|

धनुषा : जनकपुरमा पछिल्लो २ दिनयता यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ। वायुमण्डल सफा रहँदा सूर्यको किरणले जिउ नै पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने जलवायु तथा मौसम कार्यालयले जनाएको छ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कन समस्या परेको छ। अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ। वायुमण्डलीय तापक्रम बढिरहँदा जनकपुरमा आइतबार र सोमबार अधिकतम तापक्रम ४० डिग्री सेल्सियससम्म मापन गरियो।

वर्ष २०७४ को साउनमा जनकपुरमा पछिल्लो वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। जलवायु तथा मौसम कार्यालय जनकपुरका प्रमुख मुनेश मिश्राले मध्य तथा पूर्वी तराइका जिल्लाहरुमा अझै केही साता तापक्रम बढ्ने पूर्वानुमान रहेको बताए।

वैशाख जेठमा अत्याधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्दै आएका थिए। अहिले गर्मी बढेपछि अधिकांश विद्यालय पनि बन्द गरिएको छ।

गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफुल र जुसको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ। नियमित विद्युत आपूर्ति नहुँदा बढ्दो गर्मीमा सर्वसाधारण झनै पिरोलिएका छन्।

छाला ढाक्ने कपडा लगाउन, घाममा हिंड्दा नियमित अन्तरालमा बसेर शितल पानीले मुख–हात धुन चिकित्सकहरुले सुझाव दिएका छन्। पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने तथा घाममा निस्कँदा छाता लगाएर निस्कन चिकित्सकहरुले सुझाव दिएका छन्।

नियमित पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन फरक पार्ने भएपनि पछिल्लो एक सातामा पानी परेको छैन। मनसुनको कतै कुनै अत्तोपत्तो छैन। जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिएका छन्। ‘लु’ लागेर ज्यानै जान सकिने सम्भावना पनि रहने हुँदा अत्याधिक गर्मी महसुस भएमा सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.