|

  • पेमा लामा-

काभ्रेपलाञ्चोकः जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले जिल्लाका विभिन्न विधामा उत्कृष्ट युवाहरूलाई सोमबार सम्मान गरिएको छ।

राष्ट्रिय युवा परिषदका केन्द्रीय कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले ‘युवा प्रतिभा तथा युवा उद्यमी सम्मान’द्वारा युवा प्रतिभाहरूलाई सम्मान गरेका हुन्। ढुंगेलले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र जिम्मेवार भएर अगाडि बढेमा देशको विकास गर्नमा युवाहरू सक्षम रहेको बताए। उनले देशको जनशक्तिलाई खोजेर प्रतिभाको सम्मान र उनीहरूको शक्तिलाई स्वदेशमा नै उपयोग गर्ने खालको वातावरण बनाएमा युवाहरू विदेश पलायन हुनबाट रोक्न सकिने बताए।

‘अहिले पनि देशका युवा जनशक्तिहरू दैनिक हजारौँको संख्यामा विदेशमा पसिना बगाउन गइरहेका छन्, तर गाउँघरमा काम गर्ने युवाहरू नपाएर खेतबारी बाँझै छ’, उनले भने, ‘त्यसको उचित उपयोग भनेको युवाशक्तिलाई स्वदेशमा नै रहने वातावरण बनाउनु हो।’ 

उनले युवा परिषद गठन भएको एक वर्षमा ५० हजार युवालाई विभिन्न पेशागत तालिम दिएर स्वरोजगार बनाएको पनि बताए। परिषद गठन गरेर युवाहरूलाई दिएको ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियनलगायतको तालिम दिएर त्यसबाट ५० हजारले अहिले रोजगारी पाइरहेको ढुंगेलको भनाइ थियो। 

त्यससँगै युवाहरूलाई थप उद्यमी बनाउन र प्रतिभालाई प्रस्फुटन गर्ने वातावरण बनाउन उद्देश्य मिल्ने संस्था र निकायहरूसँग सहकार्य गरेर कार्यक्रम बनाउन लागिरहेको समेत उनले बताए।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले अबको युग व्यावसायिकता उद्यमशिलतातिर उन्मुख हुनुपर्ने बताए। उनले गाउँमा उद्यमीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै देशमा नोकरी संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए। उनले हाम्रो समाजमा १० पोका चाउचाउ राखेर साहुजी बन्ने प्रवृत्ति हाबी हुँदै गएको समेत बताए। धमलाले राष्ट्रिय योजनाको काममा युवा सहभागिता गराउन सकिए मात्रै हरेक क्षेत्रमा युवाको जोस र जाँगरले नै देशको विकास हुने धारणा राखे।

कार्यक्रममा युवा उद्यमीहरूबाट सुमित्रा वादे श्रेष्ठ, नारायण खकुरेल, श्रीकृष्ण धिताल, समाजसेवीबाट चण्डीका वाग्ले, साहित्यबाट नवराज ढकाल र सूचना तथा सञ्चारबाट रामसुन्दर आचार्यलाई सम्मान गरिएको थियो।

राष्ट्रिय युवा परिषदका जिल्ला कार्यालय प्रमुख दिनेशकुमार न्यौपानेले कार्यालयबाट आह्वान गरिएको सम्मानित हुनका लागि योग्य ठहरिने प्रमाणसहितको निवेदन माग गरेबमोजिम आवेदन परेकामध्येबाट १६ वर्षदेखि ४० वर्षभित्रबाट छनोट समितिले छनोट गरेका युवाहरू सम्मानित भएको बताए।

जिल्ला युवा समितिका अध्यक्ष विपीन लामाले कार्यालयले आह्वान गरेको सूचनाका आधारमा ११ जनाले निवेदन दिएको र त्यसमध्येबाट छनोटमा परेका ६ जनालाई कार्यक्रममा सम्मान गरिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.