|

  • संजय रेग्मी-

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले आर्थिक वर्ष ०७३÷०७४ मा हालसम्मकै सबैभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले ट्राफिक कारबाहीबाट ४९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरेको हो। ट्राफिक नियम उल्लंघन गरेका कुल ८ हजार ६ सय २ वटा सवारीसाधनहरुलाई कारबाही गर्दा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष०७३÷०७४ मा २२ लाख १६ हजार ६ सय रुपैयाँ बढी राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए।

गएको आर्थिक वर्षमा सबैभन्दा धेरै २ हजार ६ सय ६१ जिप, कार र भ्यानलाई गरिएको कारबाहीबाट १४ लाख ८९ हजार ५ सय, २ हजार १ सय ५५ मोटरसाइकल कारबाहीबाट १३ लाख ५४ हजार ५ सय, १ हजार ७ सय ९ बसलाई गरिएको कारबाहीबाट ९४ हजार ४ सय, १ हजार ७४ ट्रयाक्टरको कारबाहीबाट ५९ हजार ८ सय र १ हजार ३ ट्रकको कारबाहीबाट ५८ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ। 

यसैगरी, मादकपदार्थ सेवन गरी चलाइएका ७४ सवारी कारबाहीमा पर्दा ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। ट्राफिक प्रहरीले राजस्व संकलनमा वृद्धि गर्दा सवारी दुर्घटनामा समेत कमी आएको छ। ट्राफिक प्रहरीले आप्mनो सक्रियता बढाउँदै सवारी चालक, यात्री र पैदलयात्रीहरुलाई ट्राफिक नियमबारे सचेतना कार्यक्रमहरु सञ्चालन गरेपछि मानवीय त्रुटिका कारण हुने दुर्घटनामा कमी आएको हो।

जिल्लामा अघिल्लो आर्थिक बर्षमा भएका १७ दुर्घटनामा ४ पुरुष, २ महिला र १ बालक गरी ७ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष ०७३÷०७४ मा १० दुर्घटनामा १ पुरुष ४ महिला र १ बालक गरि ६ जनाले ज्यान गुमाएको कार्यालयले जनाएको छ। सवारीसाधन र चालकहरुको संख्या वृद्धिसँगै आफूहरुसँग भएको सीमित स्रोत र साधनलाई प्रयोग गर्दा पनि सवारी दुर्घटनामा कमी आएको कार्यालय प्रमुख रानाभाटको दाबी छ।

पर्वतमा अहिले ११ जना ट्राफिक प्रहरीको दरबन्दी छ। ट्राफिक प्रहरीसँग सवारीको गतिमापन यन्त्र, म्याजिक लाइट लगायतका सामग्रीको अभाव छ भने एम्बुलेन्स र क्रेन लगायतको सेवा सुविधा नहुँदा ठूला दुर्घटना हुँदा घन्टौंसम्म सडक अवरुद्ध हुने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.