|
Photo : annapurnapost

बैतडी (गोठालापानी) : नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन। १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि। देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो। कतिपय कुपोषणको सिकार भए। लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो। १६औं पटकमा जन्मिएकी छोरी बाँचिन् तर परिवार खुसी भएन।

१७औं पटकमा बल्ल छोरा जन्मियो। परिवारमा खुसी छायो। अझै छोराको चाहना मरिसकेको थिएन तर अठारौंपटक फेरि छोरी नै जन्मिइन्। जुन स्याहार, हेरचाह र खाना देवकीलाई छोरा जन्माउँदा मिलेको थियो, छोरीको पालामा त्यो मिलेन। 'मलाई बाँचुन्जेल यस्तै यातना सहन लेखेको रहेछ। म मरेपछि श्रीमानले अर्की ल्याइहाल्छन्, कसलाई के को पीर छ र !' देवकीको आक्रोश र रोदन मिश्रित भनाइबाट उनको सुत्केरी जीवन सहज छैन भन्ने अनुमान सहजै लगाउन सकिन्छ।

देउता खुसी पार्न यातना

कलिलै उमेरमा विवाह र निरन्तर गर्भवती हुनुको पीडा खपिसाध्य छैन। त्यसमाथि देउता खुसी पार्ने नाममा दिइने यातनाले देवकी शारीरिक र मानसिक रूपमा कमजोर बन्दै छिन्। सुत्केरी भएको चार दिनमा उनलाई गोठको कुनाबाट घरको कुनामा सारिन्छ। गर्भवती भएको ६ महिनादेखि बच्चा पाएको २२ दिनसम्म उनलाई परिवारका कुनै सदस्यले छुँदैनन्। भुटेको भात खान पाउनुलाई पनि भाग्यमानी सम्झिनुपर्छ। पीडाका बेला आफ्ना मान्छे झन् टाढा हुँदा देवकीको मन भक्कानिन्छ। ३५ वर्षमा १८ पटक सुत्केरी भएकी देवकीको आँखा नरसाएका दिन छैनन्। गर्भवती र सुत्केरीलाई देवीदेवताको मन्दिर भएको बाटो नै हिँड्न दिँदैनन् स्थानीय। त्यो पीडा देवकीले निरन्तर भोग्नुपरेकै छ किनकि धेरैजसो स्वास्थ्य संस्थासमेत देवीदेवताकै आसपास छन्।

गर्भवती होस् या सुत्केरी, पर्याप्त पोषिलो र तागतिलो खाना खानुपर्छ। त्यसले आमा र बच्चा दुवैको जीवन स्वस्थ बनाउँछ। तर, देवकीलाई दूध, दही, हरियो सागसब्जी, फलफूल, गेडागुडीको झोलजस्ता पोषिलो खाना दिइँदैन। 'बच्चा मरेको मर्‍यै भए। अस्पताल जाँदा पनि केही भएन। वैद्यकहाँ धाउँदाधाउँदा बल्ल एउटा छोरो जन्मियो। आमालाई दूध-दही, हरियो-परियो दियो भने त्यो पनि मर्छ', पति घनश्यामले भने, 'पाप हुने काम गर्नुहुन्न। यो हाम्रो समाजको नियम हो।'

देवकीजस्तै सुदूरपश्चिमका अधिकांश सुत्केरीले देउता खुसी पार्ने नाममा यस्तो यातनामा बाँच्नुपरेको छ। धेरै सुत्केरी र नवजात शिशुको ज्यान जाने गरेको छ। 'म धन्न बाँचेको छु। मेरा धेरै छिमेकी यस्तो बेला मरेका छन्। बच्चा त कति खेर जान्छन् कति,' देवकीले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.