विचार

नरबहादुरको सम्झना र सिक्किमबासीको हितका कुरा
SHARES

साउन २, २०७४

    सन् १९७५ मा बाइसौँ राज्यका रूपमा सार्वभौमसत्ता सम्पन्न सिक्किम देश भारतमा विलय गराइयो। देशलार्इ राज्यमा परिणत गराउने काम केही अपवादबाहेक सिक्किमका राजाका प्रजा अर्थात् सिक्किम 'सब्जेक्ट'हरूले गरेका थिए। अपवादका रूपमा त्यो बेला देशलार्इ जोगाउनुपर्छ, भारतमा विलय गराउनु हुँदैन भन्ने खुम्च्याउँदै सानो पारिएको समूह थियो।

    त्यो समूहलार्इ दबाउनका लागि काजी लेण्डुप दोर्जी संरक्षित गुण्डा जासुसहरूले काजीलार्इ भए नभएको कुरा सुनाउने र काजीले चाहिँ थपथाप गरेर भारतीय सेनालार्इ सुनाउने गर्थे। त्यस्ता समूहका मानिसहरूलार्इ मार्ने, कुट्ने, दु:ख दिनेजस्ता काम भएका हुन्।

    मारिनेहरूको यकिन जानकारी छैन तर कुटाइ खानेमध्येमा पश्चिम सिक्किमको काभ्रे बस्तीका युवा नरबहादुर भण्डारी पनि थिए। उनलार्इ काजीका गुण्डाहरूले ढाड खुस्किउञ्जेल कुटेर लाश बराबर बनाएर बोरामा हालेर फ्याँकेका थिए भनिन्छ। कुटाइ खाएकै कारणले सिक्किममा प्रख्यात भएपछि राष्ट्रप्रेमी सिक्किमेहरूले भण्डारीले देश फर्काउँछ भन्ने आशा गरेर उनलार्इ नेता बनाए।

    देश फर्काउने अभियानमा उनी के कति लागे भन्न सकिन्न तर उन्को चुनावी भाषणमा भने 'सिक्किम नामको हँसिया भारतले निलेको छ तर हग्ने बेलामा आन्द्रा काटिँदा थाहा पाउँछ, हँसिया पचाउनु सक्दैन' भनेर सिक्किमेहरूलार्इ हँसाउँदै भाषण गर्थे। गोजीमा सिक्किम 'सब्जेक्ट'को कागज बोकेर नेपाली हुँ भन्दै नेपाली भाषालार्इ भारतीय संविधानमा प्रवेश गराउने भनेर पनि भोट जिते। ३९ वर्षको उमेरमा पहिलो पटक मुख्यमन्त्री बने र दुई कार्यकाल बिताए।

    उनी सिक्किमको मुख्यमन्त्री भएकै बेला दार्जिलिङका सुवास घिसिङको नेतृत्वमा भएको गोर्खाल्याण्ड आन्दोलनलार्इ सहयोग गरेर दार्जिलिङ र सिक्किममा वाह वाह बटुले। श्रीमतीलार्इ एमपी बनाए। भाषा साहित्यको सेवा पनि गरे तर नेपाली भाषाले अनुसूची ८ मा प्रवेश पाएपछि उनीहरू दुवै जनाको राजनीति मुद्दाविहीन हुन गयो।

    उनका सिक्किम फर्काउने र नेपाली भाषालार्इ मान्यता दिलाउने मुद्दामध्ये सिक्किम फर्काउने कुरा सिक्किमेहरूले पत्याउन छोडे। नेपाली भाषाले मान्यता पाइसकेकाले उनको मुद्दाविहीन राजनीतिलार्इ समाप्त पार्न सिक्किमदेखि दिल्लीसम्म भित्रभित्रै भएका षड्यन्त्रको विषयमा जानकारी छैन। तर देखिनेमा चाहिँ उनकै सञ्चारमन्त्री पवन चामलिङ जो हाल सिक्किममा मुख्यमन्त्री छन्। भण्डारीको राजनीति समाप्त पार्ने क्रममा पवन चामलिङ, जो एक पटक सिक्किमे नेपाली हुन छोडेर जाति र भाषा दुवै थोकले भारतीय गोर्खा पनि बनेका थिए। यो कुरा थाहा पाउने मानिसहरू हिजोआज पनि प्रशस्तै छन्।

