तालाबन्दी गर्ने निर्णयलाई नेविसंघको केन्द्रीय समितिले मान्यता दिएन

|

विराटनगरः पूर्वाञ्चल विश्वविद्यालयमा परीक्षा नियन्त्रकसहित चार पदाधिकारी नियुक्त भएपछि सुरु भएको विवाद चर्किंदै जाँदा नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा पनि असर परेको छ। 

पदाधिकारी नियुक्तिप्रति असहमति जनाउँदै नेपाल विद्यार्थी संघ मोरङले गरेको तालाबन्दी आधिकारिक नभएको भन्दै केन्द्रले अर्काे विज्ञप्ति जारी गरेपछि नेविसंघभित्रसमेत विवाद सिर्जना भएको छ।

पदाधिकारी नियुक्तिप्रति असन्तुष्ट नेविसंघ मोरङले आइतबार विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको थियो। तर नेविसंघ केन्द्रीय समितिले भने जिल्ला सभापतिका नाम उल्लेख गरी गोपाल सेढाईंले जारी गरेको विज्ञप्ति फर्जी भएको बताउँदै अर्काे विज्ञप्ति जारी गरेपछि नेविसंघभित्रको विवाद बाहिर आएको हो। 

नेविसंघ सह–महामन्त्री कृष्ण कार्कीले ११औँ महाधिवेशनपश्चात नेविसंघको जिल्ला कार्यसमितिका पद रिक्त रहेकाले गोपाल सेढाईं जिल्ला सभापति नरहेको र उनले जारी गरेको विज्ञप्ति फर्जी भएको दाबी गरे। 

विश्वविद्यालयको कार्यकारी परिषद्ले शुक्रबार प्रा.डा. सूर्यप्रसाद संग्रौलालाई परीक्षा नियन्त्रक, प्रा.डा. मीनराज ढकाललाई अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, सह–प्राध्यापक सञ्जेशप्रसाद कोइरालालाई योजना महाशाखा प्रमुख र देवीप्रसाद घिमिरेलाई कानुनी सल्लाहकारमा नियुक्त गरेको थियो। 

तालाबन्दीपछि नवनियुक्त परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले त्रिपाल टाँगेर कार्यालयको काम गरिरहेको बताए। पदाधिकारी नियुक्तिका विषयमा नेविसंघभित्रै विवाद आएको भए पनि नेविसंघ स्वयंले ताला नखोलेसम्म आफू त्रिपालमुनि बसेर नै विद्यार्थीका काम गर्ने उनले बताए। 

नवनियुक्त पदाधिकारीहरूमा चारमध्ये परीक्षा नियन्त्रक संग्रौला र अनुसन्धान केन्द्रका निर्देशक ढकालले चार वर्षे कार्यकालका लागि नयाँ नियुक्ति पाएका हुन् भने योजना प्रमुख कोइराला र कानुनी सल्लाहकार घिमिरेलाई अर्को कार्यकालका लागि म्याद थप गरिएको हो। 

स्रोतका अनुसार नवनियुक्त पदाधिकारीमध्ये परीक्षा नियन्त्रक संग्रौला र योजना प्रमुख कोइराला नेपाली कांग्रेस र अनुसन्धान निर्देशक ढकाल र कानुनी सल्लाहकार घिमिरे एमालेको कोटाबाट नियुक्त भएका हुन्। 

संग्रौला नेपाल महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य डा. डीला संग्रौलाका श्रीमान् हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.