|

  • विकास डाँगी-

दाङ: दाङ हापुरका रणबहादुर घर्ती मृत भेटिएको आठ दिन पुग्दासम्म पनि परिवारले उनको शव बुझ्न मानेका छैनन्। आफ्ना परिवारका सदस्य घर्तीको अपहरण पछि हत्या गरिएको भन्दै दोषीलाई जन्मकैदको माग गर्दै आएका परिवारले शव नबुझेका हुन्।

घर्तीको हत्यामा संलग्नलाई फाँसी या जन्मकैद हुनुपर्ने र परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग उनका परिवारले गर्दै आएका छन्। घर्तीको शवलाई राप्ती उपक्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ।

यता, स्थानीय प्रशासनले भने शवलाई बुझेर दाहसंस्कार गर्न आग्रह गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ नै पीडितको घरमा पुगी कानुनी प्रक्रियाबाट अघि बढ्न र शव बुझ्न आग्रह गरेका थिए। तर पीडित परिवारले मानेका छैनन्।

यसैबीच हिन्दू जागरण नेपाल दाङले रणबहादुर घर्तीका हत्यारालाई कडा कारवाही गर्न माग गरेको छ। हिन्दू जागरण दाङका अध्यक्ष यमबहादुर भण्डारीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अपहरण र हत्यामा संलग्नलाई कडा कारवाही गर्न र क्षतिपूर्ति दिलाउन माग गरेका हुन्।

विज्ञप्तिमा कारवाहीका लागि दवाब दिन भन्दै आगामी साउन ६ गते दाङमा यातायात बन्द गरिनेसमेत उल्लेख गरिएको छ। तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठसँगै घर्ती जेठ २६ गते अपहरणमा परेका थिए। श्रेष्ठलाई अपहरण गर्ने समूहका व्यक्तिहरूसँग घर्तीको सल्यानमा भेट भएपछि अपराध लुकाउन अपहरणकारीले घर्तीलाई समेत अपहरण गरेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

अपहरणपछि घर्तीको २९ र श्रेष्ठको ३० गते अपहरणकारीले हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्।

श्रेष्ठको असार १६ र घर्तीको २७ गते सल्यानमा शव भेटिएको थियो। अपहरण र हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.