|
फोटो : सौजन्य जित गुरुङ

गोरखा : गोरखाको उत्तरी दुर्गम भेगमा विश्वखाद्य कार्यक्रमले वितरणका लागि लगेको दालचामल कुहिएको भेटिएको छ। यसअघि गोरखाको लाप्राकमा पनि कुहिएको चामल वितरण गरेर विवादमा परेको डब्लु एफपीले यसपटक पनि कुहिएको दालचामल भेटिएको हो। कामका लागि खाद्यन्नअन्तरगत स्थानीयले सो ठाउँमा विभिन्न निर्माणका काम गरेका थिए। सोही काम बापत अहिले डब्लुएफपीले चामल र दाल वितरण गर्न लागेको हो।

जिल्लाको सिर्दीबास र उहमा सोमबार वितरण गरेको दाल चामल कुहिएको परेको स्थानीयले बताएका छन्। ‘दालचामल वितरण सुरु गरेको छ’ खोर्लाका जीतबहादुर गुरुङ्गले भने ‘यहाँका सबै घरलाई ७५ किलो चाम दिएको छ। नौ किलो भने दाल दिएको छ।’ डब्लु एफपीले प्रत्येक घरलाई एकसय ५० केजी चामल र २७ केजी दाल दिने भने पनि नौ केजी दाल र ७५ केजी मात्र चामल वितरणसमेत गरेको हो।

त्यस्तै, उता सिर्दीबासमा गाउँमा वितरण भएको चामल भन्दा दाल धेरै विग्रेको स्थानीयले बताए। ‘चामल भन्दा दाल त खतमै छ, पुरै ढुसी आएको छ’ वडाअध्यक्ष रामकुमार गुरुङ्गले भने ‘ दाल त कुहिएर डल्ला डल्ला परेको छ, उत्तिकै किरा परेको छ। यिनीहरुले ल्याउने बेलामा जोगाएर ल्याउन नसकेकोले गाउँलेलाई अहिले कुहिएको दालचामल वितरण गर्नुपर्‍यो। यिनीहरुले खच्चडमा बोकाएर ल्याउँदा सुरक्षित तबरले ल्याएको भए गाउँलेले केही नभएको खानेकुरा त पाउँथ्यो।’

डब्लुएफपीले भूकम्पपीडितलाई पुनर्लाभ कार्यक्रमअन्तर्गत उहिया र सिर्दिबासमा कामका लागि खाद्यान्न कार्यक्रम गरेको थियो। गोरेटो गोरखासँगको  स्थानीय साझेदारीमा बाटो निर्माण गरिएको थियो। स्थानीले ४० दिन काम गरेका थिए। डब्लु एफपीले डेढ महिना अघि वितरण गर्नुपर्ने खाद्यन्न यतिका ढिलो बाँड्दा पनि कुहिएको ल्याएको भन्दै स्थानीय रुष्ट भएका छन्। लामो समयपछि नबाँडेका कारण चामल र दाल कुहिएको हो।

कामदारको नामको चामल र दाल कुहिएपछि फेरि काम गरे बराबरको दाल चामल कहिले पाउने चिन्ता स्थानीयलाई रहेको वडा अध्यक्ष गुरुङ्गले गुनासो गरे। डब्लुएफपीले चामल दाल वितरण गर्ने भनेर स्थानीयले यस पटकको बर्खाका लागि खाद्यन्न आफ्नै तबरले जोहो समेत गरेका थिएनन्। अहिले उत्तरी गोरखा जाने बाटो बूढी गण्डकी बढेर, पहिरोहरु खस्ने गरेर बेला बेला अबरोध समेत हुँदै आइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.