|

चितवन : चितवनको रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६ सय ९३ घर डेंगु पोजेटिभ पाइएको छ। हालै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न चलाएको घरदैलो अभियानका क्रममा यस्तो पाइएको हो।

कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले असार १८ देखि २० गतेसम्म सञ्चालन गरिएको उक्त अभियानको प्रतिवेदनबारे मंगलबार जानकारी दिँदै यहाँका ८ हजार ७ सय ९७ घरमा गरिएको अनुगमनमा ६ सय ९३ घर डेंगु पोजेटिभ पाइएको जानकारी दिए।

रत्ननगरमा ८ हजार ३ सय ३० घरमध्ये ५ सय ३५ र खैरहनीको १ हजार ४ सय ६७ घरमध्ये १ सय ५८ घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा फेला परेको प्रतिवेदनमा जनाइएको छ। विभिन्न घरमा डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेका लार्भा र प्युपा पाइएको भन्दै केसीले अन्य नभएका घरमा समेत यसले रोग सार्ने सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरेका छन्।

सो क्षेत्रमा भेटिएका लार्भा स्वयंसेवीकाहरुले नष्ट गरेको र फेरि विभिन्न भाँडाकुँडामा एकसातासम्म पानी जमेमा लार्भा हुर्कने र डेंगु रोग लाग्न सक्ने भएकाले यसतर्फ ध्यान दिन जनसवास्थ्य कार्यालयले अपिल गरेको छ।

रत्ननगरकी स्वयंसेविका ज्ञानु वाग्लेले नगरपालिकाभित्रै पनि लामखुट्टेका लार्भा र प्युपा फेला परेको जानकारी दिए। अघिल्लो वर्ष चितवनको रत्ननगर नगरपालिकामा डेंगुको प्रकोप फैलिएकाले यहाँ डेंगु रोक्न पूर्व–तयारीस्वरुप अभियान चलाइएको हो।

डेंगु सार्ने लामखुट्टेले जमेको सफा पानीमा फूल पार्ने र बच्चा हुर्काउने भएकाले घरवरपर यसरी कुनै पनि भाँडामा पानी जम्न नदिन चिकित्सकहरुले आग्रह गरेका छन्। रोग नियन्त्रणको प्रभावकारी माध्याम नै खोजेर नष्ट गर्ने भएकाले उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो। आर्थिक वर्ष ०७२÷७३ मा ८५ जनामा रोग देखिँदा १ जनाको मृत्यु भएको थियो।

चालु आर्थिक वर्षमा ६ सय ८७ जनामा रोग देखिँदा १ जनाको ज्यान गएको तथ्यांक छ। यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्ने डा भोजराज अधिकारी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.