|

काठमाडौं : मुलुकको व्यापार घाटा पछिल्लो दिनमा झन् बढ्दै गएको पाइएको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/७४ को ११ महिनाको मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको जनाएको छ। 

११ महिनामा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त बिन्दुमा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १.६ प्रतिशतले बढेको थियो। यस अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । 

केन्द्रीय बैंकका अनुसार भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा केही वृद्धि भएको छ। 

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको तथा अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ। 

समीक्षा अवधिमा कुल वस्तु आयात ३०.९ प्रतिशतले बढेर रु आठ खर्ब ९६ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.९ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा भारतबाट ३९ प्रतिशत, चीनबाट १० प्रतिशत र अन्य मुलुकबाट भएको आयात २३.४ प्रतिशतले बढेको छ। 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस विलेट, सिमेन्ट, हवाईजहाजका पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, ड्राइसेल ब्याट्री, सुपारीलगायतका वस्तुको आयात घटेको छ। आर्थिक वर्ष २०७४ को ११ महिनासम्ममा कुल वस्तु निर्यात १०.४ प्रतिशतले वृद्धि भई रु ६८ अर्ब ६२ करोड पुगेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा २०.१ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा भारततर्फ १२ प्रतिशत, चीनतर्फ ४.३ प्रतिशत र अन्य मुलुकतर्फ ८.७ प्रतिशतले निर्यात बढेको छ। 

वस्तुगत आधारमा जुस, पिना, जुटका समान, हस्तकलाका समान, चाउचाउ, लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलैँचा, अलैंची, तयारी पोशाक, पोलिस्टर धागो, चिया लगायतका वस्तुको निर्यात घटेको केन्द्रीय बैंकले जनाएको छ। 

काठमाडौँमा मूल्यवृद्धि न्युन

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि अन्य क्षेत्रका तुलनामा कम भएको पाइएको छ। केन्द्रीय बैंकले ११ महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा काठमाडौँ उपत्यमा मूल्यवृद्धि कम भएको उल्लेख गरेको हो। 

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा चार, तराईमा ३.१, हिमालमा १.८ र काठमाडौँ उपत्यकामा १.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२, तराईमा ९.५, हिमालमा १०.२ र काठमाडौँ उपत्यकामा १३ प्रतिशत रहेको थियो। 

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत थियो। दलहन तथा गेडागुडीको मूल्यमा १७.५, तरकारीको मूल्यमा १६.३ र घ्यू तथा तेलको मूल्यमा एक प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो। 

समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य ११.५ र मदिराजन्य पेयपदार्थको मूल्य १०.८ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ५.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १०.५ प्रतिशत रहेको थियो। त्यसमा लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार र स्वास्थ्य लगायतका वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको बैंकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.