|

दमकः तीन वर्षदेखि झापाको कमल गाउँपालिका– ३ मा बस्दै आएका विक्रम दर्जी (३४) को कम्मरमुनिको भाग चल्दैन। उनको कम्मरमुनिको शरीर नै सुकेको छ। उनी छ वर्षको हुँदादेखि उनका दुवै खुट्टा राम्ररी चल्न छाडेका हुन्। एउटा खुट्टा अलिअलि चलेको भरमा उनले जिन्दगी चलाउँदै आएका छन्।

शिवसताक्षी– ७ घर भए पनि कसैको सहारा नभएपछि आफ्नी कान्छी दिदीको घर नजिकै आएर बसेका दर्जी लुगा सिलाएर आफ्नो दैनिकी चलाउँदै आएका छन्। सानै उमेरदेखि शारीरिक रूपमा कमजोर बनेका दर्जीले २० वर्षको उमेरमा नजिकैकी सविना माझीसँग प्रेम विवाह गरे। विवाह गरेको ११ वर्षपछि सविना र विक्रमको सम्बन्ध छुट्यो। तीन वर्षदेखि विक्रम र उनका आठ वर्षका छोरा विवेक यहाँ बस्दै आएका छन्। 

एउटा खुट्टाले मेसिन चलाएर लुगा सिलाएको भरमा आफ्ना छोराको पढाइ सँगसँगै जीवन धान्न मुस्किल परेको उनी बताउँछन्। ‘धेरै समस्या छ, एउटा खुट्टाको भरमा मेसिन चलाएर लुगा सिलाउनुपर्छ’, उनी भन्छन्, ‘त्यही एउटा खुट्टा पनि जबर्जस्ती अलिअलि मात्र चल्छ।’ 

उनले नेपाल सरकारले उपलब्ध गराउने पूर्ण अपांगको सेवा सुविधा लिइरहेका छन्। तर सरकारले उपलब्ध गराएको मासिक दुई हजार रुपैयाँले घर भाडा बुझाउनसमेत नपुग्ने उनी बताउँछन्। ‘सरकारले चार महिनामा एक पटक आठ हजार रुपैयाँ दिन्छ, यसले त घर भाडा पनि पुग्दैन’, उनी भन्छन्, ‘छोरालाई पढाउनुप¥यो, खाने खर्च गर्दा धेरै समस्या छ।’

लुगा सिलाएर दुःख गरेर शिवसताक्षी– ७ धौली चोकमा १० धुर ऐलानी जग्गा जोडे पनि घर बनाउन नसकेको उनी बताउँछन्। उनी भन्छन्, ‘धेरै दुःख गरेर १२ वर्षमा ७० हजार रुपैयाँमा जग्गा किनेँ तर घर बनाउन सकेको छैन।’ सानो घर बनाउन सकेको भए पनि आफ्नै घर हुँदा सजिलो हुने उनी बताउँछन्।

हातको सहाराले घस्रिएर हिँड्ने दर्जी घरायसी सबै काम गर्छन्। भन्छन्, ‘म खाना पकाउनेदेखि सबै काम गर्छु, छोरा सानो छ, यसलाई कसरी अह्राउने?’ उनले कसैले घर बनाउन सहयोग गरे दैनिकी चलाउन केही सहज हुने बताए। उनले भने, ‘कसैले घर बनाउन सहयोग गरे त म मेरो सीपबाटै दैनिकी चलाउन सक्ने थिएँ।’

दुई जना दाइहरू भए पनि आफूलाई नहेरेको उनी गुनासो गर्छन्। ‘दाइ दिदी त हुनुहुन्छ तर कोही नभएको जस्तो हुनुपरेको छ, साह्रै दुख लाग्छ’, उनी भन्छन्। उनले आफूले लुगा सिलाउन ल्याएको मेसिन पनि भाडाको रहेको बताए। उनले भने, ‘मेसिन किन्न पनि १० हजार रुपैयाँभन्दा धेरै लाग्छ, पैसा छैन, त्यसकारण महिनाको साढे दुई सयमा भाडामा ल्याएको छु।’

लुगा सिलाएर कहिलेकाहीँ त खाने पैसा पनि नपुग्ने उनी बताउँछन्। ‘गाउँमा ग्राहक खोज्दै जान सक्दिनँ, म यहाँ बसेको धेरैलाई थाहा छैन, त्यसैले ग्राहक आउँदैनन्’, उनी भन्छन्, ‘अनि मेसिनको भाडा तिर्ने पैसासमेत पुग्दैन।’ काम धेरै आए पनि काम गर्न धेरै गाह्रो हुने उनी बताउँछन्। भन्छन्, ‘एउटा खुट्टाले मेसिन चलाउँदा धेरै गाह्रो छ, मेसिनमा मोटर जोड्न सके त केही सहज हुन्थ्यो, धेरै लुगा सिलाउन सक्थेँ।’

उनका छोरा नजिकैको कञ्चनजंगा आधारभूत विद्यालयको कक्षा तीनमा पढ्छन्। उनको पढाइ खर्च धान्न पनि धेरै मुस्किल परेको उनी बताउँछन्। भन्छन्, ‘छोरालाई नपढाउँ भने पनि अबको जमाना हाम्रो जस्तो छैन, पढाउँ भने पनि धेरै गाह्रो छ, भन्नु मात्र सरकारी स्कुल हो, तर धेरै खर्च हुन्छ।’

ह्विलचियर पाएपछि दंग
उनको शारीरिक अवस्था कमजोर भएर ह्विलचियर किन्न नसकिरहेका बेलामा हङकङमा रहेका रामकाजी गुरुङ र प्रभक्ता गुरुङले ह्विलचियर सहयोग गरेका छन्। उक्त ह्विलचियर मंगलबार एक कार्यक्रमको आयोजना गरी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले उनलाई हस्तान्तरण गरिन्। ह्विलचियर पाएपछि दर्जीले आफूलाई धेरै सहज भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.