|

सुनसरी :  धरानमा नृत्यकला व्यवसायिक बन्दै गएको छ। विभिन्न सभा सेमिनार तथा विवाह, पार्टी लगायतका कार्यक्रममा समेत नर्तक\नृत्यांगनाको माग बढेको छ।

नृत्यकला व्यवसायबाट नै मनग्य आम्दानी गर्ने गरेको गरिमा डान्स सेन्टर धरानमा सञ्चालन सञ्जु राई (सुमित्रा) ले बताइन्। उनका अनुसार यो व्यवसायमार्फत मासिक खर्च कटाएर ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ। 

धरानको सबैभन्दा पुराना डान्स सेन्टर गरिमा डान्स सेन्टरले व्यवसायिक रूपमा नृत्यकलाकोे प्रशिक्षण दिन थालेको १५ वर्ष भइसक्यो। २०५९ सालमा स्थापना भएको गरिमा डान्स सेन्टरले एक जनालाई ‘बेसिक कोर्स’को नृत्य सिकाएबापत ६ महिनाको ८ हजार लिने गरेको सञ्चालक राईले बताइन्। उनका अनुसार गरिमा डान्स सेन्टरबाट अहिलेसम्म ५ हजार भन्दा बढीले नृत्यकला सिकिसकेका छन्। नृत्यकला सिकेका कतिपयले धरानमा नै डान्स सेन्टर सञ्चालन गरेको उनको भनाइ छ।  

गरिमा डान्स सेन्टरमा धरानको विभिन्न कलेज तथा स्कुलका विद्यार्थीदेखि विभिन्न पेशाकर्मीसमेत नृत्यकला सिक्न आउने गरेका छन्। मानिसहरूमा पश्चिमा संस्कृति मौलाए पनि आफ्नो कला र संस्कृतिप्रतिको मोह अझै कायमै रहेको गरिमा डान्स सेन्टरका नृत्य निर्देशक मणि लिम्बुको भनाइ छ। ‘अहिले पश्चिमा संस्कृतिले सबैतिर गाँजेको छ', झण्डै २० वर्ष नृत्य निर्देशकको क्षेत्रमा काम गरेका उनले भने, 'तर, आफ्नो पहिचान झल्किने कला र संस्कृति भनेको नै हाम्रा सांस्कृतिक नृत्यहरू हुन्। जसमा यहाँको सेलो, मारुनी, लाखे, झ्याउले आदि पर्दछन्।’ 

नृत्यकला व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताउँदै नृत्य निर्देशक लिम्बुले भने,‘आफूले सिकेको सिपलाई निरन्तर रूपमा प्रस्तुत गर्ने खुबी हुनुपर्छ । कुनै पनि ठाउँमा लजाउनु हुदैन। हामीले सही तरिकाबाट नृत्यलाई ग्रहण गर्न सकियो भने यस क्षेत्रबाट आफूलाई व्यवसायिक बनाउन सकिन्छ।  साथै मनग्य आम्दानी समेत गर्न सकिन्छ।’ 

धरानमा नृत्यकला सिकाउने १० वटा भन्दा बढी नृत्य प्रशिक्षण केन्द्रहरू रहेका छन् । जसमा गरिमा डान्स सेन्टर, मुनलाइट, रोयल, रंगभूमि, नृत्यबाटिका, हाम्रो डान्स सेन्टर, डिटु क्रेजी, युनाइटेड मल्टी आर्टस् लगायतका डान्स सेन्टरले नृत्य कला सिकाइरहेका छन्। ती डान्स सेन्टरमा ४ वर्षकादेखि ५० वर्षभन्दा माथिकाले समेत नृत्य सिकिरहेका छन्।  

धरानलाई नृत्यको क्षेत्रबाट अगाडि बढाउन लागि परेका नृत्य निर्देशक लिम्बुका अनुसार कलाकारिता क्षेत्रमा आउने व्यक्तिले सदैव आफुलाई फुर्तिलो र सक्षम बनाउन तयार रहनु पर्दछ। आफूले सिकेको कलालाई जुनसुकै ठाउँमा गएर पनि प्रदर्शन गर्न सकिने बताउदै निर्देशक लिम्बुले भने ‘ हामीले पूर्वी नेपालको सम्पूर्ण जिल्लाको कुना–कुनामा आफ्नो कला प्रदर्शन गरिसकेका छौं। भारतको पनि विभिन्न सहरमा नृत्य प्रदर्शन गरिसकेका छौं।’ 

धरानमा सञ्चालित डान्स सेन्टरहरूले कुनै पनि नृत्य प्रस्तुत गर्दा ठाउँ र  नृत्यको प्रकृति अनुसार फरक फरक शुल्क लिने गरेका छन्। उनीहरूले न्युनतम पाँच हजार रूपैयाँभन्दा माथि लिने गरेका छन्।  धरानका डान्स सेन्टरहरूमा सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम पाँचथर, इलाम, उदयपुर, संखुवासभा, भोजपुर लगायतका जिल्लाहरू साथै धरानमा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी साथै शिक्षकहरूले समेत नृत्यकला सिक्ने गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.