतको १४ औँ राष्ट्रपति चुन्नको लागि जारी निर्वाचनमा भारतको लोकसभा र राज्य सभाका सांसदले मतदान गरिरहेका छन्। लोकसभाका ७७६ सदस्य र राज्यसभाका ४ हजार १२० सदस्यले राष्ट्रपति चुन्नेछन्।

सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेपछि भारतीय जनता पार्टीका सांसदहरुले लाम लागेर संसद भवनमा मतदान गरेका थिए। 

दुई दलित नेताको भिडन्त

राष्ट्रपति निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट बिहारका राज्यपालसमेत रहेका रामनाथ कोविन्द उम्मेदवार छन्। विपक्षी दल कांग्रेसका तर्फबाट पूर्व सभामुखसमेत रहेकी मीरा कुमार उम्मेदवार छन्। दुबै दलित समुदायबाट भएकोले जो विजयी भए पनि भारतले दलित समुदायबाट राष्ट्रपति पाउनेछ। दलित समुदायबाट भारतको पहिलो राष्ट्रपति केआर नारायणनलाई हुन्। उनी भारतका १० औँ राष्ट्रपति हुन्। 

भारतको संसदमा सत्तारुढ दल भारतीय जनता पार्टीको गठबन्धनको स्पष्ट बहुमत रहेकोले सो गठबन्धनका उम्मेदवार कोविन्द विजयी हुने निश्चितजस्तै रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्। तर कुनै पनि दलले आफ्ना सांसदलाई ह्‍विप जारी गर्न नपाउने भएकोले क्रस भोटिङ हुने सम्भावना पनि उत्तिकै छ। 

राष्ट्रपति निर्वाचनपछि उपराष्ट्रपति निर्वाचन हुनेछ। जसका लागि विपक्षी महागठबन्धनले वेस्ट बंगालका गभर्नर समेत रहेका गोपालकृष्ण गान्धीलाई उम्मेदवार बनाइसकेको छ। तर सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनले भने उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरिसकेको छैन। यसैबीच, भाजपाले उम्मेदवार छनोटको लागि साँझ संसदीय बोर्ड बैठक राखेको छ।

को हुन् रामनाथ?

दलित नेता रामनाथ १९४५ मा भारतको उत्तर प्रदेशको कानपुरमा जन्मेका हुन्। कानपुर विश्वविद्यालयबाट बिकम र एलएलबी उत्तीर्ण गरेका उनी दुई पटक राज्यसभा सदस्य निर्वाचित भैसकेका छन्।

उनी सरकारी वकिल पनि हुन्। सन् १९७१ मा बार काउन्सिलमा नाम निकालेका उनले दिल्ली उच्च अदालतमा १६ वर्ष वकालत समेत गरे। कोविद दलित समुदायका प्रतिनिधिका रूपमा परिचित अनुहार हुन्। उनले सांसद रहेका बेला दलित, महिला र जनजातिका मुद्दा उठाएका थिए। 

मीरा कुमार को हुन्?

युनाइटेड प्रोग्रेसिभ अलायन्सका तर्फबाट राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार मीरा कुमार महिला सभामुखका रुपमा लोकसभामा निर्विरोध निर्वाचित भएकी थिइन्। उनी पाँच पटक संसद सदस्य भइसकेकी छन्।  

उनी अधिवक्ता र पूर्व कुटनीतिज्ञ पनि हुन्। मनमोहन सिंह प्रधानमन्त्री छँदा उनी सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयमा क्याबिनेट मन्त्री बनेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.