चिंगाडमा गाउँसभा हुन सकेन

|

  • सबिता जिसी

सुर्खेत : संघीय संरचना पश्चात वैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएका जिल्लाका स्थानीय तहहरु अहिले गाउँ-नगरसभा सम्पन्न गर्दे बजेट बिनियोजनमा व्यस्त छन्।

यसअघि गाविस र नगरपालिकाबाट बजेट बिनियोजन गर्दै आएकोमा अहिले पहिलो पटक बजेट बिनियोजन र आफ्नो गाउँ-नगरसभा सम्पन्न गर्न लागेका स्थानीय तहका जनप्रतिनिधि स्थानीय तहको निति, बजेट तथा कार्यक्रमहरु सार्वजनिक गर्न व्यस्त देखिएका हुन्।

गाउँ तथा नगर सभामा प्रस्तुत भएका विभिन्न योजनाहरुको विषयमा गहन छलफल र योजना पास गर्नका लागि पनि अहिले जनप्रतिनिधिहरु व्यस्त छन्।
५ नगरपालिका र ४ गाउपालिका गरी ९ वटा स्थानीय तह रहेको सुर्खेतमा चिगांड गाउँपालिकाबाहेक अन्य सबै स्थानीय तहहरुले आफ्ना निति कार्यक्रम र बजेट प्रस्तुत गरिसकेका छन्। प्रस्तुत गरिसकेका कार्यक्रम बारेमा छलफल चलिरहेको छ।

प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा चर्चामा रहेको सुर्खेतको पुरानो र सबैभन्दा ठूलो नगरपालिका वीरेन्द्रनगरले आकर्षक र विभिन्न योजनाहरुसहित नीति तथा कार्यक्रमसहित बजेट विनियोजन गरेको छ। 

सुर्खेतलाई प्रदेश नम्बर ६ को राजधानी बनाउनका लागि वीरेन्द्रनगरका संरचनाको विकासमा प्राथमिकता दिइएको छ। प्रदेश राजधानी बनाउनका लागि पनि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको आवश्यक संरचना तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यकता छ।

३ अर्ब बजेट बिनियोजन

आगामी आर्थिक वर्ष २०७४-०७५ का लागि सुर्खेतमा ३ अर्ब २६ करोड ३८ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन भएको छ। पहिलो संघीय बजेटमा सुर्खेतका ९ वटा स्थानीय तहका लागि उक्त बजेट बिनियोजन भएको हो। 

सुर्खेतका ४ गाउँपालिकाका लागि १ अर्ब १७ करोड १३ लाख  १० हजार  रुपैयाँ र ५ वटा नगरपालिकाका लागि २ अर्ब ९ करोड २५ लाख ३ हजार रुपैयाँ बजेट विनियोजन भएको हो।

सुर्खेतका नौं स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट वीरेन्द्रनगर नगरपालिकाको छ भने कम बजेट चिंगाड गाउँपालिकाको २२ करोड २२ लाख ९० हजार रुपैयाँ छ।  चिंगाडमा अहिलेसम्म गाउँसभा हुन सकेको छैन। 

सदरमुकाम वीरेन्द्रनगर नगरपालिकामा ६५ करोड ५४ लाख ३ हजार रुपैयाँ र सिम्ता गाउँपालिकाको १४ करोड ८८ लाख ३८ हजार रुपैयाँ बजेट छ। यस्तै भेरीगंगा नगरपालिकामा ४९ करोड ५८ लाख ४४ हजार रुपैयाँ, गुर्भाकोट नगरपालिकामा ४३ करोड ५४ लाख ७३ हजार रुपैयाँ, पञ्चपुरी नगरपालिकामा ३८ करोड ९४ लाख ४४ हजार रुपैयाँ र लेकवेशी नगरपालिकामा ३० करोड ९७ लाख ७६ हजार रुपैयाँ बजेट नगरसभामार्फत पारित भएको छ।

यस्तै गाउँपालिकातर्फ बराहतालको ३३ करोड ६२ लाख ३ हजार रुपैयाँ, चौकुने गाउँपालिकाको ३१ करोड ९५ लाख रुपैयाँ र चिंगाडको २२ करोड २२ लाख ९० हजार रुपैयाँ बजेट पारित भएको छ। 

प्राथमिकतामा सडक

कर्णालीे प्रवेशद्धारको रुपमा रहेको सुर्खेत खाल्डाखुल्डी र साँघुरा सडकको मारमा छ। पहिलो पटक गाउँपालिका र नगरपालिकाको बजेट बिनियोजन भएकोमा सुर्खेतका सबै स्थानीय तहले भौतिक संरचनाको निर्माण र  पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्।

विकासमा पछाडि परेको सुर्खेत सम्भावनामा भने अगाडि छ। सुर्खेत जिल्लाका अधिकांश ग्रामिण सडकहरु कच्ची छन्। जसले गर्दा सबै स्थानीय तहमा सहज रुपमा सवारी साधन पुग्न सकेको छैन।

सवारी साधन पुगे पनि नियमित रुपमा पुग्न नसक्दा स्थानीय बासिन्दाहरु जिल्ला सदरमुकाम वीरेन्द्रनगर सम्म आइपुग्नका लागि धेरै समय खर्चिनु पर्ने बाध्यता छ।

सुर्खेतका स्थानीय तहले विकासको मुख्य पाटोका रुपमा सडक बिस्तार र निर्माणलाई दिएका छन्। जसले गर्दा उनीहरुले सडक निर्माणलाई प्राथमिकतामा राख्दै पूर्वाधार निर्माण क्षेत्रमा बढी बजेट छुट्याएका छन्।

सुर्खेत वीरेन्द्रनगरदेखि स्थानीय तहमा पुग्ने सडकको अवस्था दयनीय हुँदा नागरिकले सास्ती खेप्दै आएका छन्। सडकपछि गाउँ नगरका सभाबाट स्थानीय जनताको आर्थिक स्तरमाथि उकास्ने, पूर्वाधारहरुको विकास गर्ने, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, वातावरण तथा विभिन्न प्रकोप व्यवस्थापन, खानेपानीको सहज पहुँच, युवा स्वरोजगार लगायतका विषयलाई  प्राथमिकतामा राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.