|

गोरखाः २०७२ बैशाख १२ गते गएको गोरखा भूकम्पले ध्वस्त गोरखा दरबारको पुनर्निर्माण सुरु भएको छ। विनाशकारी भूकम्पबाट गोरखाको पुरातात्त्विक तथा ऐतिहासिक गोरखा दरबार पनि अछुतो थिएन। 

नेपाल एकीकरणका नायक  पृथ्वीनारायण शाहको दरबार तथा गोरखा दरबारलाई भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माण गर्न लागिएको हो। भूकम्पले क्षति पुर्‍याएको दुई वर्षभन्दा बढी समयपछि गोरखा दरबार पुनर्निर्माण गर्न लागिएको हो। 

अहिले दरबारलाई बाहिरबाट जस्ता पातासहितको टहरो निर्माण गरेर ढाकेर भित्रका संरचनाहरू भत्काउने तयारी थालिएको दरबार हेरचाह अड्डाका रामेश्वर कट्टेलले जानकारी दिए।

‘दरबारलाई चारैतिरबाट जस्ता पाताको टहरोले घेर्ने तयारी थालिएको छ’, उनले भने, ‘यसका लागि २० लाख रुपैयाँ आएको छ।’ उनले जस्ता पाताले दरबारलाई भित्र पार्नेगरी छेकिने र मूल दरबार भत्काउन सुरु गरिने जानकारी दिए।

उनका अनुसार पुरातत्त्वविद् र प्राविधिकहरूको सल्लाहअनुसार पुरातत्त्व विभागले गोरखा दरबार भूकम्पका कारण धराप भएको भन्दै जगैदेखि भत्काएर पुनर्निर्माण गर्न लागिएको हो। दरबार जगैदेखि भत्काएर बनाउनका लागि पुरातत्त्व विभागले गत असार २० गते पाँच करोड ५० लाख रुपैयाँ बराबरको टेण्डरका लागि गोरखापत्रमा सूचना जारी गरिसकेको उनले बताए।

‘भूकम्प गएको यतिका समयपछि बल्ल पोल, खम्बा, टेका लगाएर काम गर्ने सुर झिकेका छन्’, गोरखनाथ गुफाका मूल पुजारी प्रदीपनाथ योगीले भने, ‘ढिलै भए पनि नेपाल एकीकरणको थालनी भएको दरबारको मर्मत हुन लाग्नु खुसीको कुरा हो।’ दरबार मर्मत नहुँदा दैनिक पूजापाठ गर्न आउने भक्तजन तथा तीर्थालुहरूलाई समस्या भएको थियो। 

भूकम्पका कारण दरबारको माथिल्लो छाना भत्किएको थियो। दरबारको छाना छाइएका टायल, इट्टाहरू खसेर पानी चुहिने भएको थियो। दरबारका भित्ताहरू चर्किएका छन्।

भूकम्पले दरबारमा रहेको चौघेराको विद्या मन्दिर, पण्डित पाटी, काली मन्दिरमा क्षति पुर्‍याएको थियो।। त्यस्तै मूल दरबार, गोरखनाथ मन्दिर, पशुपतिनाथको मन्दिर, रोटपाटी र शीतल पाटी तथा अन्य विभिन्न क्षेत्रमा पनि क्षति पुगेको छ। 

दरबार मर्मत तथा पुनर्निर्माण नहुँदा आन्तरिक पर्यटकसमेत घटेको अनुभव पुजारीहरूको छ। बाह्य पर्यटक आउजाउ पनि पहिलेभन्दा कम भएको स्थानीय बताउँछन्। ऐतिहासिक र धार्मिक महत्त्व बोकेको गोरखा दरबारमा क्षति पुगेसँगै अहिले जोखिम मोलेर भक्तजनहरू दर्शन गर्न बाध्य छन्।

अहिलेसम्म भूकम्पले क्षति पुर्‍याएको दरबारको चौघेरा छाना मर्मत भएको छ। त्यस्तै, क्षति पुगेको रोट पार्टीको पुनर्निर्माणको काम भएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ।

पशुपति मन्दिरको पनि मर्मत कार्य भइरहेको छ। पूर्ण रूपमा क्षति भएको गोरखनाथ मन्दिर पुरानै संरचनामा पुनर्निर्माण गर्न लागिएको हो। पुनर्निर्माण प्राधिकरणमार्फत पुरातत्त्व विभागलाई आएको ३६ लाख रुपैयाँले क्षति पुगेको दरबारका केही संरचनाहरू पुनर्निर्माण र मर्मत भएको हो।

यस पटक भने पृथ्वीनारायण शाहको दरबार नै रहेको गोरखा दरबार नै मर्मत गर्न लागिएको अड्डाले जानकारी दिएको छ।

हेर्नुहोस् फोटा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.