|

काठमाडौं : निर्वाचन आयोगले साउन १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई गाउँसम्म विस्तार गरेको छ। जिल्ला निर्वाचन कार्यालय, क्षेत्रीय निर्वाचन कार्यालयहरुमा मात्र सञ्चालन गरिएको यो कार्यक्रम अब हरेक स्थानीय तहमा पनि सञ्चालन गर्ने निर्णय मंगलबार निर्वाचन आयोगले गरेको छ।

'मतदाता दर्ता कार्यक्रमलाई सुगम र प्रभावकारी बनाउनका लागि यसअघि ७५ जिल्लाका क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा २०७४/०४/०१ देखि १५ गतेसम्मको लागि मात्र दर्ता कार्यक्रम सञ्चालन भइरहेकोमा आयोगको आजको निर्णयबाट सो कार्यक्रमलाई थप परिमार्जन गरी स्थानीय तहसम्म पुगी सञ्चालन गर्ने' आयोगको निर्णयमा भनिएको छ।

आयोगले साउन १६ गतेदेखि ३२ गतेसम्म गाउँपालिका र नगरपालिकाको कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता र संकलन गर्ने जानकारी दिएको छ। यो अवधीमा गाउँपालिका र नगरपालिकाको कार्यालयमा नाम दर्ता गराउन नभ्याएमा जिल्लास्थित निर्वाचन कार्यालयबाट गर्न सकिने आयोगले निर्णय गरेको छ। जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयमा भने निर्वाचन मिति घोषणा नहुँदासम्म निरन्तर नाम दर्ता र संकलन हुनेछ।

निर्वाचन आयोगले फोटोसहितको नाम दर्ता गराउन स्थायी बसोबास भएकै जिल्लामा जानुपर्ने व्यवस्था पनि सरल बनाएको छ। अब बाह्य जिल्ला दर्ता पनि निरन्तर हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आयोगका क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा बाह्य जिल्ला दर्ता कार्यक्रम पनि निर्वाचनको मिति घोषणा नभएसम्मको लागि निरन्तर सञ्चालन गर्ने निर्णय पनि आयोगले गरेको छ।

हेर्नुस् आयोगको निर्णय सम्बन्धी विज्ञप्ति

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.