    बिस्तारै चामलिङको राजनीति मौलाउने र भण्डारी राजनीति खस्कन थालेपछि भण्डारी यताउति गर्दै अल्मलिँदै कहिले कांग्रेस आईतिर त कहिले संग्राम परिषदतिर लागे भने उनकी श्रीमती दिलकुमारी भण्डारीचाहिँ नेपाली बनेर नेपाली भाषालार्इ मान्यता दिलाउने काम गलत भएको महसुस गरेर गोर्खा परिसंघ नामको संस्था खोलेर त्यसैमा समाहित भइन्।

    सिक्किम भारतमा विलय भयो तर सिक्किमका 'सिक्किम सब्जेक्ट' अर्थात् राजा छोग्यालका प्रजा सिक्किमका रैथाने नेभोलाहरू संवैधानिक रूपमा भारतीय नागरिक भएनन् र हालसम्म पनि भएका छैनन्।

    उनी जनताबीच अप्रिय पनि खासै भएनन्। भण्डारी रसिक थिए। रमाइलो गर्थे। मानिसलार्इ हँसाउँथे। पदबाट हटेपछि एक पटक उनले नेपाली भाषा भारतको संविधानको आठौँ अनुसूचीमा राखिएको खुसियालीमा 'म जन्मँदाको नेपाली, मर्दाको नेपाली' भनेर भारतको कुनै नामुद अंग्रेजी पत्रिकामा अन्तर्वार्ता प्रकाशित भयो।

    त्यसपछि नेपालका तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालार्इ खोइ किन हो केमा चित्त नबुझेर हो 'नरबहादुर भण्डारी नेपाली होइनन्, भारतीय हुन्'  भनेर  बोलेको कुरा  'द टेलिग्राफ,  स्टेसम्यान र एसियन एज' नामक अंग्रेजी दैनिक पत्रिकाहरूमा खबर प्रकाशित भएपछि सिक्किम र दार्जिलिङतिर खुबै चर्चा चलेको थियो।

    नरबहादुर भण्डारी अहिले दिवङ्गत हुनुमा पनि काजीका गुण्डाहरूको त्यो बेलाको कुटाइकै कारणले हो भनिन्छ। उनी सफल  वा असफल राजनीतिज्ञ थिए वा नेता थिए कि चुनाव जितुवा मात्रै थिए, सिक्किमेहरूले मूल्याङ्कन गर्ने विषय हो। हामी जस्ता स्वतन्त्र मानिसहरूले नेपाली भाव भावना बोकेको एउटा सिक्किमे छोरालाई श्रद्धाञ्जलि अर्पण गर्नै पर्छ। उनको स्वर्गमा बास होस् भन्नै पर्छ।

    उनी गए, फर्केर नआउने बाटामा बिलाए। तर आजसम्म पनि आफूलार्इ 'सिक्किम सब्जेक्ट' भनेर गर्व गर्ने 'सिक्किम सब्जेक्ट'हरूले उनीहरूको राजतन्त्रात्मक सिक्किम देश भएका बेला आफूलार्इ सिक्किमका नेभोला (नेपाली, भोटिया, लाप्चे र लेप्चा) भनेर चिनाउँथे। लिम्बू र लेप्चाहरूले आफूलार्इ रोङ् र चोङ् भने पनि सामूहिक रूपमा सबै नेभोलाहरूमा नै गनिन्थे।

    सिक्किम भारतमा विलय भयो तर सिक्किमका 'सिक्किम सब्जेक्ट' अर्थात् राजा छोग्यालका प्रजा सिक्किमका रैथाने नेभोलाहरू संवैधानिक रूपमा भारतीय नागरिक भएनन् र हालसम्म पनि भएका छैनन्।

