|
Photo : Raman Siwakoti

काठमाडौं : सिंगापुरमा जारी आइसीसी यू-१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सोमबार घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गरेको नेपालले मंगलबार मलेसियाविरुद्ध ५ विकेटको जित दर्ता गर्‍यो।

यो खेलमा पनि नेपाल बलिङकै मात्र भर पर्नुपर्‍यो। मलेसियाले प्रस्तुत गरेको ५९ रनको झिनो लक्ष्य पूरा गर्ने क्रममा नेपालले ५ विकेट गुमायो। नेपाललाई विजयी लक्ष्यसम्म डोहोर्‍याउने क्रममा आशिफ शेखले २३, प्रनित थापा मगरले अविजित १८, सन्दीप सुनारले ६, अदिल खानले ५ तथा दीपेन्द्र ऐरी र रोहित पौडेलले ४/४ रन जोडे।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले मलेसियालाई ५८ रनमा समेटेको थियो। लगातार दोस्रो खेलमा ५ विकेट लिने क्रममा कप्तान सन्दीप लामिछानेले ८ ओभर ५ बल बलिङ गर्दै १ मेडन राख्दै १७ रन खर्चिए।

सन्दीपका अलावा पवन सर्राफले ३ तथा सन्दीप सुनार र किशोर महतोले १/१ विकेट लिए। मलेसियाका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। अर्को खेलमा सिंगापुरले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गरिरहेको छ।

राउण्ड रोविन लिगका आधारमा खेलाइएको प्रतियोगितामा चारवटै टोलीले एक/अर्कासँग दुई-दुई खेल खेलिसक्दा अंक तालिकाको शीर्ष स्थानमा रहने टिम सन २०१८ को जनवरीमा न्यूजिल्याण्डमा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.