|

कञ्चनपुर : बाढीबाट हुने क्षति कम गर्नका लागि सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत गठन गरिएका कार्यदललाई कञ्चनपुरमा सतर्क अवस्थामा राखिएको छ। बाढीका बेला पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदललाई सतर्क अवस्थामा राखिएको हो। दोदा, सुनवोरा, स्याली, मछेली वनहरालगायत नदी तटीय क्षेत्रका वासिन्दालाई बाढी आउनअगावै सुरक्षा दिन कार्यदलका सदस्य सचेत गर्ने कार्यमा जुटेका छन्।

बाढीका कारण तटीय क्षेत्रका बासिन्दाको जिउधन, जग्गा कटानी र बालीनालीमा नोक्सानी हुँदै आएको छ। डुबानमा पर्न सक्ने र बाढीको उच्च जोखिममा पर्न सक्ने बासिन्दालाई सघाउ पुर्‍याउन कार्यदल गठन गरिएको हो। जिल्लामा गठन भएका १५ वटा समितिअन्तर्गत गठित पूर्वसूचना कार्यदलका तीन, खोज तथा उद्धार कार्यदलका पँच र प्राथमिक उपचार कार्यदलका तीनजनालाई तालिम प्रदान गरी बाढीको जोखिम हुन सक्ने क्षेत्रमा तयारी अवस्थामा राखिएको छ।

आपत्कालीन सञ्चालन केन्द्र र जल तथा मौसम विभाग फिल्ड कार्यालय अत्तरियाको सम्पर्कमा रहेर कार्यदलका सदस्यहरुले कार्य गर्ने व्यवस्था गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाका अधिकृत महेश घिमिरेले बताए।

परियोजनाअन्तर्गत कार्यदलका सदस्यलाई कृत्रिम नमुना अभ्याससँगै लाइफ जाकेट, स्टे«चर, डोरी, ट्युब, साइरन मेसिन, प्राथमिक उपचारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उनले बताए। समुदायमा विपद्को बेलामा प्रभावित व्यक्तिलाई तत्कालको राहत प्रदान गर्न खानेकुराका लागि समुदायमा आपत्कालीन कोष खडा गरिएका छन्। ठाउँ ठाउँ खानेपानीका लागि सुरक्षित धारा र सेफ हाउससमेत निर्माण गरिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.