    यी र यस्तै कारणहरूले वा वास्तविक परिचयको अभाव अनुभव गरेर पनि होला, सिक्किमका अधिकांश मानिसले सार्वभौम राष्ट्र नेपालको नागरिकता र राष्ट्रियताबोधक शब्द 'नेपाली' परिचय बोकेर कहिले सिक्किमे नेपाली, कहिले भारतीय नेपाली भन्दै आएका छन्। सिक्किमका मानिसहरूले सिक्किमे वा भारतीय पुच्छर जोडेर नेपाली हौँ भन्ने कुनै वैधानिक आधार भने छैन। भाषिक सांस्कृतिक र भावनात्मक कुरा मात्र हो। यो कुरा सिक्किमे र हामी नेपालीले पनि यसैगरी बुझ्नु दुवैको हितमा छ। सिक्किमेहरूले नेपाली परिचय बोकेर भारतीय हौँ भन्नु र पञ्चेबाजाका धूनमा अंग्रेज नाचेको उस्तै लाग्छ। यो भनाइले कतिपय सिक्किमेहरूको चित्त पनि दुख्ला, तर यथार्थ यही हो।

    भारतमा संवैधानिक मान्यता पाएको भाषा बोल्ने भएकाले यस्तो भाषा नामको परिचय बोकेको भनेर सिक्किमेहरूले तर्क गर्ने मेलो बनाएका छन्। तर कुनै पनि भारतीय नागरिकहरूले आफूलार्इ बङ्गाली भारतीय, आसामे भारतीय, नागा भारतीय, बिहारी भारतीय, मराठा भारतीय, तमिल भारतीय, पञ्जावी भारतीय, कोङ्कणी भारतीय, कश्मिरी भारतीय, गुजराती भारतीय भन्दैनन् भने यस्ता तर्कको के मूल्य? के मान्यता? सिक्किमे नेपाली वा भारतीय नेपाली भन्नु भनेको अरू सबै भारतीयहरूका छेउमा हाँसको बथानमा बकुल्लो भएन र!

    वास्तवमा सिक्किमेहरू भारतीय नै हुन्, नेपाली होइनन्। जबसम्म उनीहरू सिक्किमे नेपाली भनाइ रहन्छन् त्यो बेलासम्म उनीहरूलाई दिल्लीले राम्रो नजरले हेर्ने छैन। नेपाली नामको जेठो संस्था नेपाली साहित्य सम्मेलन दार्जिलिङ सन् १९२४ मा स्थापना गर्ने सूर्यविक्रम ज्ञवाली, पण्डित धरणिधर शर्मा, पारशमणि प्रधान, रायसाहेव हरिप्रसाद प्रधानसमेतको नेपालीकरण अभियानमा लागेर मात्रै सिक्किमका उनीहरू नेपाली भनिन थालेका हुन्। यसभन्दा अघि सायद गोर्खा थिए वा जात र थरले परिचय दिन्थे, अनुसन्धानको विषय हुन सक्छ।

    सिक्किम देशचाहिँ संवैधानिक रूपमा भारतीय राज्य हुनु तर जमिनसँगैका मनिसहरू भारतीय नहुनु विडम्बना ठहर्छ। फेरि सिक्किम राष्ट्रलार्इ भारतीय राज्यमा विलय गराएर राष्ट्रभक्ति देखाउने मुख्यमन्त्री पवन चामलिङलगायत सिक्किमेहरूको राष्ट्रभक्तिचाहिँ कतातिर को हो? नागरिकता नपाएको भारतप्रति हो कि 'सिक्किम सब्जेक्ट' भएकाले सिक्किम राष्ट्रप्रति को नै हो?

    हाम्रा मानिसहरू जतासुकै बसेका हुन्, जुनसुकै देशको नागरिक बनेका हुन् वा जुनसुकै देशको राष्ट्रियता स्वीकार गरेका हुन्, सिक्किमेहरूको जस्तो राष्ट्रभक्तिले त हाम्रो सिङ्गो जातिको नैतिकता, इमान्दारी र देशभक्तिप्रति कलङ्क लाग्ने सम्भावना छ। त्यसैले उनीहरूले भारतीयका रूपमा नै आफूलाई स्वीकार गर्नुपर्छ। भारतीय नागरिकताका लागि उचित कारवाही चलाउनुपर्छ कि त सिक्किम भारतको होइन भन्न सक्नुपर्छ। अब सिक्किमेहरू दोहोरो मानसिकतामा बस्नु उनीहरूकै हितमा हुँदैन।

डीआर कोइराला

कोइराला नेपाल-भारतमामिलाका जानकार लेखक हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]