|

गोरखा : गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार जिल्लामा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ। जिल्लाका ११ स्थानीय तहमध्ये ९ वटामा जित हासिल गरेको कांग्रेसले दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले भन्दा ३ हजार मत बढी ल्याएको छ।

स्थानीय चुनावमा नगरपालिका र गाउँपालिका प्रमुख वा अध्यक्षले प्राप्त गरेको मत हिसाब गर्दा नेपाली कांग्रेसले जिल्लाभरबाट ३८ हजार ५ सय ५६ मत ल्याएको छ भने नेकपा माओवादी केन्द्रले ३५ हजार २७ मत मात्र पाएको छ। माओवादी केन्द्रबाट अलग भएका नेता डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालले १४ हजार ३ सय ४४ मत पाएको छ।

२०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका थिए। तर दोस्रो संविधानसभा निर्वाचनको ४ वर्षमा नै कांग्रेसले माओवादी केन्द्रलाई उछिन्यो। मतदाताले विगतको निर्वाचनमा डर त्रासका कारण मतदान गर्न नपाएकाले कांग्रेस दोस्रो स्थानमा खुम्चिए पनि यसपटक ढुक्कसँग मतदान गर्न पाएकाले पहिलो भएको कांग्रेसका जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले बताए। उनले माओवादी केन्द्रमा आएको फुटको कारण मात्र आफ्नो पार्टी पहिलो भएको भन्नु गलत भएको जिकिर गरे।

‘नेपाली कांग्रेस पहिले पनि पहिलो पार्टी हो। अहिले फेरि इतिहास दोहोरिएको मात्र हो। अन्य पार्टी फुट्नुसँग कांग्रेसलाई केही फरक पर्दैन, खास कुरा जनताले ढुक्क सँग आफ्नो मताधिकार प्रयोग गरे, कांग्रेसको विचार र विकासवादी कुरा बुझे र कांग्रेसलाई पहिलो बनाए’ उनले भने। २०५६ सालको आम निर्वाचनमा भने नेपाली कांग्रेसले जिल्लाको तीनवटै निर्वाचनमा जित हासिल गरेको थियो। 

माओवादीले भने दोस्रो स्थानमा खुम्चिनुमा पार्टीमा आएको फुट, उम्मेदवार छनोटमा कमजोरी र संसदीय अभ्यासमा नयाँ हुनुलाई मुख्य कारण मानेको छ। जिल्ला सहइन्चार्ज परशुराम रम्तेल भन्छन्  ‘नयाँ शक्तिले पनि माओवादी केन्द्रलाई हराउन सहयोग गर्‍यो, हिजोको जस्तो संगठन भएन। हाम्रो जनसम्बन्ध बिग्रेको थियो। उम्मेदवार छनोट पनि बिग्रेछ। माओवादीले संसदीय पोलिटिक्स जानेन, पार्टी फुटको मनोविज्ञानले पनि प्रभाव पर्‍यो, त्यसैले हामी गोरखामा पहिलो रहिरहन सकेनौँ।’

नेकपा एमाले भने तेस्रो पार्टी रहे पनि विगतमा भन्दा बढी मत प्राप्त गरेको छ। स्थानीय तहको प्रमुख/अध्यक्ष पदमा एमाले उम्मेदवारले पाएको मतको योगफल १७ हजार आठ सय ४६ छ। जिल्लाको ११ स्थानीय तहमध्ये आरुघाट गाउँपालिकामा मात्र एमाले दोस्रो स्थानमा रह्यो भने अन्य गाउँपालिकामा तेस्रो स्थानमा रह्यो। धार्चे गाउँपालिकामा नेकपा एमालेले नयाँ शक्ति नेपालसँग तालमेल गरेको थियो। तालमेलमा नयाँ शक्तिका उम्मेदवार अध्यक्ष थिए, उनी तेस्रो स्थानमा रहे। ‘हाम्रो सबै ठाउँमा मत बढ्यो तर जित्ने मत आएन’ नेकपा एमालेका जिल्ला उपाध्यक्ष यादव बस्नेतले भने ‘हामीले चुनावपछिको समिक्षा गर्दा कार्यकर्ता परिचालन कम भएछ। पार्टीमा केही अन्तरघात पनि भयो।’

नेकपा माओवादी केन्द्रबाट फुटेर वैकल्पिक राजनीति सुरु गरेको बताउने नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले गृहजिल्लामा सुखद परिणाम ल्याउन सकेनन्। नयाँ शक्ति र संघीय समाजवादी फोरमले चुनावी तालमेल गरे पनि नयाँ शक्ति चौँथो पार्टी भएको हो। उसले नेकपा माओवादी केन्द्र भन्दा आधा पनि पनि लिन सकेन।

‘अपेक्षा हाम्रो अलि बढी नै थियो’ नयाँ शक्ति पार्टीका गोरखा संयोजक रमेश पोखरेलले भने ‘निर्वाचन आयोगले चुनाव चिन्ह दिएन। अर्काको पार्टीको चुनाव चिन्हमा लड्नुपर्‍यो। आगामी दिनको निर्वाचनमा यस्तो हुने छैन।’  गोरखाका ११ स्थानीय तहमध्ये धार्चे गाउँपालिकामा मात्र नयाँ शक्तिका उम्मेदवार दोस्रो स्थानमा रहे। त्यसबाहेक डा. भट्टराईको गृह नगर पालुङटारमा नयाँ शक्तिका उम्मेदवार तेस्रो स्थानमा रहे भने अरु धेरै स्थानीय तहमा नयाँ शक्तिका उम्मेदवार चौथो स्थानमा रहे।

दुई राप्रपाको एकीकरणपछिको निर्वाचनमा गोरखामा पनि झन् पछि पर्‍यो। राप्रपाका स्थानीय तहका अध्यक्षहरुले जम्मा ६ सय मत मात्र प्राप्त गरे। राप्रपाले गोरखामा ७ स्थानीय तहमा मात्र उम्मेदवारी दिएको थियो। उसले सबैभन्दा धेरै मत ल्याएको गोरखा नगरपालिकामा हो। जहाँ राप्रपाका प्रमुख पदका उम्मेदवारले २ सय ८७ मत ल्याएका छन्।

नेकपा मालेले भने तीनसय २९ मत प्राप्त गरी छैटौँ दल भयो। नेपाल परिवार दल भने गोरखामा सातौँ दल भयो। परिवार दलका अध्यक्ष एकनाथ ढकालले पनि आफ्नै गृह जिल्लामा धरौटी नै जफत हुने स्थिती आयो। परिवार दलले जम्मा ५४ मत मात्र प्राप्त गर्‍यो। परिवार दलका केन्द्रीय अध्यक्ष ढकालको घर रहेको भीमसेन गाउँपालिकामा परिवार दलबाट अध्यक्षको उम्मेदवारले जम्मा १६ मत पाए। परिवार दलले गोरखाको तीन वटा स्थानीय तहमा मात्र उम्मेदवारी दिएको थियो। जिल्लामा स्वतन्त्र उम्मेदवारहरुले २ सय ३२ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.