|

इलाम : इलाममा आर्थिक वर्ष ०७३÷०७४ मा प्राप्त बजेट ८७ दशमलव ७२ प्रतिशत मात्र खर्च भएको छ। गत आर्थिक वर्षमा प्राप्त ६ अर्ब ४४ करोड ३५ लाख २४ हजार ६ सय २६ रुपैयाँमध्ये ५ अर्ब ६५ करोड २१ लाख २७ हजार ७ सय ७१ रुपैयाँ मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङक छ।

जुन आर्थिक बर्ष २०७२÷७३ को भन्दा २ अर्ब ३ करोड २७ लाख ६० हजार ९४ रुपैयाँले बढी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका कोष नियन्त्रक मदनकुमार जिसीले जानकारी दिए। इलाममा गत आर्थिक बर्षमा चालुतर्फ ४ अर्ब पाँच करोड ८१ लाख ५४ हजार ८ सय ६० रुपैयाँ र पुँजीगततर्फ २ अर्ब ३८ करोड ५३ लाख ६९ हजार ७ सय ६६ रुपैयाँ प्राप्त भएको थियो। जसमध्ये चालु तर्फ २ अर्ब ८१ करोड ७१ लाख ९४ हजार ८ सय ९९ र पुँजीगतमा १ अर्ब ८३ करोड ४१ लाख ३२ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको देखिन्छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको खर्चको विवरणमा जिल्लामा सबैभन्दा बढी पुँजीगत रकम खर्च गर्नेमा शहरी विकास तथा भवन डिभिजन कार्यालयले ७४ करोड ७३ लाख ७९ हजार रुपैयाँ रहेको छ। त्यसैगरी सडक डिभिजनले ३७ करोड २१ लाख ११ हजार, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २४ करोड ७८ लाख ६१ हजार रुपैयाँ  सिंचाई डिभिजन कार्यालयले १३ करोड ४५ लाख ८७ हजार रुपैंयाँ र जिल्ला समन्वय समितिले ९ करोड ६१ लाख ४५ हजार रुपैयाँ  खर्च गरेका छन्।

जिल्लाको विकास निर्माणमा आएको बजेट गत वर्षको भन्दा बढि मात्रामा खर्च हुनुले विकासले गति लिएको कार्यालयको दाबी छ। यसैगरी सामाजिक विकासतर्फ सबैभन्दा बढी शिक्षा कार्यालयले एक अर्व १७ करोड ८५ लाख ८९ हजार रुपैंयाँ, जिल्ला स्वास्थ्य कार्यालयले १७ करोड ६४ लाख २८ हजार रुपैंयाँ, महिला तथा बालबालिका कार्यालयले दुई करोड ६२ लाख ६६ हजार रुपैयाँ र शैक्षिक तालिम केन्द्रले ६९ लाख १३ हजार रुपैंयाँ खर्च गरेका छन्।

वन कार्यालयले प्राप्त कुल बजेटको ९४ दशमल ६७ प्रतिशत, कृषि विकास कार्यालयले ९३ दशमलव ९४ प्रतिशत, पशुसेवा कार्यालयले ९९ दशमलव ४२ प्रतिशत, भू संरक्षणले ९७ दशमलव ०३ प्रतिशत, वनस्पति कार्यालयले ९१ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेका छन। त्यसै गरी वागबानी विकास केन्द्रले ८६ दशमलव ११ प्रतिशत, सहकारी डिभिजनले ८७ दशमलव ६० प्रतिशत र अलैंची विकास केन्द्रले ९८ दशमलव ५३ प्रतिशत रकम खर्च गरेका छन्।

कार्यालयका प्रमुख कोष नियन्त्रक रविन कोइरालाका अनुसार स्थानीय निकायतर्फ सबैभन्दा खर्च गर्नेमा जिल्ला समन्वय समितिले ८६ करोड २८ लाख ६२ हजार रुपैंयाँ, जिल्ला प्राविधिक कार्यालयले ५ करोड ५० लाख २७ हजार रुपैंयाँ, इलाम नगरपालिकाले ८ करोड ५१ लाख ३५ हजार, सूर्योदय नगरपालिकाले १४ करोड

दुई लाख २१ हजार र देउमाई नगरपालिकाको कार्यालयले ७ करोड २२ लाख २८ हजार रुपैंयाँ खर्च गरेको छ। इलाममा प्राप्त भएको कुल बजेटमध्ये ७९ करोड १३ लाख ९६ हजार आठ सय ७५ रुपैयाँ भने काम नभई सरकारी कोषमा फिर्ता भएर गएको कार्यालयले जनाएको छ।

 राजस्व संकलन ३७ करोड ६१ लाख

इलाम जिल्लामा गत आर्थिक बर्ष ०७३÷०७४ मा ३७ करोड ६१ लाख ८१ हजार ४ सय ३८ रुपैंयाँ राजस्व संकलन भएको छ। यो राजस्व अघिल्लो आर्थिक बर्ष ०७२÷०७२ को भन्दा ३ करोड १४ लाख ७१ हजार ६ सय ९२ रुपैंयाँ (९ दशमलव १३ प्रतिशत) ले बढि हो। कोष तथा लेखा नियन्त्रक कार्यालय इलामका अनुसार

गत आवमा सबैभन्दा बढी करदाता सेवा कार्यालयले २१ करोड ५८ लाख ३५ हजार, जिल्ला वन कार्यालयले ३ करोड ५३ लाख ६२ हजार, जिल्ला प्रशासनले २ करोड ७३ हजार, यातायात ब्यबस्था कार्यालयले १ करोड ९४ लाख ३२ हजार र पशुपतिनगर भन्सार कार्यालयले १ करोड १८ लाख २९ हजार रुपैंयाँ राजस्व संकलन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.